फिचर

लुटेरा अस्पताल भाग – १ : बी एन्ड बीको ब्रह्मलुट

आर्थिक हैसियत कमजोर भएको नेपालीले आफूलाई सबैभन्दा निरीह महसुस गर्ने ठाउँ सम्भवतः अस्पताल हो । रोग लागेपछि निको हुने आसमा मान्छे अस्पताल पुग्छ । तर, बिरामीका आसा र भरोसा तोडिइन्छन् । उनीहरूको अज्ञानको शोषण हुन पुग्छ । कतिपय अस्पतालले त चिकित्साजस्तो मानवीय पेशाको धर्म नै बिर्सेर बिरामी लुटिरहेका छन् ।

स्वास्थ्यका विषयमा सचेत नेपालीको संख्या असाध्यै थोरै छ । औषधि, अस्पताल र डाक्टरको गुणस्तर छुट्याउन सक्ने बिरामी वा उसका आफन्त निकै कम छन् । उपचारका क्रममा आफू कसरी ठगिइरहेको छु भन्ने उनीहरू पत्तो पाउँदैनन् । सेवाग्राहीको यही निरीहताको फाइदा उठाइरहेका छन्, निजी अस्पतालहरू ।

सुलभ औषधि  हुँदाहुँदै महँगा औषधि भिडाइरहेका हुन्छन् । समस्या  बल्झाएर अस्पतालमै अल्झाइरहेका हुन्छन् । चाहिनेभन्दा बढी ल्याब परीक्षण गरेको देखाएर पैसा असुलिरहेका हुन्छन् । डाक्टरहरू, जसको भरोसामा बिरामीले आफूलाई सुम्पिन्छ, समेत चिकित्सकीय धर्मलाई पन्छाएर अस्पतालको आम्दानी बढाउन सघाइरहेका छन् ।

 

बी एन्ड बीको ब्रह्मलुट

 

पीडित नं १ः अर्जुन भण्डारी

२०७२ असार ३ गते कास्कीको चाउथे उप–महानगरपालिका–१४ मा स्कुटी दुर्घटनामा परेपछि १९ वर्षका अर्जुन भण्डारी आफैँ ट्याक्सी चढेर फिस्टेल अस्पताल पुगे । खुट्टामा मात्रै चोट लागेको उनी सम्झन्छन्, ‘बाहिर सानो घाउ समेत लागेन । एक थोपा रगत आएन । तर, एक्सरे गर्दा हड्डी भाँचिएको देखियो । त्यसको अपरेसन फिस्टेलमै भयो । त्यहाँ अपरेसन गर्ने डाक्टरले नसा सुचारु गर्न नसकेपछि बी एन्ड बीमा रिफर गरिदिए । त्यतिन्जेल पनि अर्जुनलाई आफू ठूलो चोटले ग्रस्त छु भन्ने लागेको रहेनछ । ‘सामान्य यात्रुजस्तै म पनि प्लेनमा काठमाडौँ आएँ,’ उनले भने ।

बी एन्ड बी भर्ना भएपछि डाक्टरले उनको घुँडामुनिको भाग काट्नुपर्ने बताए । अर्जुनका बुवा शिवराम भन्छन्, ‘छोराको ज्यान जोगिन्छ भने खुट्टा जाओस् भनेर घुँडामुनि काट्न अनुमति दिइयो । तर, थाहै नदिई घुँडाभन्दा माथि काटिदिएछन् ।’

झण्डै दुई महिना उक्त अस्पतालमा रहे अर्जुन । अस्पतालले आफैँले काटेको खुट्टाको घाउ निको पार्न सकेन । खुट्टा काटेपछि उनी झन्–झन् सिकिस्त हुँदै गए । अर्जुन आफैँे माइक्रोबायोलजीका विद्यार्थी हुन् । पटक–पटक उपचार क्रममा बनाइएको आफ्नो फाइल हेर्न खोजेको तर अस्पतालले नदिएको उनी बताउँछन् । ‘एक दिन डाक्टर र नर्स अल्मलिएको समयमा फाइल हेरेँ,’ उनले भने, ‘उपचार सही ढंगले भएजस्तो लागेन । त्यसपछि अर्काे अस्पतालमा लैजान आमासँग कर गरेको हुँ ।’ उनको घाउ निको हुनुको सट्टा बल्झिँदै गयो । उनलाई डाक्टरहरूले ‘हिपसम्म काट्नुपर्छ’ भनिएको अर्जुनले सम्झिए ।

