प्रवास

‘चिकित्सकीय पेशाका लागि उपयुक्त ठाउँ माल्दिभ्स’

img

डिबी खड्का


माल्दिभ्स– सुरक्षित काम र राम्रो आर्थिक उन्नतिका लागि माल्दिभ्स धेरै नेपालीका लागि आकर्षक गन्तव्य बनेको छ। चिकित्सकीय पेसाका लागि माल्दिभ्स उपयुक्त ठाउँ रहेको यहाँ कार्यरत डाक्टरहरू बताउँछन् । यहाँका प्रायः ठूला अस्पतालमा एक न एक नेपाली डाक्टर भेटिन्छन् भने रिसोर्टहरुमा समेत नेपाली डाक्टर कार्यरत छन्। 

निजी स्तरबाट सञ्चालित माल्दिभ्सकै सबैभन्दा ठूलो एडिके इन्टरनेसनल अस्पतालमा कार्यरत ईश्वर शर्मा डाक्टरलाई काम गर्ने वातावरण नेपालमा भन्दा सहज भएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ मान्छेमा डाक्टरप्रति सकारात्मक भावना छ । डाक्टरले सकेको कोसिस गर्ने हो भन्ने बुझेका छन्।’

उक्त अस्पतालको मेडिसिन विभाग प्रमुख भइसकेका उनी माल्दिभ्समा नेपाली डाक्टरहरूले आफ्नो प्रभाव छाडेको बताउँछन् । ‘हामीभन्दा अगाडि आउने नेपालका डाक्टरहरूले पनि यहाँका स्थानीयको विश्वास जित्नुभएको रहेछ,’ उनले सुनाए, ‘यसकारण अस्पताल सञ्चालक, रिसोर्ट सञ्चालक र सरकारले नेपाली डाक्टरलाई राम्रो सेवासुविधा दिएका छन् ।’ यही कारण माल्दिभ्समा नेपाली डाक्टरको संख्या बढ्दै गइरहेको छ । शर्माका अनुसार माल्दिभ्सको राजधानी मालेमा रहेका अस्पतालमा मात्रै २५ जनाको हाराहारीमा नेपाली डाक्टर कार्यरत छन् । अन्य टापुका अस्पताल र रिसोर्टमा पनि नेपाली डाक्टर रहेको उनले बताए।

चिकित्सा र नर्सिङ शिक्षा अध्ययन–अध्यापन गराउने एउटा पनि आफ्नै शिक्षण संस्था नभएको माल्दिभ्समा ६० प्रतिशत सेवा बाहिरका चिकित्सकले दिइरहेको तथ्यांक छ । बाँकी ४० प्रतिशत हिस्सा विदेशमा पढेका माल्देभियन डाक्टरहरूले ओगटेका छन्।

स्वास्थ्य सेवा भर्खरै तंग्रिदै गरेको यो देशका धेरै बिरामी यसअघि स्वास्थ्य सेवाका लागि दक्षिण भारत, थाइल्यान्ड र श्रीलंका जाने गर्थे । पछिल्लो समय भने स्थानीय तहमै चिकित्सा सेवा विस्तार भइरहेको छ । सरकारले इन्दिरा गान्धी मेमोरियल अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्ने काम तीव्र पारेको छ। 

माल्दिभ्समा सबै नागरिकको स्वास्थ्य बीमा अनिवार्य छ । त्यसैले स्वास्थ्य सेवामा सबैको पहुँच रहेको बताउँदै शर्मा भन्छन्, ‘यहाँका नागरिकलाई अस्पताल पुगेर कसरी आर्थिक जोहो गर्ने भन्ने पीर हुँदैन । सबै खर्च बीमाले कभर गर्छ ।’ देशभित्र मात्रै होइन, भारत, थाइल्यान्ड, श्रीलंका लगायतका देशमा उपचार गराउँदा पनि सोही बीमाले काम गर्ने गरेको डा शर्मा बताउँछन्।

माल्दिभ्समा बिरामी सम्बन्धी सम्पूर्ण जानकारी इलेक्ट्रोनिक मेडिकल सिस्टम अन्तर्गत राखिन्छन् भने डाक्टरले प्रेस्किप्सन पनि हातले लेख्न पाउँदैनन् । कम्प्युटर टाइपिङ हुनुपर्छ।

