जीवनशैली

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले गर्नुपर्ने खानपान 

डा सुभाष पण्डित/डा सीमित सापकोटा

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ । बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ । भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने, गन्ध आउने लगायत हुन्छ । 
यी समस्या आउन नदिन बिरामीले विशेष रुपमा बनाइएको खाना विशेष तरिकाले खानुपर्ने हुन्छ । ताजा तथा पौष्टिक खानेकुरामा जोड दिनुपर्छ । बिरामीले निम्न कुरा पालना गर्नु आवश्यक हुन्छः 

–    सामान्यतया दिनको तीन पटक मुख्य भोजन गर्ने हाम्रो चलन छ । तर, किमोथेरापी र रेडियोथेरापी गरेका बिरामीले यसो नगरी दैनिक ७/८ पटक थोरै–थोरै भोजन गर्ने ।

–    खाना चपाउन र निल्न गाह्रो भएमा खानालाई बढी समय पकाएर नरम बनाएर खाने ।

–    खाना बनाउने तरकारी, दाल जस्ता सामग्री तथा फलफूल ताजा र स्वच्छ हुनुपर्छ ।

–    खाना पकाउँदा प्रयोग गरिने भाँडाहरु राम्ररी धुने ।

–    दैनिक दुईदेखि तीन लिटर तरल पदार्थ सेवन गर्नुपर्छ । पानी, मिल्कसेक, नरिवल  पानी लगायत बढी मात्रामा सेवन गर्ने ।

–    सधैं उमालेको र स्वच्छ पानी मात्र पिउने ।

–    पोषणयुक्त पाउडर सधैं खाली पेटमा खान जोड दिने । रुटिन नै बनाएर बिहान ७ बजे, ११ बजे र साँझ ५ बजे खाने ।

–    पिरो र धेरै मसलादार खानेकुरा नखाने ।

–    घर बाहिर (होटल, क्यान्टिन, स्ट्रिट फुड) बनाएका खानेकुरा नखाने ।

–    अचार, पापड, अमिलो दहीका साथै लेज, कुरकुरे, वेफर जस्ता प्याकेटमा बन्द भएका स्न्याक्स नखाने ।

–    कृत्रिम रङ, गन्ध र स्वाद प्रयोग गरिएका खानेकुरा नखाने ।

–    सलाद, पातलो बोक्रा भएका फलहरु केरा, मौसम, सुन्तला, अनार, खरबुजा आदि खाँदा हुन्छ ।

–    मुखमा बिमिरा आएमा एक सय ग्राम बन्दाकोभी उसिन्ने र त्यसलाई पिसेर जुस बनाई आवश्यक मात्रामा नुन हालेर पिउने । दिनभरिमा ३–३ घण्टाको अन्तरालमा ३/४ पटक पिउने । तपाईं चाहनुहुन्छ भने ४ सय ग्राम बन्दाकोभीको जुस बनाई फ्रिजमा राखेर समय–समयमा पिउन सक्नुहुन्छ ।

–    बिरामीका साथै परिवारका अन्य सदस्यले सरसफाइमा विशेष ध्यान दिने र आफ्नो वरिपरिको स्वच्छतामा पनि ध्यान दिने ।

–    बिरामीसँग भेट्न आउने आफन्तहरुलाई निश्चित दूरीमा राख्ने ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live