डक्टर्स आर्टिकल

प्रोस्टेट, मुत्र समस्या, लक्षण र उपचार

प्रा डा अर्जुनदेव भट्ट

शरीर रचना र जैविक प्रक्रिया

मुत्रनलीको सुरुको भाग सबैतिरबाट प्रोस्टेट ग्रन्थीले घेरेको हुनाले मुत्र निकासमा समस्या उत्पन्न गर्न सक्छ। युवा अवस्थामा ग्रन्थीको संक्रमण भए प्रोस्टेट सुन्निएर मुत्रनलीको सुरुको भाग साँगुरिन्छ र पिसाब रोकिन सक्छ, तर यो अस्थायी समस्या हुन्छ। 

संक्रमण कम हुँदै गएपछि फेरि मुत्र निकास सामान्य भएर आउँछ। पुरुष करिब ४० वर्षमा प्रवेश गरेपछि प्रोस्टेट ग्रन्थीको कोषिकाहरुको अति वृद्धि (हाइपरप्लेजिआ) सुरु हुन्छ। ग्रन्थीमा सुरु भएको यो जैविक प्रक्रिया बाँचुन्जेल कुनै-न-कुनै रूपमा चलिरहन्छ। प्रत्येक पुरुषका निम्ति यो प्रक्रिया अतुलनीय तथा विशिष्ट र निश्चित प्रकार-लक्षणयुक्त हुन्छ। प्रत्येक पुरुषको प्रोस्टेट ग्रन्थी फरक प्रकार र लक्षण युक्त भएर अनावृत हुने गर्छ।  

मुत्र व्यवस्थापनमा मुत्रथैलीको भूमिका 

मुत्रथैलीका मुख्य दुई गुण हुन्छन्

पहिलो गुण मुत्र सञ्चय गर्ने। मिर्गौलाबाट बनेर पिसाप मुत्र बाहिनीनलीहरू हुँदै मुत्रथैलीमा जम्मा हुन थाल्छ। थैलीले सामान्य अवस्थामा ३ सयदेखि ५ सय मिलिलिटर पिसाप जम्मा गर्न सक्छ। मुत्र सञ्चय गर्ने कार्य मुत्रथैलीको भए पनि यो थुप्रै अङ्ग तथा प्रणालीको एकीकृत सु-सम्बद्धमा निर्भर हुन्छ। खास गरेर मुत्रथैलीको मांसपेशी तथा सबै त्यसका अवयवहरूको केन्द्रीय तथा सीमावर्ती स्नायु प्रणालीको, पुरुषको मानसिक अवस्था इत्यादिको ठूलो भूमिका हुन्छ। 

दोस्रो गुण हो मुत्र निकास गर्ने। यो कार्यका लागि मुत्रथैलीको खुम्चन सक्ने क्षमता र बल, थैलीको घाँटीको खुकुलो हुन सक्ने गुणावस्था, मुत्रनलीको सुरुको प्रोस्टेटले घेरेर राखेको भागको लचकता, व्यास, पिसापको थैलीभित्र बढेको प्रोस्टेट ग्रन्थीले छेकेको स्थान र त्यसले पारेको असर आदि धेरै तत्वको सहभागिता हुन्छ। 

प्रोस्टेट वृद्धि र मुत्र लक्षण

प्रोस्टेट वृद्धि एउटा मन्द प्रक्रिया हो। उमेर बढ्दै जाँदा सबै पुरुषले यो प्रकिया व्यहोर्नै पर्ने हुन्छ। ग्रन्थीले मुत्रनलीको सुरुको भाग घेरेको हुनाले मुत्र निकासमा वृद्धिको प्रक्रियाले समस्या उत्पन्न गर्न सक्छ। 

जैविक विकासमा प्रोस्टेट ग्रन्थी वृद्धिको के महत्व हुन्छ? वा जरुरी छ? त्यो अझ ठम्याइएको छैन। यो एउटा खालि पुरुष शरीरमा भएका हर्मोनहरुको असन्तुलनको उपोत्पादन मात्रै हो भनेर पनि सोच्न सकिन्छ। जे भए पनि धेरै पुरुष प्रोस्टेट ग्रन्थीको वृद्धिका कारण सामान्य अवस्थामा जस्तो मुत्र सञ्चय तथा निकास गर्न नसकेर पीडित हुन्छन्। यो ग्रन्थी खासै नबढे पनि यदि यसले विभिन्न कारणबस आफ्नो लचकता केही मात्रामा मात्र गुमाउन पुगे पनि मुत्र निष्कासनमा समस्या उत्पन्न हुन्छ। 

