फिचर

जनताको विश्वास जित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 

दुर्गा दुलाल

जुम्ला– साउनको दोस्रो साता खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल पुग्दा कालीकोटका गोरख रोकाय छोरीको उपचार गराइरहेका भेटिए । समान्य झाडापखाला लागेकी छोरीलाई दुई महिनासम्म निको नभएपछि उनी तीन दिनअघि अस्पताल आइपुगेका हुन् । उनी ३ घन्टा पैदल र त्यसपछि गाडी चढेर खलंगा आइपुगेका थिए । 

गाउँकै स्वाथ्य चौकीमा पाइने औषधिले निको नभएकी छोरीको अस्पताल ल्याएपछि स्वास्थ्यमा आएको सुधारले उनी दंग देखिए । रोकाय पहिलो पटक प्रतिष्ठनको अस्पताल आएका भने होइनन् । यसअघि पनि आफैं र श्रीमती बिरामी हुदाँ उनी खलंगा आएका थिए । त्यसबेला करिब दुई महिना अस्पताल बसेर उपचार गराएका रोकाय यहाँको सेवाप्रति ढुक्क छन् । आफ्नो गाउँको हावापानी, भाषा अनुसार मिल्ने र नेपालगञ्जभन्दा नजिक भएकाले उनी यहाँ उपचार गर्न आउँदा घरमै भएको महसुस गर्छन् । 

हुम्लाकी सुनिता रोकाय छोरालाई निमोनिया भएपछि एक सातादेखि अस्पतालमा उपचार गराइरहेकी भेटिइन् । एक दिन हिँडेर गाडी चढ्ने ठाउँमा बास बस्दै भोलिपल्ट उनी अस्पताल आइपुगेकी थिइन् । यहाँको उपचारले छोराको स्वास्थ्यमा सुधार आउन थालेपछि उनी सन्तुष्ट छिन् । अलिअलि मात्र सास फेर्ने अवस्थामा पुगेको बच्चा सात दिनमै हिँडडुल गर्न सक्ने भएको छ । गाउँको स्वास्थ्यचौकीमा उपचार नहुने देखिएपछि उनी पनि प्रतिष्ठानको अस्पतालमा आएकी हुन् । ‘उता पनि देखाएको तर ठिक भएन, त्यसैले अस्पताल ल्याएको हो,’ उनले भनिन्, ‘भर्ना गरेकोे छ, अब कति दिन राख्छ थाहा छैन ।’ 

उनी पहिलो पटक कर्णाली अस्पताल आएकी हुन् । यसअघि अस्पतालमा राम्रो उपचार हुने सुने पनि अहिले भने आफैंले महसुस गर्न पाएको उनले बताइन् । ‘यहाँको उपचार, डाक्टर र नर्सले गर्ने हेरचाहप्रति म धेरै खुसी छु,’ उनले भनिन्, ‘पहिला उपचारका लागि नेपालगञ्ज वा काठमाडौं जानु पर्दा धेरै दुःख पाएका थियौं ।’ 

जुम्ला मिचाकी सरस्वती नेपाली बिरामी नातीसँग दुई दिनदेखि अस्पतालमा छिन् । मिचादेखि दुई घन्टा पैदल हिँडेर उनी खलंगा आइपुगेकी हुन् । नातीको खुट्टामा लागेको चोट र केही महिनादेखि निरन्तर कान पाक्ने समस्याको समाधान खोज्न उनी अस्पतालमा बसेकी छिन्। 

पहिला–पहिला उनी अस्पताल ल्याउनु भन्दा गाउँमै घरेलु उपचार गर्न रुचाउँथिन् । तर, सरदमुकाममा प्रतिष्ठानको अस्पताल स्थापना भएपछि भने उनका आँखा खुलेका छन् । घरको सदस्य बिरामी भएमा आजभोलि उनी धामीझाँक्री वा जडीबुटी खोज्नतिर नलागी अस्पताल लैजान बिरामी बोक्ने मान्छे खोज्न दौडिन्छिन् ।

