टिप्स/जानकारी

किशोरावस्थामा पोषण नपुगे यस्ता समस्या आउलान्

प्रविना भट्टराई

पोषण र स्वास्थ्य सम्बन्धी कुरा गर्दा साधारणतया बच्चा, वृद्ध र महिलाप्रति ध्यान केन्द्रित हुन्छ। किशोरावस्थामा हुने कुपोषणको भने खासै चर्चा गरिएको पाइँदैन। तर, किशोरावस्थामा राम्रो पोषण प्राप्त भए भविष्यमा आउन सक्ने विभिन्न रोग र कुपोषणको जोखिमबाट बच्न सकिन्छ । किशोरावस्थामा तीव्र रुपमा शारीरिक विकाश हुनुका साथै मानसिक विकाश र भावनात्मक आरोह-अवरोह हुन्छ, जसले उनीहरुको पोषण माग बढाउनुका साथै खानपिनको शैलीमा पनि असर गर्छ।

१० देखि १९ वर्षसम्मको उमेर समूहलाई किशोरावस्था भनिन्छ। यो उमेरमा हर्मोनहरुको उतारचढाब, पढाइको व्यस्तता, नयाँ साथीभाइ र सामाजिक गतिविधिका कारण उनीहरुको खानपानमा धेरै परिवर्तन आउँछ। फास्टफुड, जंकफुड, पेय पदार्थहरु यिनीहरुको खानपानमा अग्रस्थानमा आउँछन्।

एउटा मानिसको जीवनकालमा अर्थात् बच्चा, बृद्ध, वयस्क र किशोरावस्था मध्ये सबैभन्दा बढी पोषक तत्वको आवश्यकता किशोरावस्थामा नै हुनेगर्छ। किशोरावस्थाबाट स्वस्थ वयस्कमा प्रवेश गर्न उपयुक्त पोषणको आवश्यकता पर्छ। किशोरावस्थामा हुने कुपोषणले यौन विकाशमा कमि ल्याउनुका साथै पूर्ण रुपमा शरीर र हड्डीको विकाश हुन दिँदैन। त्यसका साथै वयस्क अवस्थामा प्रवेश गरेर खानपिन सम्बन्धी समस्या (चिनीरोग, मुटुरोग, हड्डी खिइने आदि) नहोस् भन्नका लागि किशोरावस्थामा सही पोषण दिनुपर्छ।

किशोरावस्थामा हुने शारीरिक परिवर्तनलाई पोषणले ठूलो असर गर्छ। तसर्थ सही शारीरिक वृद्धि र विकाशका लागि पर्याप्त मात्रामा शक्तिवर्धक खाने कुरा (अन्न, गेडागुडी, दूध-दही आदि) खानुपर्छ। किशोर-किशोरीमा  पढाइको चाप, खेलकुद, लागूपदार्थ, मध्यपान-धूमपान सेवन आदिका कारण खानपिनमा कमी आउछ, जसले उनीहरुमा आवस्यक शक्ति र अरु पोषकतत्वको कमी हुन जान्छ। यसले गर्दा उनीहरुको उचित शारीरिक वृद्धि र विकाश हुन पाउँदैन। किशोरावस्थामा पोषणको कमी हुन नदिन निम्न तत्वमा ध्यान दिनुपर्छ।

प्रोटिनः किशोरावस्थामा व्यक्तिको उचाइ वृद्धि हुन्छ। यो अवस्थामा प्रोटिनको कमी भएमा उचाइ वृद्धिमा असर पर्नुको साथै विभिन्न हर्मोनको विकासमा असर गर्छ।

कार्बोहाइड्रेटः कार्बोहाइड्रेटले शरीरमा ऊर्जा दिने काम गर्छ। हाम्रो शरीरमा पनि खासगरी मस्तिष्कलाई काम गर्नलाई विशेष रुपमा कार्बोहाइड्रेटको जरुरी पर्छ। आजकालका किशोर-किशोरीमा कार्बोहाइड्रेट खानु नै हुँदैन भन्ने भ्रम छ। धेरैजसो त किशोरीहरु दुब्लो हुने चाहनामा खानाबाट कार्बोहाइड्रेट हटाउँछन् जसले गर्दा उनीहरुको स्वास्थ्यमा दीर्घकालीन असर परिरहेको हुन्छ। तसर्थ किशोर-किशोरीले आफ्नो खानपानमा आवस्यकता अनुसारको कार्बोहाइड्रेट समाबेश गर्नुपर्छ। कार्बोहाइड्रेटमा पनि प्रशोधन नगरिएको कार्बोहाइड्रेटलाई प्राथमिकता दिनुपर्छ। अन्न (चामल, गहु, मकै), आलु, सखरखण्ड कार्बोहाइड्रेटका स्रोतहरु हुन्।