त्यसपछि उनले डिस्चार्ज मागे । डिस्चार्ज गर्ने तयारी हुँदै गर्दा पनि आफूलाई फेरि अपरेसन थिएटरमा लगिएको उनी बताउँछन् । ‘डिस्चार्ज गर्ने कुरा हुँदै थियो, मलाई जबर्जस्ती अपरेसन थिएटरमा लगियो,’ उनले भने, ‘डाक्टरहरू ‘हिपदेखि फालौँ, ठीक हुन्छ’ भन्दै थिए । तर, मैले ड्रेसिङ गरेर डिस्चार्ज गर्न जिद्दी गरेँ ।’ त्यहाँका डाक्टरले अन्य अस्पतालमा रिफर गर्न तयार नभएपछि आफूले अस्पतालमै रोइकराइ गरेर डिस्चार्ज मागेको उनकी आमा कौशल्या भण्डारी बताउँछिन् ।

जबर्जस्ती अर्काे अस्पताल गएपछि उनको घाउको संक्रमण मात्रै ठीक भएन, हिपदेखि काट्नुपर्छ भनिएको खुट्टा पनि थप काट्नुपरेन । अर्काे अस्पताल पुगेको तीन हप्तामै आफू तंग्रिसकेको अर्जुनले बताए । अहिले काटिएको खुट्टामा कृत्रिम खुट्टा जडान गरेर उनी नियमित दैनिकीमा फर्किसकेका छन् ।

गुणनारायण, अर्जुनजस्तै भाग्यमानी ठहरिए, पाल्पाका सत्यराज जोशी । उनले पनि अस्पताल परिवर्तन गरेर ज्यान जोगाए । तर, उचित परामर्श नपाएर वा समयमै विकल्प नखोजेर दुःख पाउनेहरू बी एन्ड बी अस्पतालमा धेरै भएको पीडितमध्येका एक अर्जुनले बताए ।

पीडित नं २ःगुणनारायण श्रेष्ठ

धादिङका गुणनारायण श्रेष्ठ २०७१ माघ २९ गते मोटरसाइकलमा काठमाडौँबाट धादिङबेसी जाँदै थिए । राति ८ः३० बजे धादिङस्थित खहरेमा गाडीले उनलाई ठक्कर दियो । उनको हात र खुट्टामा चोट लाग्यो । खुट्टाको हड्डी भाँचिएको महसुस गरेपछि उनले उद्धारकर्तालाई अनुरोध गरे, ‘मलाई बी एन्ड बी अस्पताल पु¥याइदिनुस् ।’

उनका अनुसार एम्बुलेन्सले कलंकीमा रहेको एउटा अस्पतालको नाम लियो तर उनले मान्दै मानेनन् । र, उनलाई बी एन्ड बी पु¥याइयो । भन्छन्, ‘अर्थाेको राम्रो अस्पताल भन्ने सुनेकाले त्यहाँ पु¥याउन भनेको थिएँ ।’ धेरैमा उक्त अस्पतालप्रति आजका दिनसम्म उनको जस्तै विश्वास छ । तर, श्रेष्ठको त्यो विश्वास भने बी एन्ड बीले अहिले टुटाइसकेको छ ।

गुणनारायण लगातार ५८ दिन उक्त अस्पताल बसे । त्यसपछि दुईपल्टसम्म भर्ना हुने र डिस्चार्ज हुने क्रम चल्यो । यसरी झन्डै आठ महिना गुजार्दा उपचारको बिल बढ्दै गयो तर उनको खुट्टाको घाउ बिसेक भएन । त्यसपछि उनले साथीभाइको सल्लाहमा भदौ १४ गते उपचार गराइरहेको बी एन्ड बीलाई थाहै नदिई अस्पताल परिवर्तन गरे । त्यो निर्णय सही साबित भयो । अहिले उनी निको भएर सामान्य जिन्दगी बिताइरहेका छन् ।