‘पहिला हामीलाई अस्पताल आउनुपर्छ भन्ने जानकारी नै थिएन । गाउँमै धामीझाँक्रीको भरमा बस्थ्यौं र जडीबुटी खोजेर खान्थ्यौं,’ नेपालीले भनिन्, ‘तर यहाँको उपचारपछि मेरो सोचाइ बदलिएको छ । घरमा कोही बिरामी भए अस्पताल आउँछौं, गाउँका कोही बिरामी भए पनि अस्पताल लैजान सल्लाह दिन्छु ।’

प्रतिष्ठानको अस्पताल बन्नुअघि उपचारमा पाएको सास्ती कर्णालीबासीले भुलेका छैनन् । अलि ठूलो बिराम हुँदा नेपालगञ्ज र काठमाडौं धाउनुपर्ने वाध्यता, अनि बेलामा जहाज नपाइने नियतिले कर्णालीका धेरै बिरामीलाई अकालमै लगेको छ ।

‘प्लेनमा आऊ–जाऊ गर्नुपर्दा कम्ति समस्या थिएन । एक पटक त नेपालगञ्ज जान प्लेन नपाएर धेरै दुःख पायौं,’ नेपालीले भनिन्, ‘फेरि नेपालगञ्जले हाम्रो भाषै बुझ्दैन । त्यसमाथि त्यहाँको गर्मी खपिनसक्नु ।’ 

डाँडाकोट गाउँ जुम्लाकी माया परियारले बच्चालाई झाडापखाला लागेर अस्पतालमा भर्ना गरेकी छन्। उनलाई पखाला लाग्दा जीवनजल खानुपर्छ भन्ने कुरा पनि अस्पतालले सिकाएको थियो। ‘प्रतिष्ठानले गर्ने उपचारमा मलाई धेरै भरोसा छ,’ परियारले भनिन्, ‘कोही बिरामी हुनासाथ आउने गरेकी छु ।’ 

केही दिनदेखि लगातार टाउको दुखेर अस्पताल आएकी जुम्ला चोक्टाकी उजेली मत्रा पनि निको हुनेमा विश्वस्त देखिन्छिन् । ‘गाउँको स्वाथ्य चौकीमा थोरै मात्र औषधि पाइन्छ, त्यो पनि सधैं छैन भन्छन्,’ मत्राले भनिन्, ‘तर, यहाँ त सबै प्रकारका रोगको जाँच गरी औषधि दिन्छन् ।’ 

जुम्लाको सिञ्जाबाट आएका पृथ्वि रावत १६ दिनदेखि कर्णाली अस्पतालमा बुबालाई उपचार गराइरहेका छन् । खुट्टाको घाउ अप्रेसन गर्नुपर्ने भएकाले उनले बुबालाई अस्पताल भर्ना गराए । अप्रेसनपछिको घाउ निको हुने क्रममा छ । उनका ९२ वर्षीय पिता धनमल रावत पनि कर्णाली अस्पतालको उपचारदेखि सन्तुष्ट छन् । ‘पहिले यस्तो उपचार हुँदैनथ्यो,’ पृथ्विले भने, ‘कि त प्लेन चढेर नेपालगञ्ज जानुपथ्र्यो नत्र रोग पालेर बस्नुपथ्र्यो । अस्पताल बनेपछि धेरै सजिलो भएको छ ।’ सदरमुकामबाट रावतको घर पुग्न एक दिन लाग्छ । बिरामी बुबालाई स्ट्रेचरमा बोकेर ल्याउँदाको दुःख यहाँको उपचारले बिर्साएको उनले अनुभव सुनाए । 

कर्णाली अस्पतालले धेरै बिरामीलाई अकालमै ज्यान गुमाउनुपर्ने वाध्यताबाट जोगाएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मीचन्द्र उपाध्यायको अनुभव छ ।  ‘पहिला कर्णाली जिल्लामै झाडापखालाले धेरै मानिस मरेका  थिए । पानी खान हुँदैन भन्ने मान्यता थियो,’ उपाध्यालले विगत सम्झँदै भने, ‘जताततै फोहोरमैला हुन्थ्यो । अनि जस्तै समस्या भए पनि अस्पताल जानुभन्दा झारफुकमा भर पर्ने चलन थियो ।’