चिल्लो पदार्थ: चिल्लो पदार्थले शरीरमा शक्ति प्रदान गर्नुका साथै भिटामिनको पाचनमा पनि मद्दत गर्छ। तसर्थ आफ्नो खानामा चिल्लो पदार्थ पनि समावेश गर्नुपर्छ। तर, चिल्लो पदार्थ कुन स्रोतबाट आएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ। साधारणतया माछा, आलासको तेल, तोरीको तेल, बदाम, ओखरजस्ता चिल्लो पदार्थलाई राम्रो भन्न सकिन्छ। जंकफुडमा हुने चिल्लो पदार्थ, नरिवलको तेल, नौनी घिउ जस्ता चिल्लोलाई भने सावधानिपूर्वक थोरै मात्रामा खानामा समावेश गर्न सकिन्छ।  

क्याल्सियम: किशोरावस्थामा क्याल्सियमको माग अरु बेलाभन्दा धेरै हुन्छ। यो अवस्थामा हड्डीको अधिकतम विकाश हुने भएकाले क्याल्सियमयुक्त खानेकुरा (दूध, दही आदि) पर्याप्त मात्रामा सेवन गर्नुपर्छ। आजकलका किशोर-किशोरीहरु कोक, पेप्सीजस्ता पेय पदार्थसँगै रक्सी, चुरोटको लतमा पर्छन्, जसले दूध-दहीलाई विस्थापित त गर्छ नै साथसाथै हड्डीको उचित विकास पनि हुन दिँदैन। दूध नपच्ने समस्या भएका किशोर-किशोरीले भने क्याल्सियमयुक्त जुस, पाउरोटी, काउली, ब्रोकाउली आदि खानुपर्छ। क्याल्सियमको पर्याप्त सेवन गर्नाले भविस्यमा हड्डी खिइने समस्या र हड्डी भाँचिने समस्याबाट बच्न सकिन्छ।

आइरन: यो उमेरमा शारीरिक विकाश तिव्र रुपमा हुने भएकाले रगत बन्ने क्रिया नि तीव्र हुन्छ र आइरनको आवस्यकता बढ्न जान्छ। अझ किशोरीहरुको रजस्वला यही अवस्थामा सुरु हुने भएकाले आइरन सेवनमा बढी ध्यान दिनुपर्छ। किशोरकिशोरीले प्रसस्त रुपमा आइरनयुक्त खाने कुराहरु (माछा, मासु, हरियो सागपात, सजीवन, चना, मटर, राजमा, मुंग दाल, किसमिस, टमाटर आदि) प्रसस्त मात्रामा खानुपर्छ। मांशाहारी खानाबाट पाइने आइरन शरीरले सजिलैसँग सोस्छ भने साकाहारी खानाबाट आएको आइरन सजिलैसँग पचाउन भिटामिन सीको जरुरत पर्छ। तसर्थ साकाहारी खाना खाँदा भिटामिन सीयुक्त खानेकुराहरु जस्तै, कागती पनि समावेश गर्नु बुद्दिमानी हुन्छ।  

जिंक: जिंक शारीरिक विकाश र यौन परिपक्वाताका लागि आवस्यक पर्छ। जिंकको कमी छ भने शारीरिकसँगै यौन अंगहरुको राम्ररी विकाश नहुने हुन्छ। तसर्थ किशोर-किशोरीले जिंकयुक्त खानेकुराहरु (च्याउ, माछा, प्रशोधन नगरिएको अन्न, बदाम, काजु, हरियो सागपात आदि) खानामा समावेश गर्नुपर्छ

माथि उल्लेख गरिएका बाहेक अन्य खनिज पदार्थ र भिटामिनयुक्त खानेकुरा आफ्नो खानामा समावेश गर्नु आवस्यक छ। त्यसका लागि आवस्यक मात्रामा अन्न, गेडागुडी, माछामासु, अन्डा, दूध, दही, फलफूल र सागसब्जीहरु सही अनुपात मिलाएर खानुपर्छ। किशोर-किशोरीले कुनै पनि बाहनामा घरको खाना छोड्ने र बाहिरको खानेकुरा फास्टफुड, जंकफुड, पेय पदार्थ- कोक, पेप्सी, रक्सी आदि खान जोड गर्नु हुँदैन।

किशोरावस्थामा लिएको सही निर्णयले भविस्यमा हुन सक्ने विभिन्न रोगबाट बच्न सकिन्छ। यसका लागि परिवारका हरेक सदस्यले उचित सल्लाह र हेरचाह गर्नुपर्छ।

कलेज तथा विद्यालयले पनि पोषण तथा स्वस्थ जीवनशैली सम्बन्धी ज्ञान प्रदान गर्ने हिसाबले पाठ्यक्रम परिमार्जित गर्नुका साथै कलेजको हाताभित्र स्वस्थकर खाना र आवस्यक व्यायाम/खेलकुद प्रदान गर्ने सुविधा उपलब्ध गराउनुपर्छ।

(भट्टराईले न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live