प्रोफाइल

कुष्ठरोग विरुद्ध प्रतिबद्ध डा महेश

img

डिबी खड्का

हाम्रो समाजले कुष्ठरोग र रोगीका बारेमा अझै सहज महसुस गर्न सकेको छैन । यसैले कुष्ठरोग शारीरिक मात्र होइन, सामाजिक समस्या पनि हो । डाक्टर पनि यही समाजका अंश भएकाले अन्य रोग सरह यो रोगकै उपचारमा दत्तचित्त भएर लागेका डाक्टर निकै कम भेटिन्छन्। 

तिनै विरलाकोटीका डाक्टर हुन् महेश साह । जो कुुष्ठरोगको उपचारमा २५ वर्षदेखि निरन्तर जुटिरहेका छन्। 

डा साह आनन्दवन अस्पतालमा वरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनी उपचार त गर्छन् नै, कुष्ठरोगबारे स्वास्थ्यकर्मी, डाक्टर र विशेषज्ञलाई तालिम दिने जिम्मा पनि उनकै छ । सरकारी र गैरसरकारी डाक्टरहरुलाई कुष्ठरोग सम्बन्धी तालिम दिनका लागि २१ वर्षदेखि उनैलाई संयोजक बनाइएको छ । नेपालमै चर्म, यौन तथा कुष्ठरोग सम्बन्धी विशेषज्ञता गर्नेहरुले डा साहसँग कुष्ठरोग सम्बन्धी दुई हप्ताको कोर्स लिनुपर्छ।

रोगप्रति सामाजिक धारणा नकारात्मक र आम्दानी पनि कम हुने कुष्ठरोगका क्षेत्रमा डाक्टरको आकर्षण नै हुँदैन । किनकि आफू कार्यरत संस्थाले दिने सुख्खा तलबमै डाक्टर सन्तुष्ट हुनुपर्छ। 

कमाउने होइन, दानी डाक्टर

‘डम्र्याटोलोजी’ पढ्ने सयौंमध्येमा कुष्ठरोगको उपचार छान्ने डाक्टर औंलामा गन्न सकिने मात्रै छन् । यसको कारण हो, यसप्रतिको नकारात्मक सोच र सीमित कमाइ ।

डा साह भन्छन्, ‘यो रोग लागेपछि आउने बिरामीको आर्थिक अवस्था पनि कमजोर हुन्छ । बिरामीबाट उपचार गरे वापत कमाउने होइन, उल्टै सहयोग गर्नुपर्छ।’

डाक्टर भन्ने बित्तिकै मनग्गे कमाउने पेशा भनेर जनमानसमा परेको पाइन्छ । तर, डा साहको अनुभव भने योभन्दा विपरीत छ । अस्पतालको तलब बाहेक कमाउने सम्भावना शून्य होइन, ऋणात्मक हुने उनले भोग्दै आएको कुरा हो । उपचारपछि घर जाने भाडा छैन भन्ने बिरामीलाई उनले भाडा दिएर पठाएका छन् । केही खान पाइनँ भन्नेलाई खुवाएर पठाएका छन् । त्यसैले यो क्षेत्रमा लागिरहन सानोतिनो मन र लरतरो धैर्यले हुँदैन। 

‘अशक्त शरीर र दुःख लिएर आउने बिरामीसँग दिनदिनै सामना गर्दा एक खालको डिप्रेसन नै हुन्छ’, उनी भन्छन्, ‘त्यसैले धेरैजसो यो क्षेत्रमा टिक्न सक्दैनन्।’

कुष्ठरोग उपचारका क्षेत्रमा नेपालमा जति डाक्टर  छन्, ती पर्याप्त छैनन् । किनभने हरेक वर्ष कुष्ठरोगका ३ हजार नयाँ बिरामी थपिने अनुमान गरिएको छ । कुष्ठरोग किन हुन्छ भन्ने कुराको वैज्ञानिक कारण पत्ता लागिसकेको छ। यसकाे बहुअाैषधि सेवनका कारण किटाणुको मृत्यु हुन्छ र रोग निको हुन्छ । तर नेपाल जस्ता अल्पविकसित मुलुकमा यो रोगको समस्या बढी हुने अनुमान गरिन्छ। 