सुरुमै कडा एन्टिबायोटिक

बी एन्ड बीमा उपचार गराएका चारजना बिरामी अर्जुन भण्डारी, गुणनारायण श्रेष्ठ, सत्यराज जोशी र पुड्की उराउलाई अस्पतालले गरेको उपचारमाथि केही चिकित्सकको सहयोगमा स्वास्थ्य खबरपत्रिकाले अध्ययन गरेको थियो । यी चारै केसमा एउटै समानता भेटिएको छ– सुरुमै कोलिस्टिन र सिलानेम नामक कडा एन्डिबायोटिकको प्रयोग ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. गीता शाक्यका अनुसार एन्टिबायोटिकको ग्रुप बनाइएको छ । जसलाई प्राविधिक भाषामा फस्र्ट, सेकेन्ड र थर्ड लाइन भनेर चिनिन्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार सुरुमा फस्र्ट लाइनकै एन्टिबायोटिकबाट उपचार सुरु गर्नुपर्छ र त्यसले काम गरेन भने मात्रै रिजभ्र्ड (सेकेन्ड र थर्ड लाइन) भनिने कडा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
रिजभ्र्ड एन्टिबायोटिक पनि ‘रेजिस्टेन्स’ अर्थात् प्रभावहीन भयो भने बिरामीलाई संक्रमणबाट जोगाउन मुस्किल पर्छ । फस्र्ट लाइन भनिएका एन्टिबायोटिकभन्दा रिजभ्र्ड एन्टिबायोटिक निकै महँगो हुन्छ । यसको साइड इफेक्ट (प्रतिप्रभाव) पनि ज्यादा हुन्छ । हत्तपत्त रिजभ्र्ड एन्टिबायोटिकलाई प्रयोग गर्न नहुने  चिकित्सा विज्ञानको नियमलाई चिकित्सक र अस्पतालले पालना गरेको देखिँदैन ।

बी एन्ड बीले बिरामीमा फस्र्ट लाइनका एन्टिबायोटिक प्रभावकारी रहे/नरहेको समेत परीक्षण गरेर हेरेको छ । सिप्रोफ्लोक्सासिन र एमिकासिन प्रयोग गरेर हेर्दा ‘सेन्सेटिभ’ अर्थात् प्रभावकारी रहेको अस्पतालकै ल्याब रिपोर्टले देखाएको छ । एक बिरामी अर्जुन भण्डारीमा यस्तो देखिन्छ । तर, उनलाई उपचार गर्ने चिकित्सकले फस्र्ट लाइनका एन्टिबायोटिकको असर हेरेर चरणबद्ध रूपमा रिज्र्भड  एन्टिबायोटिक चलाउनुपर्ने चिकित्सा विज्ञानको नियम पालना गर्नु जरुरी ठानेनन् ।

पीडितमध्येका एक अर्जुन त सुरुदेखि नै कडा एन्टिबायोटिक चलाइएको देखेर आफू चकित परेको बताउँछन् । जुन दिन उनले यस्तोे देखे, त्यही दिनदेखि उक्त अस्पतालमा थप नबस्ने निर्णय गरेको बताउँछन् । ‘यस विषयमा पनि डाक्टरसँग प्रश्न गरेको थिएँ,’ उनी भन्छन्, ‘मेरो प्रश्नको उत्तर दिएनन् । उल्टै बिरामीलाई कसले फाइल हेर्न दियो भनेर जंगिए ।’

एलाइन्स फर द प्रुडेन्ट युज अफ एटिन्बायोटिक (अपुवा), नेपाल च्याप्टरका अध्यक्ष प्रा. डा. कुमुदकुमार काफ्ले सुरुमै कडा एन्बिायोटिक चलाउन नहुने धारणा राख्छन् । भन्छन्, ‘सामान्यतया सुरुमा फस्र्ट लाइन भनेर छुट्याइएका एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ ।’

बिरामीलाई दिइएका एन्टिबायोटिकको मूल्य निकै महँगो छ । प्रति भाइल २४ सय ७१ रुपैयाँ पर्ने कोलिस्टिन र ११ सय ६० रुपैयाँ पर्ने सिलानेम बिरामीहरूलाई दिइएको अस्पतालको बिलमा उल्लेख छ । दिनमा चार भाइलसम्म एउटा एन्टिबायोटिक दिने गरिएको छ । अस्पतालको बिल हेर्दा एक दिनमा एउटा बिरामीले १५ हजार रुपैयाँको एन्टिबायोटिक मात्रै उपभोग गरेको भेटिन्छ ।