स्वास्थ्य सेवाको गुणस्तर र सुरक्षामा सरकार एवं अस्पताल दुवै गम्भीर छन् । त्यसैले अस्पतालमा डाक्टर, नर्स आदिले गर्ने त्रुटिको तुरुन्तै प्रशासनमा रिपोर्ट पुग्ने आन्तरिक प्रणाली छ । डा शर्मा भन्छन्, ‘कसले को विरुद्ध रिपोर्टिङ गर्‍यो थाहा हुँदैन, तर किन समस्या आयो भनेर निकै सोधखोज हुन्छ । भविष्यमा त्यसो हुन नदिन के गर्ने भनेर योजना बनाउने गरिएको छ।’ 

डाक्टरले दिनमा ८ घन्टा मात्रै काम गर्न पाउने व्यवस्था छ । त्योभन्दा बढी काम गर्दा उसले दिने सेवाको गुणस्तर कमजोर हुने बुझाइ छ । यसकारण एउटा अस्पतालमा काम गर्ने डाक्टर अन्यत्र काम गर्न पाउँदैनन्। 

अस्पताल प्रशासनले बिरामीले पाउने सेवालाई प्राथमिकतामा राखेका छन् । आकस्मिक रूपमा बोलाउनुपर्ने डाक्टरलाई सकेसम्म अस्पताल नजिकै राख्ने गरिएको हुन्छ ।

डाक्टरहरूलाई बस्ने, खाने खर्च अस्पतालले नै बेहोरेर पारिश्रमिक दिने गरेको डा शर्माले जनाए । यसबाहेक वर्षमा ३० दिने पारिश्रमिक सहितको बिदा पाइन्छ भने परिवारका लागि थप १० दिन बिदा लिन पाइन्छ। 

माल्दिभियनहरू आफ्नो संस्कृति र केही देखासिकी जीवनशैलीका कारण विभिन्न रोगबाट ग्रसित बन्दैछन् । विशेषगरी बालबालिकामा कुपोषणको समस्या मुखर भएका आएको छ । जंकफुडको प्रभावले यस्तो भएको हुन सक्ने यहाँका चिकित्सकहरू अनुमान गर्छन् । डा शर्मा भन्छन्, ‘अधिकांशले घरमा खाना पकाउँदैनन् । बाहिर पनि जंकफुड नै खान रुचाउँछन् ।’

खानपानकै कारण निम्तिने डायबिटिज, थाइराइड र मुटुको समस्या पनि माल्देभियनमा बढ्दो छ । ठूलो संख्याका बिरामी भने किड्नीको पत्थरी भएर अस्पताल आइरहेका हुन्छन् । पानी कम पिउने बानीले यस्तो भएको डा शर्माको बुझाइ छ।

बाग्लुङ स्थायी घर भएका डा शर्मा विगत डेढ वर्षदेखि माल्दिभ्समा छन् । सपरिवार यतै रहेका उनी डाक्टरप्रति स्थानीय र सरकारले गर्ने व्यवहारबाट प्रफुल्ल छन् । युरोपियन देशहरूमा पाइने बराबरकै सेवासुविधाले पनि उनलाई माल्दिभ्समा काम गर्ने ऊर्जा थपेको छ। 

क्षमता विकास गर्ने वातावरणको भने माल्दिभ्समा अभाव छ । स्वास्थ्य सम्बन्धी सेमिनार, तालिम, गोष्ठी लगायतका गतिविधि माल्दिभ्समा कमै हुन्छन् । त्यसैले एक समयपछि सेवासुविधा चित्त बुझ्दो हुँदाहुँदै पनि क्षमता विकास गर्नकै लागि डाक्टरहरू माल्दिभ्सबाट अन्य देश जाने गरेको उनले अनुभव गरेका छन्। 

बंगलादेशबाट सन् २००४ मा एमबिबिएस र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट २०१४ मा इन्टरनल मेडिसिनमा एमडी गरेका डा शर्मा पनि नेपालमा हुने सीप विकासका कार्यक्रम ‘मिस’ भइरहेको ठान्छन्। 

लामो समय काठमाडौंको हेल्पिङ ह्यान्ड अस्पतालमा काम गरेको अनुभवबाट डा शर्माले माल्दिभ्सबासीको मन भने जितिरहेका छन् । त्यसैले उनले छोटो समयमै विभागको नेतृत्व गर्ने अवसर पाएका हुन्।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live