प्रोस्टेट ग्रन्थी बढेर होस् वा सानै भएर किन नहोस् मुत्रथैलीको घाँटी पिसाप फेर्ने समयमा सजिलोसँग खुलेन भने पुरुषले मुत्र समस्या अनुभव गर्छ। पिसाप फेर्न गएपछि कुरेर मात्र पिसाप हुने, एकै पल्ट सरर पिसाप नआएर रोकी-रोकी हुने, पिसापको धारा लुलो, मसिनो तथा कमजोर हुने, पिसाप फेरिसकेपछि अन्तमा थोपाहरु खस्ने र पूरा पिसाप निख्रेको आनन्द नआउने हुन्छ। अर्काथरिका पुरुष पिसाप लागेपछि रोक्नै नसक्ने, पिसाप फेर्न ढिलो गए पिसाप चुहिने, पिसापनलीमा जलन महसुस गर्ने, छिनछिनमा पिसाप फेरिराख्नुपर्ने र राती पनि बार-बार पिसाप फेर्न उठ्ने गर्छन्। 

प्रोस्टेट रोगो पछिको लक्षणः

माथि उल्लेखित मुत्र पद्धति तल्लो भाग संलक्षण र मुत्रथैली निर्गम मार्ग अवरोध लक्षणको कारण पुरुषले चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। किनकि यस्ता लक्षणलाई वास्ता नगरी बस्दा प्रोस्टेट वृद्धि भई रोगले पछि पार्ने असर देखा पर्न थाल्छन् । ती लक्षण हुन्

•    बार-बार मुत्र संक्रमण भइरहने। 
•    मुत्र रक्तस्राव हुने। 
•    मुत्रथैलीमा पत्थरी जम्ने। 
•    सुतेको बेला ओछ्यानमा पिसाब चुइने। 
•    मुत्रथैलीले लचकता गुमाएर मुत्र बाहिनी नली तथा मिर्गौला फुले तथा मिर्गौलाको कार्य क्षमता ह्रास भएर आउने। 
•    पिसाप पूरा रोकिने र पुरुष क्याथेटर लगाएर मुत्र निकास गर्न बाध्य हुने। 

मुत्रथैलीमा थुप्रै पिसाप बाँकी रहने, खास गरेर मधुमेह हुने पुरुषले समयमा उपचार नपाए थैलीले आफ्नो लचकता पूरै गुमाउन सक्छ। यस्तो भएमा दुवै मिर्गौला फुल्ने र मिर्गौला फेल हुने हुन्छ। 

यस्ता बिरामीको शल्यक्रियापछि मुत्रथैलीबाट क्याथेटर (नली) निकालेपछि पनि तुरुन्त पिसाप फेर्न सक्दैनन्। उनीहरु पिसापको थैली भरी पिसाप जम्मा हुँदा पनि पिसाप लागेको अनुभव गर्दैनन् र पेटको तल्लो भागतिर असजिलो महसुस गर्छन्। फलस्वरूप थोपाथोपा पिसाप चुइने समस्या केही समय रहन सक्छ। 

त्यसैले मुत्रथैलीमा धेरै मात्रामा पिसाप न निख्रेको अवस्था हुनेगरी बिना उपचार बस्नु प्राण घातक हुन्छ। उनीहरुलाई मुत्रथैली केही मात्रामा भए पनि शक्तिशाली तुल्याउन एक महिना वा बढी मुत्रथैलीमा नली राख्नुपर्छ। 

रोग निदान

रोग निदानको मुख्य उद्देश्य प्रोस्टेट ग्रन्थी / वा मुत्रनलीको सुरुको भागको कारण मुत्रथैली निर्गम मार्गमा अवरोध उत्पन्न भएको छ वा छैन भनी यकिन गर्नु हो। यसका निम्ति सामान्य सोधपुछ, औँलाले प्रोस्टेटको जाँचदेखि लिएर जटिल आधुनिक यन्त्रबाट गरिने जाँचसम्म प्रयोग गर्नुपर्ने हुन सक्छ। यो सिलसिलामा छुटाउन नहुने जाँच हुन्:

•    प्रोस्टेट ग्रन्थीलाई औँलाले जाँचेर कडापन, गिर्खा, साइज इत्यादि सूचना पाउनु। 
•    पिसापको कल्चर-मुत्र संक्रमणबारे थाहा पाउनु। 
•    रक्त परीक्षण गरी मुख्यतः मिर्गौलाको काम गर्ने क्षमताबारे थाहा पाउनु। 
•    रक्त परीक्षणबाटै-पिएसएको स्तर निर्धारण-प्रोस्टेट क्यान्सरबारे स्क्रिनिङ सूचना पाउनु। 
•    अल्ट्रासोनोग्राफी (आवश्यक पर्दा मलद्वार भएर गरिने ट्रसयुएसजी)– प्रोस्टेटको नाप (साइज), ‍ग्रन्थी मुत्रथैलीभित्र धुसेको छ वा छैन, छ भने कति छ त्यसको लम्बाइ पत्ता लगाउनु। पिसाप फेरिसकेपछि मुत्रथैलीमा कति बाँकी रहन्छ, मुत्र बाहिनी नलीहरू र मिर्गौला फुलेका छन् वा छैनन् थाहा पाउनु। 
•    सिस्टोस्कोपी (दुरविन हालेर थैलीभित्र हेर्ने जाँच)- प्रायः मुत्र रक्त स्राव हुने बिरामीको लागि मात्र यो जाँच गरिन्छ। पिसाप थैलीको क्यान्सर छैन भनी जाँच्न यो विधि अपनाइन्छ। तर, क्यान्सर देखा परे त्यसको वायोप्सी गर्नु उपयुक्त हुन्छ। सिस्टोस्कोपी गर्नै परे मुत्रथैलीमा पत्थरी छ/छैन आदि सबै सूचना संकलन गरिन्छ। 
•    युरोफ्लोमेट्री- मुत्र लक्षणहरू मध्ये अवरोधक वा उत्तेजनात्मक लक्षण कसको भार बढी थाहा पाउनु। पिसापको मात्रा, गति, समय, उच्च प्रवाहको स्तर इत्यादि धेरै कुरा पत्ता लगाउन सकिन्छ।

उपचार

प्रोस्टेट ग्रन्थीको साइज जत्रै भए पनि मुत्र लक्षण नभएका पुरुषले कुनै पनि उपचार विधि अपनाउनुपर्दैन। मुत्र लक्षण भएमा सर्वप्रथम जीवनशैली परिवर्तनबाट उपचार सुरु गरिन्छ। 

जीवनशैली परिवर्तन

•    मुत्र लक्षणले चिन्तित भएका पुरुषले प्रोस्टेट ग्रन्थीको मापन सानो वा ठूलो जत्रै भए पनि चिकित्सकको सल्लाह लिएर व्याकुल पार्ने मुत्र लक्षण कमी गर्न विभिन्न उपाय अपनाउनुपर्छ। 
•    छिटोछिटो पिसाप हुने, पिसाप निख्रेको अनुभव नहुने, राती पिसाप फेर्न उठिरहनुपर्ने, पिसाप लागेपछि रोक्नै गाह्रो हुने पुरुषले सर्वप्रथम २४ घण्टामा आफूले प्रयोग गर्ने तरल पदार्थ तथा पानीको मात्रा समग्रमा २ लिटरभित्र नियन्त्रण गरेर हेर्नुपर्छ। 
•    बेलुका तरल पदार्थको मात्रा सक्दो कम गर्ने। 
•    कफी र रक्सी (खास गरेर वियर) को प्रयोगबाट टाढै बस्ने। 
•    पिसाप फेर्नलाई प्रसस्त समय दिएर पिसाप पूरा निखार्न कोसिस गर्ने। 
•    पिसाप फेरिसकेपछि अन्तमा मलद्वार र लिङ्गको बीचको भागलाई हलुकासँग थिचेर त्यो ठाउँमा बाँकी रहेको पिसाप निखार्ने। 
•    प्रत्येक पुरुषले यस्ता उपाय आफैं अपनाउन सक्ने भएकाले ढिलो नगरेर आत्मसात् गर्नुपर्छ। 
•    आफैं नसक्ने वृद्ध पुरुषलाई अरूले तरल पदार्थको उपयुक्त मात्रा दिएर सघाउनुपर्छ । 
•    तरल पदार्थको व्यवस्थापन तर्कसङ्गत तरिकाले गर्दा पनि तल्लो भागमा असुविधा तथा कष्टप्रद अनुभवबाट उन्मुक्ति पाउन नसक्ने पुरुषले औषधि उपचारमा प्रवेश गर्ने

औषधि उपचार

प्रोस्टेट संलग्न मुत्र लक्षणबाट मुक्त हुनका लागि पीडित पुरुषले चिकित्सककाँहा जानुपर्छ। त्यसको निम्ति सामान्यतया दुई प्रकारका औषधि प्रयोगमा ल्याउने गरिन्छ। 

•    मुत्रथैलीको घाँटी तथा मुत्रनलीको सुरुको भागका (प्रोस्टेटले घेरेर राखेको भाग) मांसपेशीलाई खुकुलो पार्न 'टामसुलोसिन' वा 'आल्फुजोसिन' वर्गका औषधि प्रयोग गरिन्छ। यी दुवै औषधि प्रायः सबैका निम्ति उही मात्रामा घटी-बढी नगरेर दिन मिल्छ। धेरै बिरामीले औषधि प्रयोग गरेको दिनदेखि नै पिसाप फेर्न केही सहज महसुस गर्छन्। 

•    अर्कोथरी औषधिको प्रयोग प्रायः प्रोस्टेट ग्रन्थी ४० ग्राम वा बढी हुँदा मात्र गरिन्छ। यसको फाइदा बिरामीले तुरुन्त थाहा पाउनेगरी हुँदैन। यी 'फिनसटेराइड' वा 'ड्युटास्टेराइड' वर्गमा पर्ने दुवै ‍औषधिको मात्रा पनि निश्चित हुन्छ। करिब ६ महिनाको प्रयोगपछि यसले ग्रन्थीको २० प्रतिशत तौल घटाउँछ। 

•    माथि उल्लेखित दुवै थरिका औषधिका केही नकारात्मक असर पनि छन्। मुत्रनली मांसपेशी खुकुलो पार्ने औषधिको प्रयोग गर्दा केही दिन सुरुमा ज्यादै चनाखो हुनुपर्छ। उठ्दा एक्कासी रिँगटा लाग्ने, पिसाब फेरिसकेपछि एक्कासी बेहोस हुने, कमजोरी महसुस हुने जस्ता साइड इफेक्ट भए औषधि बन्द गर्नुपर्छ। 

•    दुवै थरिका औषधिले वीर्य स्खलन रोक्ने, वीर्यको मात्रा घटाउने र यौन गतिविधिमा कमी ल्याउने जस्ता नकारात्मक असर पार्न सक्छन्। 

शल्य उपचार

•    बार-बार मुत्र संक्रमण भइरहने, मुत्र रक्तस्राव हुने, मुत्रथैलीमा पत्थरी हुने, पिसाप चुहिने, कनेर पिसाप फेर्नुपर्ने, पिसाप फेरिसकेपछि थैलीमा थुप्रै पिसाप बाँकी  रहने, पिसाप फेर्न नसक्ने र पिसापको थैली तन्केर मुत्र बाहिनी नली तथा मिर्गौला फुलेका बिरामीको शल्य उपचार अनिवार्य  हुन्छ। 

•    शल्य उपचारका धेरै विधि भए पनि मुत्र निर्गममा बाधा पुर्‍याउने ग्रन्थीको भाग हटाउनु र मुत्रथैलीको घाँटीलाई फराकिलो पार्नु शल्य उपचारको मुख्य उद्देश्य हो। 
•    चिकित्सकले आफ्नो तालिम, व्यक्तिगत अनुभव र उपलब्ध औजारका आधारमा कुन तरिकाले शल्यक्रिया गर्ने निर्णय लिनुपर्छ। 

•    बिरामी र चिकित्सकको परामर्शपछि कुन विधिबाट शल्यक्रिया गर्ने त्यसको छिनोफानो हुनुपर्छ। 
•    जुनसुकै तरिकाले शल्यक्रिया गरे पनि प्रायः शल्यक्रियापछि ८० प्रतिशत बिरामी वीर्य स्खलनबाट वञ्चित हुन्छन्। 

•    करिब ३-७ प्रतिशत बिरामीमा शल्यक्रियापछि मुत्रनलीको घाँटी वा मुत्रनली साँघुरिएर खोल्नुपर्ने हुन सक्छ। 
•    शल्यक्रिया अगाडि लामो समय पिसापको थैली तन्किएका, मधुमेहका कारण मुत्रथैली निस्क्रिय भएका र दिसा कब्जियत भइरहने बिरामीहरूमा शल्यक्रियापछि एक-डेढ महिना वा बढी मुत्रथैलीमा क्याथेटर (नली) लगाउनुपर्ने हुन सक्छ। 

•    शल्यक्रिया कुन उमेरमा गर्नुपर्छ? भन्ने प्रश्न धेरैले गर्छन्। पुरुषलाई जुन उमेरमा प्रोस्टेट ग्रन्थी संलक्षण देखा पर्छ र मुत्र अवरोध हुन्छ त्यही उमेरमा शल्यक्रिया गर्न मिल्छ। बिरामीको शरीरमा भएका अरू रोगको राम्रो अध्ययन गरेर शल्यक्रियाको निम्ति नभई नहुने पूर्ण तयारी भएपछि उमेरले कुनै छेकबार लगाउँदैन।

(प्राडा भट्ट मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, चावहिलका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live