झन्डै दुई महिना अस्पताल बस्दा एक बिरामीको औषधिको बिल मात्रै १० लाख रुपैयाँभन्दा बढी उठेको भेटिएको छ । अस्पतालको सेवा शुल्क समेत जोड्ने हो भने खर्चको ग्राफ अझै बढ्छ ।  तर, यत्रो औषधिको प्रयोग गर्दा पनि बिरामीहरूको संक्रमण नियन्त्रणमा ल्याउन अस्पताल समक्ष भएन ।

रेसिस्टेन्सपछि पनि निरन्तर प्रयोग

उपचारका क्रममा औषधिले काम गरिरहेको छ वा छैन भनेर ल्याबमा ‘कल्चर’ गरेर हेरिन्छ । प्याथोलोजिस्टले औषधिले काम गरिरहेको भए रिपोर्टमा सेन्सेटिभ ‘एस’ र काम नगरेको भए रेसिस्टेन्ट अर्थात ‘आर’ अंकित गर्छन् । विशेषज्ञका अनुसार ‘आर’ अंकित हुनु भनेको औषधिले काम नगरेको अवस्था हो । ल्याब परीक्षणमा औषधि रेसिस्टेन्ट हुनु भनेको ब्याक्टेरियाले औषधिको असर पचाइसक्नु हो ।

त्यसो भए रेसिस्टेन्सपछि पनि एन्टिबायोटिक निरन्तर चलाउन जरुरी थियो त ? ‘रेसिस्टेन्ट देखिएपछि एन्टिबायोटिक निरन्तर चलाइरहनुको औचित्य हुँदैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. गीता शाक्य भन्छिन्, ‘रेसिस्टेन्सपछि न्यूनतम ४८ देखि ७२ घण्टासम्म एन्टिबायोटिक रोक्नुपर्छ ।’

बिरामीमा चलाइएका दुइटा औषधि (कोलिस्टिन र सिलानेम) पटक–पटक रेसिस्टेन्स भएको बी एन्ड बी अस्पतालकै ल्याब रिपोर्टले देखाएको छ । बिरामीको पिप (वुन्ड कल्चर) लगायत अन्य स्पेसिमेन कल्चर (क्याथेटरटिप कल्चर÷ब्लड कल्चर)मा रेसिस्टेन्स देखिएको छ । ल्याब परीक्षणअनुसार अर्जुन भण्डारीमा मात्रै पाँच पटक इमिपेनम (सिलानेम) र चार पटक कोलिस्टिन नामक एन्टिबायोटिक रेजिस्टेन्स देखिएको छ । तर, एन्टिबायोटिकको प्रयोग भने जारी राखिएको छ । लामो समय उपचार गर्दा समेत संक्रमण नियन्त्रण नभएकै कारण चारैजनाले बी एन्ड बीको विकल्प खोजेका हुन् ।

सोही अस्पतालका अन्य बिरामीमा भने रेसिस्टेन्स आएपछि केही समय रोकेर फेरि औषधि प्रयोग निरन्तर गरिएको छ । यी बिरामीमा केही समय एन्टिबायोटिक रोकेर फेरि ल्याब परीक्षण गर्दा रिपोर्टमा सेन्सेटिभ (प्रभावकारी) देखाइएको छ । तर,  बिरामीका लागि भने प्रभावकारी भएको देखिँदैन ।

एउटै बिरामीलाई १० लाखको औषधि

चिकित्साविज्ञानअनुसार हरेक औषधिको साइड इफेक्ट हुन्छ । एकै बिरामीमा ३७ दिनदेखि ५८ दिनसम्म कडा एन्टिबायोटिक दिइएको छ । दुई महिना लगातार अस्पताल रहेका एकजना बिरामीमाथि १० लाख रुपैयाँसम्मको औषधि चलाइएको छ । यसले उनीहरूमा औषधिको साइड इफेक्ट कति भयो होला ?

