मुख्य समाचार

डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा बढाउन छलफल

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन गर्न गठित समितिले डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा सुविधा बढाउन छलफल अगाडि बढाएको छ।

समितिले स्थायी, अस्थायी र करारमा रहेका सबैका लागि उपयुक्त हुने गरि छलफल अगाडि बढाएको हो। छलफलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, निजामति अस्पताल र छिमेकी देशका अस्पतालहरुले उपलब्ध गराइरहेका पारिश्रमिक र सेवा सुविधालाई आधार मानेर छलफल अगाडि बढाएको समितिका सदस्य डा प्रकाश बढुथोकीले जानकारी दिए।

‘सबै मोडलहरुमा छलफल भैरहेको छ,’ उनले भने, ‘तिमध्ये सबैभन्दा राम्रो र उपयुक्त मोडलको व्यवस्था राख्ने विषयमा लगभग सहमति भएको छ।’ उनले पारिश्रमिक र सेवा सुविधाको विषय भोली बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले गत ८ गते मन्त्रालयकी प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा मन्त्रालयकी नर्सिङ शाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई, उपसचिव भवनाथ खतिवडा, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा दिलीप शर्मा, चिकित्सक संघका प्रतिनिधि डा प्रकाश बुढाथोकी, उपभोक्तका तर्फबाट बाबुराम हुमागाई र मन्त्रालयको कानुनका उपसचिव सदस्य छन्। छलफलमा चिकित्सक संघबाट डा अनिल कार्की लगायत आयुर्वेद, नर्स र प्राविधिकका तर्फका प्रतिनिधि समेत सहभागि छन्।

समितिले स्वास्थ्य संस्था तथा अस्पतालमा आक्रमण गर्नेलाई कम्तीमा तीन महिना जेल सजाय हुने र धरौटीमा समेत छुट्न नपाउने व्यवस्था राख्ने विषय टुंगाइ सकेको छ। यसका साथै उपचारका क्रममा हुने लापरबाहीलाई वर्गिकरण गर्न डा हरिहर वस्तीको संयोजकत्वमा समिति बनाउने विषय पनि टुंगो लगाएको छ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live