उनले धेरै मानिस सामान्य उपचार नपाएर मृत्यु भएको देखेको बताए । सम्पन्नहरु काठमाडौं र नेपालगञ्ज गएर उपचार गर्ने गरेको सुनाउँदै उपाध्यायले भने, ‘नहुनेहरु अकालमै मृत्युवरण गर्न वाध्य भएका घटना धेरै छन् । प्लेन नपाएर एयरपोर्टमै कति बिरामी र सुत्केरीको ज्यान गएको देखेको छु ।’ 

उपाध्यायले पहिला सामान्य उपचार सेवा मात्र पाइने ठाउँमा अहिले हड्डी भाँचिएका लगायत ठूला र जटिल शल्यक्रिया हुने गरेकाले कर्णालीवासी लाभान्वित भएको बताए ।
कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पा मात्र नभई छिमेकी जिल्ला बाजुरा, अछाम, बझाङ र जाजरकोटका बिरामी पनि प्रतिष्ठानको अस्पतालमा भर परेका छन् । यो भेगका बासिन्दा हावापानी र बोलीचालीका हिसाबले पनि तराईमा उपचार गर्न झर्नुभन्दा यहाँकै सेवामा अभ्यस्त भएका छन्। त्यसैले उनीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताललाई आफ्नो ठान्छन् । 

कालीकोट, हुम्ला र जुम्लाका विभिन्न ठाउँबाट आएका बिरामीको अनुभव सुन्दा उनीहरुका लागि कर्णाली अस्पताल बरदान साबित भएको छ भन्ने बुझ्न सकिन्छ । 
जनताले गरेको विश्वासलाई आफूहरुले गरेको सेवाको प्रतिफल मान्छन् अस्पताल निर्देशक धर्मराज गोसाई । १५ वर्षदेखि अस्पताल व्यवस्थापनमा खटिएका उनी जनताको विश्वासलाई धरमराउन नदिने पक्षमा छन् । 

‘हाल कार्यरत विशेषज्ञ, डाक्टर र स्वास्थ्यकर्मीले दिनरात गरेको मिहिनेतपछि कर्णालीका जनता अस्पताल आउन र विश्वस्त हुन थालेका हुन्,’ गोसाईले भने, ‘हाल ३ सयबाट ६ सय शय्यामा स्तरोन्नति गर्नेछौं, त्यसपछि थप सुविधा दिनेछौं ।’

प्रदेश ६ कै ठूलो अस्पताल बनाउँछौं

धर्मराज गोसाई 
अस्पताल निर्देशक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई किसिमले विस्तार गर्दै छौं । पहिलो, हामी आधुनिक उपकरण जडान गरेर त्यसबाट उपचार गर्दै छौं । साथसाथै नयाँ भवन बनिरहेको छ, त्यहाँ शय्या थप गर्ने तयारीमा छौं । कर्णालीका ५ र छिमेकी ४ जिल्लाका जनतालाई दक्षित गरी अत्याधुनिक उपचार दिने लक्ष्यका साथ हामी दिनरात मिहिनेत गरिरहेका छौं । 

९ वटै जिल्लामा समान रुपमा सेवा विस्तार हुनेछ । सबै क्षेत्र समेटिएको टिम बन्छ । हरेक जिल्ला पुगेर उपचार गर्ने मोबाइल टोली निर्माण गर्ने छौं । जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रबाट उपलव्ध नभएका सबै सेवा त्यहाँ उक्त टोलीले उपलब्ध गराउनेछ । महिनामा तीन पटकसम्म त्यहाँ सेवा दिन्छौं । जुम्ला जिल्लाभरि हरेक स्थानीय तहमा विशेषज्ञ डाक्टरसहितको टोलीले प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय तह र अन्य निकायसँग सम्वन्वय गरी काम गरिरहेका छौं । यसले अस्पतालको पनि प्रचारप्रसार हुन्छ र उपचार नपाएका बिरामीले गाउँमै सेवा पाउँछन् । 

यहाँ हामी छिटै डाक्टर उत्पादन गरेर अन्य जिल्लामा पठाउने महत्वाकांक्षी योजना पनि शुरु गर्दै छौं । छिटै हामी नर्सिङ र एमबिबिएसको पढाइ शुरु गर्छौं । विज्ञ डाक्टरको उत्पादनपछि कर्णालीले अन्य जिल्लामा डाक्टर पठाउने हो । 