सबै स्वास्थ्यकर्मी, डाक्टरहरुले यो रोगका विषयमा अन्य रोगलाई झैं चासो नदिने भएकाले धेरै जना ठूलो हन्डर खाएपछि डा साह जस्ता विशेषज्ञकहाँ आइपुग्छन् । डा साहका अनुसार अझै पनि ४ प्रतिशत बिरामी कुष्ठरोग भएर अपांग भइसकेपछि मात्रै उपचार गराउने ठाउँसम्म आइपुग्छन्। 

यसले गराउने अंगभंगबाट जोगाउन समयमै उपचार जरुरी हुन्छ । तर, त्यसको सुनिश्चितता अझै हुन नसकेको कुराले डा साहलाई पिरोलिरहन्छ । उनी भन्छन्, ‘यसले अंगभंग पारेपछि गरिखाने मान्छे पेशाबाट विमुख हुनुपर्छ । चाँडै पत्ता लगाएर उपचार गर्न सकिए त्यो अवस्था आउँदैनथ्यो ।’

कुष्ठरोग सामाजिक समस्या पनि भएकाले यसबारे जनचेतना फैलाउन र उपचारमा धेरै निकाय लागेका छन् । जसले गर्दा केही हदसम्म यसको नियन्त्रणमा सफलता मिलेको छ । तर, डा साहलाई यतिले मात्र पुग्दैन जस्तो लाग्छ । त्यसैले उपचारपछि बिरामीलाई समाजमा पुनःस्थापना गर्ने कुरालाई पनि एजेन्डाका रुपमा 
बढाउनुपर्ने उनको राय छ। 

उनी आफैं पनि कुष्ठरोगबाट प्रशस्त जानकारी पाएर यता लागेका होइनन् । ‘मलाई आनन्दवन अस्पतालमा काम गर्न जाँदासम्म पनि यसबारे थाहा थिएन’, उनले खुलेर भने, ‘एमबिबिएस पढ्दा एउटा/दुइटा च्याप्टर थियो यसबारे । तर, त्यो बेला पनि वास्तै गरिएनछ।’

जब मूलबाटो भेटियोे

रसियन सरकारको कल्चरल सिटमा रसिया पढ्न गएका उनी सन् १९९२ मा सातवर्षे एमबिबिएस सकेर नेपाल फर्के । त्यसपछि आफूलाई काममा खटाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे । तर, मन्त्रालयले वास्ता गरेन । त्यसपछि उनी झन्डै ६ महिना कामविहीन भएर बसे। 

यही क्रममा उनले आनन्दवन अस्पतालमा मेडिकल अधिकृतको कोटा खाली हुन लागेको थाहा पाए। 

उनी सम्झिन्छन्, ‘एक जना दिदी फोन गर्न चावहिलमा रहेका हाम्रो दाजुको घरमा आउनुहुन्थ्यो । उहाँले आफ्नो भाइ आनन्द वन अस्पताल छाडेर पढ्न जान लागेकाले मान्छे चाहिएको भन्दै भाउजूसँग कुरा गर्नुभएछ।’

त्यही कुरालाई आधार मानेर अस्पताल पुगेका उनी तुरुन्तै त्यहाँ काम गर्न छानिए । मिसन अस्पताल भएकाले सेवा–सुविधा राम्रो छ भन्ने कुरा सुनेर उनी त्यहाँ पुगेका थिए । तर, उनले त्यहाँ अर्कै अवस्था पाए। 

त्यहाँ त बिरामीको सेवामा एकोहोरिएर लाग्न सक्ने मान्छे खोजिएको रहेछ । उनमा त्यो गुण थियो । तत्कालीन अस्पताल प्रमुख डा रुथ ब्याट्लिनले उनको त्यो गुण तुरुन्तै पहिचान गरे । इंग्ल्यान्डका डा रुथ कुष्ठरोग विषयका ज्ञाता थिए । कुष्ठरोग सम्बन्धी केही भेउ नपाएका डा साहले त्यहीँ पुगेपछि सबै जानकारी हासिल गरे र उपचारमा तल्लीन भए।

