मुख्य समाचार

स्वास्थ्यकर्मी/स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई धरौटीमा छुटाउन नपाइने, तीन वर्षसम्म जेल हुने

img

प्रवीण ढकाल

काठमाडौं- सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्ने भएको छ। यसका लागि संशोधनको मस्यौदा तयार भैरहेको छ। 
नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयसँग भएको सहमति अनुसार मस्यौदा तयार पारिएको हो।

मस्यौदा अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई आक्रमणको प्रकृति अनुसार तीन महिनादेखि तीन वर्षसम्म जेल सजाय हुनेछ।

कानुन मन्त्रालयमा पठाइने मस्यौदा अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण भएमा प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिई २५ दिन भित्र आवश्यक अनुसन्धान गरेर अदालतमा पेश गर्नुपर्ने हुन्छ । उक्त अवधिमा आक्रमणकारी धरौटीमा छुट्न पाउने छैनन्। यसरी अदालतमा पुगेका आक्रमणकारीलाई दुई प्रकारको कारबाही हुनेछ।

पहिलो सामान्य हातपात गर्ने तथा सामान्य आक्रमण गर्नेलाई तीन महिनादेखि एक वर्षसम्म जेल हुनेछ । यस्तै ठूलै आक्रमण, तोडफोड गर्ने तथा आगलागी लगायतका घटनामा स‌लग्नलाई तीन वर्ष जेल र तीन लाख रुपैयाँ जरिवाना हुने छ। यसका साथै क्षतिका आधारमा दोब्बर क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था राखिएको चिकित्सक संघका सदस्य डा अनिल कार्कीले जानकारी दिए।

उनका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा हुने सबै घटनामा विज्ञ समूहले अनुसन्धान गर्नका लागि छुट्टै विज्ञ समिति गठन गर्ने विषयमा पनि ऐनमा राख्न लागिएको छ।

डाक्टर तथा स्वास्थ्यकर्मी सुरक्षित नभएको भन्दै चिकित्सकहरु आन्दोलित छन्। लगातार अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि डाक्टरहरुले ‘जेल विथवाउट बेल’को व्यवस्था गर्न भन्दै आकस्मिक बाहेकका उपचार सेवा समेत बन्द गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टरको माग सम्बोधन गर्ने सहमति गरेपछि असोज १३ गते संघले आन्दोलन फिर्ता लिएको थियो। 

डाक्टरको आन्दोलन चर्किएपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पनि छिटो भन्दा छिटो ऐन र नियमावली परिमार्जन गर्ने निर्णय गरेका थिए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति दिई कामको वातावरण बनाउनु सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै मन्त्री पोखरेलले यसका लागि समिति नै बनाएका छन्। समितिले ऐन परिमार्जनको आवश्यक काम अगाडि बढाएको हो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live