केही वर्षपछि कर्णालीमा डाक्टर छैनन् भन्ने परिचयलाई फेरेर कर्णालीबाट डाक्टर आउँछन् भन्ने सन्देश दिनेगरी काम गरिरहेका छौं । हामी यहाँ एक अनुसन्धान केन्द्र पनि निर्माण गर्ने योजनामा छौं । विदेशी कन्सल्टेन्टनहरुका लागि यो क्षेत्र अनुसन्धानको ‘हब’ बन्न सक्छ । विश्वमा यति उच्च स्थानमा अस्पताल कमै होलान् । 

६ नम्बर प्रदेशकै ठूलो अस्पताल बनाउने हाम्रो लक्ष्य छ । पछिल्ला दिनमा यहाँ आउन डाक्टरहरुमा आर्कषण बढ्दो छ । यहाँ लेक्चर र विज्ञ डाक्टर दुवै सँगै हुन पाइने भएकाले पनि आर्कषण बढेको हो । 

हामी काठमाडौंका केही अस्पतालसँग सम्झौता गरेर डाक्टरहरु ल्याउनेछौ । अस्पताल सुधारका लागि अहिले मुख्य भवन निर्माण भइरहेको छ । उक्त भवनमा हामी छिटै स्थानान्तरण हुँदै छौं । सबै उपकरणले सुसम्पन्न भएपछि हामी भौतिक समस्या अन्त्य गर्दै स्वास्थ्य सुविधा कसरी सहज रुपमा दिने भन्ने कुरामा केन्द्रित हुनेछौं । 

मेडिकल विश्वविद्यालय बनाउने उद्देश्य

डा. पुजनकुमार रोकाया 
मेडिकल डाइरेक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


मेरो घर जुम्ला नै हो । म हाडजोर्नी विभागमा छु । म मेडिकल डाइरेक्टर भएको ६ महिना पनि पुगेको छैन । स्थानीय बिरामीलाई धेरै सेवा पायौं भन्ने लागे पनि यहाँबाट दिइने सेवामा हामी आफैं सन्तुष्ट छैनौं । यसलाई अझै विस्तार गर्नुपर्ने लक्ष्यका साथ काम भइरहेको छ । यहाँ आउने बिरामीले कुनै दुःख र झन्झटबिनै उपचार पाउने वातावरण बनाउन के गर्न सकिन्छ भनेर हामी योजना बनाइरहेका छौं । 

हामीले अस्पतालमा सघन उपचार सेवा (आइसियू) दिन सकेका छैनौं । ‘केयर सेन्टर’का रुपमा चाहिँ अब्बल साबित हुँदै गएको छ । नेपालको दुर्गम स्थानमा सायद यो नै विशेषज्ञ सेवासहितको पहिलो अस्पताल हो । सुर्खेत क्षेत्रीय अस्पतालमा भन्दा हाम्रोमा धेरै विशेषज्ञ डाक्टर छन्, यसलाई उपलब्धि मान्नुपर्छ । 

तर केही स्रोतसाधन अभावले थप विशेषज्ञ सेवा दिन सकेका छैनौं । विगत केही वर्षको तुलनामा भने बिरामीले पाउने सेवा–सुविधामा निकै सुधार आएको छ । अहिले अस्पतालमा विद्युत् आपूर्तिलाई जोड दिइरहेका छौं । राष्ट्रिय प्रसारण लाइनसँग जुम्लाको ‘कनेक्सन’ नभएले लघु जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति भइरहेको छ । त्यो नियमित छैन । विद्युत् सेवा नियमित भएपछि सिटिस्क्यान, ल्याब आदि सुधार गर्नुपर्नेछ । 

साथै, एकेडेमिक काम पनि अघि बढाउनुपर्नेछ । नर्सिङको पिसिएल र हेल्थ एसिस्टेन्ट कार्यक्रम अहिले चलिरहेको छ । आगामी दिनमा मिडवाइफ र बिपिएचको कार्यक्रम अघि बढाउन खोजिरहेका छौं । निकट भविष्यमा एमबिबिएस कार्यक्रम शुरु गर्नैपर्छ । अन्ततः हाम्रो उद्देश्य प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भन्ने हो । प्रतिष्ठानको प्रमुख उद्देश्य दूर दराजबाट डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गर्ने भन्ने हो । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live