त्यो समय कुष्ठरोगको विषयमा समाजमा प्रशस्त भ्रम थिए । कतिसम्म भने, यसको उपचारमा संलग्न डाक्टरहरुलाई परिवारले हेर्ने दृष्टिकोण समेत सकारात्मक थिएन । उनी सन् १९९३ मा कुष्ठरोग सम्बन्धी ७ हप्ताको तालिम लिन भारतको तमिलनाडुमा जाँदाको एउटा घटना सम्झिन्छन्, ‘हामीसँगै तालिम लिइरहेका एक डाक्टर कुष्ठरोगको उपचार हुने अस्पतालमा काम गर्थे । उनले आफ्नो दुःख सुनाउँदै श्रीमतीले आफूलाई अस्पतालमा लगाउने चप्पल र लुगा लगाएर घर पस्नै नदिने बताएका थिए।’ 

नेपाली समाजमा कुष्ठरोग सम्बन्धी प्रशस्त अन्धविश्वास, भ्रम र घृणाका भावना भए पनि उनले घरमा भने छिःछिः दूर दूर झेल्नुपरेन । किनकि उनकी जीवनसाथी प्रेमा साह आफैं डाक्टर थिइन् । हाल भक्तपुरस्थित नागरिक अस्पतालमा गाइनोक्लोजिस्टका रुपमा कार्यरत उनले पनि ३ वर्ष आनन्दवनमै काम गरेकी थिइन्। 

अवसर छाडेर सेवा

डा साहले कुष्ठरोग र अन्य छाला रोगको उपचारमा देखाएको लगनका कारण अस्पतालले एक वर्ष छालारोग सम्बन्धी तालिम गर्न विदेश पठायो । उनले तालिम लिएर फर्केपछि कुष्ठरोग बाहेक अन्य छाला सम्बन्धी समस्याको उपचार पनि गर्न थाले । 

उनले सन् १९९७ मा अस्पतालमै चर्मरोग क्लिनिक खोले । चर्मरोगको उपचारमा उनले आफूलाई अभ्यस्त बनाउँदै लगेपछि अस्पतालकै सहयोगमा सन् २००७ मा चर्म, यौन तथा कुष्ठरोगमा विशेषज्ञता हासिल गर्ने मौका पाए । 

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट विशेषज्ञता हासिल गरेका उनलाई त्यसपछि छाला सम्बन्धी अन्य उपचार सेवातिर प्रवेश गर्ने प्रशस्त अवसर थिए । किनकि कस्मेटिक, लेजर जस्ता सेवाको प्रभाव बढिरहेको थियो र कमाइ पनि राम्रै हुने अवस्था थियो । 

तर, उनले आफूलाई कुष्ठरोग र छाला सम्बन्धी जटिल समस्यामै केन्द्रित गरे । भन्छन्, ‘ती क्षेत्रमा त अन्य साथीहरु पनि थिए तर कुष्ठरोगको उपचारमा धेरैको रुचि थिएन । यहाँ मैले नै केही गर्नुपर्छ जस्तो लागेर अडिएँ ।’

सेवालाई प्राथमिकता दिएर डाक्टरी गरिरहेका उनी आफ्नो कर्मबाट सन्तुष्ट पनि छन् । उनलाई लाग्छ, ‘डाक्टरको प्रमुख धर्म सेवा हो र सेवा गर्ने मौका मैले पाएको छु ।’

पिताको सपनाले डाक्टर 

उमेरले ६२ वर्ष पुगेका डा साह चिकित्सा क्षेत्रमा निकै पछि आइपुगेका हुन् । त्यसअघि उनले एमएस्सीसम्म अध्ययन गरेका थिए । खासगरी उनका पिता सीताराम साहको चाहना उनलाई डाक्टर बनाउने थियो । 

उनका दाइहरु (भूतपूर्व विज्ञान मन्त्री गणेश साह समेत) इञ्जिनियर भइसकेका थिए । डा साहलाई पनि गणितमा रुचि भएकाले इञ्जिनियर नै बन्न सहज हुने लागेको थियो । तर, उनको पिताको करबलले आइएस्सी र बिएस्सी पढ्दा बायोलोजी लिएका थिए । बिएस्सी सकिसक्दा पनि उनले डाक्टरी पढ्ने मेलो नै भेटेनन् र एमएस्सीमा भर्ना भए । 