धेरै साइड इफेक्ट भएका कोलिस्टिनजस्ता एटिन्बायोटिक लामो समय चलाइँदा किड्नी फेल हुने वा नसामा समस्या देखिने जोखिम बढी हुने एक चिकित्सक बताउँछन् । तर, लामो समय एन्टिबायोटिक प्रयोग गरिएका बिरामीहरूमा यस्तो समस्या देखिएको छैन । अर्जुन र गुणनारायण त सामान्य जीवनमा फर्किसकेका छन् । यो जानकारीपछि ती चिकित्सक आश्चर्यचकित भए । ‘बिरामीका नाममा बिलमात्रै बनेर औषधि प्रयोग नभएको पनि हुनसक्छ,’ उनले प्रश्न गरे, ‘यति धेरै औषधि प्रयोग हुँदा पनि केही नहुने भन्ने हुन्छ ?’

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईं अर्काको नाफाका लागि बिरामीले औषधि खाइदिनुपर्ने अवस्था आएको बताउँछन् । स्वास्थ्य क्षेत्रमा विकृति बढेको औँल्याउँदै उनी भन्छन्, ‘डाक्टर र स्वास्थ्यकर्मीलाई प्रलोभनमा पारेर चाहिनेभन्दा बढी औषधि लेखाउने गरेको देखिन्छ ।’

रेसिस्टेन्ट अर्थात् प्रभावहीन देखिएपछि औषधि चलाउँदा बिरामीलाई दोहोरो मर्का पर्छ । एक, बिरामीले औषधिको साइड इफेक्ट झेल्नुपर्छ भने अर्काेतर्फ निरन्तर खर्च बढिरहेको हुन्छ ।

किन खोजिएन विकल्प ?

 

आफ्नो प्रयास र क्षमताले बिरामीको समस्या समाधान नभए ‘सेकेन्ड ओपिनियन’ अर्थात् उपचारका लागि थप विकल्प खोज्ने विश्वव्यापी चिकित्सकीय मान्यता छ । तर, उपचारमा संलग्न डाक्टरहरूले त्यसलाई आत्मसात् गरेका छैनन् ।

‘अपरेसन गरेको घाउमा भएको संक्रमण लामो समयसम्म नियन्त्रणमा ल्याउन सकिएको छैन । यस्तो अवस्थामा चिकित्सकको सम्पूर्ण ध्यान संक्रमण नियन्त्रणमा केन्द्रित हुनुपर्छ,’ एक चिकित्सक भन्छन्, ‘यस्ता प्रकृतिका केसमा निश्चित समय औषधि (एन्टिबायोटिक) को प्रयोग गरिसक्दा निको नभएपछि इन्फेक्सन हुन सक्ने अन्य संभावित कारणहरू खोजी गर्नुपर्छ ।’

यी केसमा लामो समय अस्पतालमै भर्ना गरेर उपचार भइरहेको बिरामी निको नहुनुको कारण खोजिएको छैन । आफ्नो प्रयासले बिरामी निको नभए वा गर्न नसकिए अरूको सहायता लिने वा रिफर गर्ने आधारभूत मेडिकल पद्धतिको समेत पालना भएको छैन । बरु उक्त अस्पतालमा आफू निको हुने छाँटकाँट नदेखेपछि बिरामी भागेको देखिन्छ । कति जबर्जस्ती अर्काे अस्पतालमा पुगेका छन् भने कतिले फलोअपकै क्रममा अर्काे अस्पताल रोजेका छन् । जुन कदम बिरामीका लागि सही साबित पनि भएको छ । पोखराका अर्जुन भण्डारीले फोस्र्ड रिफर लिएका थिए भने धादिङका गुणनारायण श्रेष्ठ फलोअपकै क्रममा अर्को अस्पताल गएका थिए । पाल्पाका सत्यराजले पनि बी एन्ड बीले निको पार्न नसक्ने देखेपछि अर्काे विकल्प रोजे ।

आफूले निको पार्न नसक्ने खालका केस अन्यत्र रिफर गर्ने चलन चिकित्सा क्षेत्रमा छ । यदि यो अवधारणा प्रयोग गरिएको भए वा संक्रमणका संभावित कारण खोजिएको भए बिरामीले लामो समय दुःख पाउने थिएनन् । जुन कुरा अन्य अस्पताल पुगेर उपचार गराएपछि प्रमाणित भइसकेको छ ।

