मुख्य समाचार

उपचारको लापरबाही वर्गीकरण गर्न डा वस्तीको संयोजकत्वमा समिति 

img

प्रवीण ढकाल

काठमाडौं- बिरामीको उपचार क्रममा भएका लापरबाहीलाई वर्गीकरण गर्न छुट्टै समिति गठन हुने भएको छ। 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्न गठित समितिको आज स्वास्थ्य मन्त्रालयमा भएको छलफलले डा हरिहर वस्तीको संयोजकत्वमा लापरबाहीको वैज्ञानिक वर्गीकरण गर्ने समिति गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिले उपचारका क्रममा भएका कुनै पनि कमीकमजोरीको गहन अध्ययन गरी लारपरबाही भए/नभएको छुट्याउनेछ। लापरबाही भएको फेला परेमा अवस्था अनुसार सो समितिले वर्गीकरण गर्नेछ। उपचारका क्रममा सामान्य, मध्यम वा ठूलो कस्तो खालको लापरबाही भएको हो, सो वर्गीकरणपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढ्नेछ। समितिले ७ दिनभित्र आवश्यक सुझावसहितको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पेस गर्नेछ।

उपचारका क्रममा बिरामीको मृत्यु भए अनिवार्य पोस्टमार्टम र अटोस्पी गर्नुपर्ने निर्णय समेत भएको छलफलमा सहभागी चिकित्सक संघका सदस्य डा अनिल कार्कीले जानकारी दिए।

यसैगरी, उपचारका क्रममा हुने घटनाका विषयमा उपभोक्ता तथा बिरामीको पक्षबाट अध्ययन गर्न बाबुराम हुमागाईको संयोजकत्वमा अर्को समिति समेत गठन गर्ने निर्णय भएको छ।

मन्त्रालयले गत असोज ८ गते स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्न एक समिति गठन गरेको थियो। डा पुष्पा चौधरीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयकी नर्सिङ शाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई, उपसचिव भवनाथ खतिवडा, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा दिलीप शर्मा, चिकित्सक संघका प्रतिनिधि प्रकाश बुढाथोकी, डा अनिल कार्की, डा उपभोक्तका तर्फबाट बाबुराम हुमागाई र मन्त्रालयको कानुनका उपसचिव सदस्य छन्।

समितिले डाक्टरहरुले उठाउँदै आएको ‘जेल विथ वाउट बेल’का विषयमा मंगलबार बृहत् छलफल गरेको थियो। आज पनि उक्त विषयमा छलफल भएको डा बुढाथोकीले जानकारी दिए। उनका अनुसार अस्पतालमा आक्रमण तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई तीन महिनासम्म थुनामा राख्नुपर्ने र धरौटीमा छुट्न नपाउने व्यवस्था राखिने भएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live