एमएस्सी पढ्दै गर्दा लाग्यो, ‘बुवाको सपना एमएससी गरेर पूरा हुँदैन । म मेडिकल क्षेत्रतिरै लाग्नुपर्छ ।’ त्यसपछि उनी पढाइ बीचमै छाडेर तत्कालीन महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टमा भर्ना भए । पास गरेपछि दुई वर्ष कैलालीको बसौटे स्वास्थ्यचौकीमा करार सेवा गरे । पछि स्थायी भएर बाँकेमा आए । 

स्थायी भएको ६ महिना पनि भएको थिएन, उनलाई एमबिबिएस नै गर्ने इच्छा भयो । काठमाडौं आएर तयारी गरे । सरकारले त्यो बेला कल्चरल कोटामा केहीलाई डाक्टरी पढाउन रसिया पठाउँथ्यो । उनले पनि त्यही कोटामा नाम निकाले । रसियाको तासकन्द युनिभर्सिटीबाट सन् १९९२ मा एमबिबिएस पूरा गरेर उनी नेपाल फर्किएका हुन् । पास गरेको ६ महिनापछि आनन्दवन अस्पताल छिरेका उनी हाल पनि त्यहीँ कार्यरत छन् । 

धनुषाको लोहना बबनगामा जन्मेका उनले प्रारम्भिक शिक्षा घरमै गरे । उनका बुवाले छोराहरुलाई पढाउन भारतबाट शिक्षक ल्याएका थिए । उनैले हिन्दी र गणित शिक्षा दिए । एकैचोटि श्रीकन्टिर माध्यमिक विद्यालयमा उनी ४ कक्षामा भर्ना भए र त्यहीँबाट सन् १९७२ मा एसएलसी पूरा गरे । आइएस्सी र बिएस्सी भने त्रिचन्द्र कलेजमा अध्ययन गरेका हुन् । 

कुष्ठरोगः अझै ढुक्क हुने अवस्था छैन

सन् २०१० मा नेपाल सरकारले कुष्ठरोग नियन्त्रणमा आएको घोषणा गर्‍यो । तर, नियन्त्रणको अर्थ रोगी नै फेला नपर्ने भन्ने होइन । प्रति १० हजार जनसंख्यामा एकजनामा मात्र कुष्ठरोग हुनुलाई नियन्त्रण भनिन्छ । यस हिसाबले ३ करोेड हाराहारी जनसंख्या भएको देशमा कुष्ठरोगीको संख्या धेरै हुन आउँछ । 

खासगरी तराईका १६ जिल्लामा यो रोगको प्रभाव निकै रहेको डा साह बताउँछन् । यसका कारण अनेक भए पनि नियन्त्रणमा अझै कम्मर कसेर लाग्नुपर्ने उनको अनुभव र अनुसन्धानले देखाउँछ । 

उनी कुष्ठरोग सम्बन्धी उपचारका साथै अनुसन्धान पनि गरिरहेका हुन्छन् । त्यसैले उनलाई नेपाल हेल्थ रिसर्च काउन्सिलले सिनियर रिसर्चर अवार्ड २०१६ बाट सम्मान गरेको छ।

छाला रोग सम्बन्धी डाक्टरहरुका विभिन्न संघ–संस्थामा समेत उनी आबद्ध छन् । साउथ एसिया क्षेत्रका छाला रोगको विशेषज्ञको संगठनका संस्थापक सदस्य र कोषाध्यक्ष, चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञहरुको नेपालको संगठनका कोषाध्यक्ष, सचिव हुँदै अध्यक्ष भइसकेका छन् ।

यस्तै, इन्टरनेशनल लिग अफ डम्र्याटोलोजी सोसाइटीका सदस्य, कम्युनिटी हेल्थ एजुकेशन बाइ टेलिहेल्थका महासचिव भइसकेका छन् । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live