विचार/ब्लग

अस्पताल बन्द गर्ने डाक्टरलार्इ मेडिकल विद्यार्थीका ५ प्रश्न

प्रज्ञान बस्नेत, एमबिबिएस विद्यार्थी

हालै मन्त्रिपरिषद्ले यदि कुनै चिकित्सकको लापरबाहीले बिरामीको मृत्यू भएमा क्षतिपूर्ती चिकित्सकबाटै भराउने निर्णय गर्यो । यसको कारण देश भरका चिकित्सक आन्दोलित बने। नेपाल चिकित्सक सङ्घले सरकारलाई बहत्तर घन्टे अल्टिमेटम दिँदै सबै स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गर्यो। सरकारले यो बिषयलाइ गम्भीरता पूर्वक लिएन र साँच्चै सम्पूर्ण स्वास्थ संस्था बन्द भए ।

नेपाल जस्तो देश जहाँ लापरबाही भनेर प्रमाणित गर्ने काम कुनै आधिकारिक न्यायिक क्षेत्राधिकार भएको निकायले नभएर भिडले गर्छ, त्यहाँ यस्तो नियमले सधै आफ्नो बिरामीको भलाई सोच्ने राम्रो चिकित्सकलाई नराम्ररी प्रभावित तुल्याउँछ र सुरक्षित रुपमा व्यवासय गर्न पाउने उसको हकको पनि हनन हुन्छ। यदि कसैले लापरवाही गरे उसलाई कस्ने कानुन हुँदाहुँदै यो कानुन आवस्यक नै थिएन । तर यसै सन्दर्भमा चिकित्सकका मागको बारेमा समर्थन भए पनि चिकित्सक सङ्घको अस्पताल बन्द गर्ने निर्णयको चर्को विरोध भइरहेको  । यस क्षेत्रको सानै सही एउटा हिस्सेदार भएको नाताले मलाई आन्दोलनमा सहभागी आफ्ना अग्रजहरुलाई केही प्रस्न सोध्न मन लागेको छ।

१. उक्त निर्णय मन्त्रिपरिषद्को थियो । यो ऐनको रुपमा आएको थिएन । संसदबाट पारित नहुन्जेल विरोध गर्न मिल्थ्यो। पहुँच भएका चिकित्सक यसलाई उल्टाउने सामर्थ्य पनि राख्छन् । दवाव र आन्दोलन आवश्यक थियो। तर सबै अस्पताल बन्द गरेर आफ्नो पेशागत धर्मबाट विमुख हुनु आवश्यक थियो र?

२. केही समय पहिले नेपालको कुनै एक सरकारी अस्पतालका सबै चिकित्सक कुनै औषधि कम्पनीको आयोजनामा विदेश सयर गर्न गएर अस्पतालको सेवा नै प्रभावित भएको खबर आएको थियो। यसले औषधिमा हुने अत्याधिक कमिसनको पर्दाफास गर्छ। यी र यस्ता विषयको विरोधमा आवाज उठाउने र आफ्ना सदस्यलाई कारबाही गर्ने दायित्व सङ्घको होइन?

३. डा. गोविन्द केसी देशकै स्वास्थ क्षेत्र सुधारका लागि अनशनमा बस्दा २४ दिनसम्म पनि इथिक्सको कुरा गरेर चुप् बस्ने र अहिले आफ्नो स्वार्थ मिसिनासाथ यत्रो ठूलो बन्द गर्नुले चिकित्सा पेशाको मर्यादा घटाएन र ?  बन्द त अन्तिम अस्त्र होला नि हैन र ?

. एकातर्फ चिकित्सकको सुरक्षित व्यवसाय गर्ने पाउने हकलाई राखौं र अर्कातर्फ संविधान प्रदत्त समस्त नागरिक (जसमा चिकित्सक पनि पर्छन्)को स्वास्थ्यप्रतिको मौलिक हक। कसको पल्लाभरि हुन्छ?

५. यदि पेशामा भएका अनेकौँ विकृति सुधार गर्न पनि लागिपरेको भए जनसमर्थन प्राप्त हुन्थ्यो होला। तर, सधैँ आफ्नो हितका लागि मात्र बोल्दा त्यो प्राप्त हुन्छ कि हुँदैन ?

अब यसरी अन्यायमैं परिसकेपछि के गर्ने भन्ने अन्यौलता हुन्छ। तर, अन्तिम अस्त्र प्रयोग गर्नुअघि कालोपट्टि बाँधेर काम गर्नेदेखि ज्ञापन पत्र बुझाउनेसम्म दबाबमूलक कार्यक्रम गर्न सकिन्थ्यो होला । अझ धेरै टाढा जान पर्दैन, यही क्षेत्रका अग्रज डा. केसीले गरेको सत्याग्रह पनि त उदाहरण हो। यसो गर्दा परिणाम अहिलेको जस्तो तुरुन्तका तुरुन्तै आउँदैन थियो । तर, कम से कम ब्यापक नागरिक समर्थन प्राप्त हुन्थ्यो र यो पवित्र पेशाको गरिमा अझ बढ्थ्यो। अनि, जुन किसिमका न्यायिक समिति गठन गर्नुपर्छ भनिएको छ। त्यस्तो समिति बनाउन आफैं पहल गरेर यदि कोहि दोषी छ भने उसलाई कारबाही गर्न पनि दवाव दिए कमसेकम डाक्टरलाई कसाईसँग तुलना गरिएकामा म जस्ता नवआगन्तुकको मन पनि कुँडिने थिएन होला।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live