आफूले निको पार्न नसक्ने खालका केस अन्यत्र रिफर गर्ने चलन चिकित्सा क्षेत्रमा छ । यदि यो अवधारणा प्रयोग गरिएको भए वा संक्रमणका संभावित कारण खोजिएको भए बिरामीले लामो समय दुःख पाउने थिएनन् । जुन कुरा अन्य अस्पताल पुगेर उपचार गराएपछि प्रमाणित भइसकेको छ । अहिले स्वास्थ्य लाभ गरिरहेका सत्यराज र अर्जुनले संक्रमण नियन्त्रणका लागि अस्पतालले थप खुट्टा काट्नुपर्ने बताएपछि आफैँले विकल्प खोजेका हुन् । उनीहरूले अर्काे अस्पतालमा पुगेपछि बी एन्ड बीमा भनिएजस्तो खुट्टाको थप भाग गुमाउनु परेन ।

गुणनारायण श्रेष्ठकै अनुभव हेर्दा अर्काे अस्पतालमा उपचार सुरु गरेको केही दिनमै आठ महिनादेखि बल्झिएको संक्रमणको कारण पत्ता लाग्यो । उनको घाउमा इन्फेक्सन बल्झिनुको कारण हड्डीको क्षयरोग रहेछ । झन्डै आठ महिना उनको उपचार गर्ने बी एन्ड बीका डाक्टरले संक्रमणका संभावित कारण  खोज्न जरुरी ठानेनन् ।

गुमराहमा बिरामी र आफन्त

बिरामीलाई भएको समस्या र गरिने उपचारबारे बुझ्ने भाषामा जानकारी पाउनु उपभोक्ता अधिकार हो । आफूलाई डाक्टरले गुमराहमा राखेको बिरामी र आफन्तको आरोप छ । अर्जुनका बुवा शिवराम भन्छन्, ‘भर्ना भएपछि डाक्टरले घुँडामुनिको भाग काट्नुपर्ने बताए । छोराको ज्यान जोगिन्छ भने खुट्टा जाओस् भनेर घुँडामुनि काट्न अनुमति दिइयो । डाक्टरी पढेका आफन्तले घुँडाभन्दा माथि काटिएको भनेपछि म छांगाबाट खसेजस्तै भएँ ।’ घुँडाभन्दा माथि काट्न आफूहरूले अनुमति नदिएको उनी बताउँछन् । अर्जुनकी आमा कौशल्या थप्छिन्, ‘हामीले जति काट्न आवश्यक ठान्न्यौँ, त्यति काट्यौँ भनेर डाक्टरले ओठेजवाफ फर्काए ।’ अर्थाेपेडिक्स डा. बाबुकाजी श्रेष्ठ नेतृत्वको समूह अर्जुनको उपचारमा संलग्न थियो ।

बिरामीको प्रगति वा सम्भाव्य खतराको बारेमा आफन्त वा उपचारमा संलग्नलाई जानकारी गराउनु चिकित्सा सेवाको न्यूनतम धर्म हो । जटिल हुनसक्ने प्रकृतिका केसमा डाक्टरको टिमले प्रत्येक उपचार प्रक्रिया, त्यसको संभावित परिणाम, जोखिम साथै जटिलताका बारेमा बिरामीको परिवारजन वा उपचारमा संलग्नलाई नियमित रूपमा जानकारी गराउनुपर्छ । जसले गर्दा बिरामीलाई सही निर्णय लिन र विकल्प खोज्न सहज हुन्छ ।

उपचार पद्धति र अस्पतालको नियतमाथि प्रश्न उठ्ने यस्ता घटनामा सम्बन्धित चिकित्सक एवं व्यवस्थापक प्रतिक्रिया दिन चाहँदैनन् । यो रिपोर्टिङको क्रममा सम्पर्क गर्न खोज्दा बी एन्ड बी अस्पतालका कोही पनि जिम्मेवार पदाधिकारी सम्पर्कमा आउन चाहेनन् । अस्पतालका म्यानेजर विनय गिरीमार्फत सञ्चालक डा. अशोक बाँस्कोटालाई भेट्ने स्वास्थ्य खबरपत्रिकाको पटक–पटकको प्रयास समेत सफल भएन । अन्त्यमा डा बाँस्कोटाको मोबाइल नम्बर आफूसँग समेत नरहेको भन्दै म्यानेजर गिरी पन्छिएका थिए ।

 


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने