मुख्य समाचार

केयु उपकुलपति र डिनको बर्खास्ती लगायतका मागसहित डा केसीको अनशन सुरु (४ बुँदे माग)

img

डिबी खड्का

१३ औं अनशनका बारेमा जानकारी गराउँदै डा गोविन्द केसी । तस्बिर: निमेष जंग राई


काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै १२औं पटक आमरण अनशन बसिसकेका डा गोविन्द केसीले आजबाट १३औं अनशन सुरु गरेका छन्। 

संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामाकण्ठ मकाजू र डिन डा राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै डा केसीले आज साँझ ५ बजेबाट अनशन थालेका हुन्। माफियासँग मिलेमतो गरेर अरबौँ रकम चलखेल गरेको भन्दै उनीहरुलाई बर्खास्त गर्न माग गरेको डा केसीले बताए।

यस्ता छन् डा केसीका ४ बुँदे माग

१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 

२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजु तथा उपकुलपति रामकण्ठ माकजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् । 

३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् । 

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–इलाम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live