मुख्य समाचार

नर्भिकमा बालिका मृत्यु प्रकरण : भेटिएन लापरबाहीको ठोस आधार

img

डिबी खड्का

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पताल, थापाथलीमा बालिका मृत्यु प्रकरणबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ। केही दिनअघि स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रतिवेदनमा ‘लापरबाहीको ठोस आधार नभेटिएको’ उल्लेख छ।

समितिका संयोजक रहेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठले भने, ‘चिकित्सकको लिखित जफाव, शव परीक्षण प्रतिवेदन, मृतक बालिकाका बुवाको लिखित उजुरी र विशेषज्ञ चिकित्सकको रायलाई मध्य नजर गर्दा अस्पताल र चिकित्सकबाट लापरबाही भएको ठोस आधार देखिएन।’

भदौ १३ गते उपचारका क्रममा १६ महिनाकी बालिका भिक्टोरिया आचार्यको मृत्यु भएको थियो। चिकित्सकीय लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेर छानबिनको माग गरेका थिए। त्यसपछि मन्त्रिस्तरीय निर्णयबाट भदौ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्रेष्ठको संयोजकत्वमा छानिबिन समिति गठन गरिएको थियो।

आफन्तले बालिकालाई आवश्यकता भन्दा बढी डोज औषधि दिएको र गलत उपचार प्रक्रिया अपनाइएको उजुरी समितिलाई गरेका थिए। समितिले बुझाएको प्रतिवेदनमा बालिका कडा निमोनियाबाट ग्रसित भएको र उनको मृत्यु ‘स्ट्रेप्टोकोकस पायोजेन्स सेप्सिस विथ रेस्पिरेटरी फेलर’का कारणले भएको उल्लेख छ। विज्ञहरुले मृतक बालिकालाई औषधिको बढी डोज दिएको नदेखिएको, उपचार प्रकिया पनि सही रहेको राय दिएका छन्।

समितिमा प्राडा ढुण्डिराज पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कानून अधिकृत पारसमणि पोखरेल, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डे, विज्ञ चिकित्सकका रुपमा कान्ति बाल अस्पतालका डा रामहरि चापागाइँ र शिक्षण अस्पताल, महाराजगञ्जका डा लक्ष्मण श्रेष्ठ सदस्य थिए। आमन्त्रित विज्ञ चिकित्सकका रुपमा शिक्षण अस्पतालकै डा अरुण शर्मा थिए भने सदस्य सचिव स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत घनश्याम पोखरेल थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live