डक्टर्स आर्टिकल

जन्डिसबारे ९ प्रश्नमा डाक्टर भट्टराईको उत्तर

डा सुबास भट्टराई

जन्डिस भनेको के हो? के जन्डिस आफैंमा कुनै रोग हो?

जन्डिस भनेको शरीरमा पहेलो तत्व (बिलिरुबिन)  बढेको अवस्था हो।

भ्रम: यो आफैंमा एउटा रोग हो। एकदमै मुख बार्नुपर्ने रोग। मुख राम्ररी बार्न नसके बल्झिरहन्छ।

यथार्थ: यो आफैंमा कुनै रोग होइन। यो त मात्र कलेजोको रोगको लक्षण हो। जसरी ज्वरो आफैंमा रोग होइन, हो त्यस्तै कलेजो सुन्निएको वा कलेजोमा रोग लागेको छ है भन्ने संकेत हो। यस्तै, पित्तथैलीमा पत्थरी हुँदा पनि जन्डिस देखिन सक्छ।

जन्डिस हुनुका मुख्य कारण के हुन्?

. हेपाटाइटिस ए, ई र थाइराइट। कारण फोहोर पानी।

. पित्तथैलीमा पत्थरी।

. रक्सी सेवन र कलेजो रोग।

उचित उपचार गरे जन्डिस निको हुन्छ। मुख बार्न मात्र लागाएर उल्टो बेफाइदा हुन सक्छ।

जन्डिसमा के-के लक्षण हुन्छन्?

खान मन नलाग्ने,

बान्ता हुने,

मुख मीठो नहुने

आलस्य,

कमजोरी,

पहेँलो पिसाब आउने,

आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने,

करङमुनिको दाहिने भाग (कोखा) दुख्ने। आदि।

जन्डिसमा के-के जाँच गर्ने?

. रगतबाट सिबिसी र एलएफटी,

. पिसाब बाट युरिन आरई र एमई,

. युएसजी (पेटको भिडियो एक्स रे),

. चिकित्सकको सल्लाह अनुसार अन्य जाँच।

माथि उल्लेखित जन्डिसका कुनै पनि लक्षण नभएको तर धेरै मानिसले बुझ्ने गरेका कुरा यस्ता छन्।

१. रगत जाँच्दा जन्डिस देखियो।

. जति मुख बार्दा नि, रगतमा बिलिरुबिनको मात्र नर्मल नै आएन।

. मलाई लामो समयदेखि जन्डिस छ। मुख सार्है नै बार्छु तर रगतमा बिलिरुबिन कम हुन्न। आदि।

समाधान के त?

जन्डिसका लक्षण छन् र रगतमा पनि बिलिरुबिन उच्च छ कि छैन; यो बुझ्नु जरुरी छ। जन्डिसका लक्षण नहुँदा पनि बिलिरुबिन केही उच्च रहिरहन सक्छ। एलएफटी जाँचमा रगतको बिलिरुबिनसँगै एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) भन्ने जाँच पनि हुन्छ। यो सामान्य छ भने आतिनुपर्दैन।

कति अवस्थामा जन्डिसका लक्षणहरु केही पनि हुँदैनन् तर, जति पटक रगत जाँच्दा पनि बिलिरुबिन २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ। यस्तो अवस्था धेरै भेटिन्छ। यो जन्डिस वा कलेजोको रोग होइन। जन्मजात नै कसैकसैको बिलिरुबिन अरुको भन्दा हलुका माथि हुन्छ। यिनीहरुमा जन्डिसको लक्षण केहि पनि हुँदैन तर रगत जाँच्दा बिलिरुबिन  २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ।

कम पानी पिउँदा, अनिद्रामा, बढी मासु खाँदा, शारीरिक काम बढी गर्दा बिलिरुबिन अरु बेलाको तुलनामा बढ्न सक्छ। तर एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सधैं सामान्य हुन्छ। यसलाई गिल्बर्ट सिन्ड्रोम भनिन्छ। अरु बेला जस्तो जन्डिस भन्दै उपचार गराउँदै हिँड्नुपर्दैन। यस्तो अवस्था आएमा पानी बढी खाने बानी बसाल्नु राम्रो हो।

लामो समयसम्म जन्डिस देखिने मुख्य कारणहरू के-के हुन् त?

. रक्सी सेवन र कलेजो रोग,

. हेपाटाइटिस बी, सी (रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, सुईबाट लागू औषध प्रयोग गर्नेहरुबाट, र आमाबाट सन्तानमा सर्ने),

. सिरोसिस (कलेजो बिग्रिएपछि)।

उपचार कसरी गर्ने?

जन्डिसको उपचार गर्ने होइन। यो त ज्वरो आउँदा सिटामोल खाएको जस्तो भयो। जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुपर्छ। पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र उपचार गराए निको नि हुन्छ। बल्झिरहन्छ भन्ने समस्या पनि रहँदैन। शुद्ध पानी बढी सेवन गर्नुपर्छ।

जन्डिसबारे कस्ता-कस्ता भ्रमहरु छन्?

१. लिभर टनिकबाट जन्डिसको सफल उपचार हुन्छ।

. लिभर टनिक खाएपछि रक्सी पनि पिउन हुन्छ।

३. लिभर टनिक खाएपछि कलेजो बिग्रिँदैन।

के बार्ने के नाबार्ने?

भ्रमहरू

१. बेसार खाएमा जन्डिस बढ्छ, नुन खानु हुँदैन।

२. जे पनि उमालेको मात्र खानुपर्छ।

३. तरकारी पकाउँदा पनि तेल प्रयोग गर्नु हुँदैन।

वास्तविकता

१. पानी बढी पिउने। तर पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।

२. मुख नमीठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने भनिएको हो। फलफूलको जुस पानीको विकल्प हुनुका साथै स्वादिलो र तागतिलो हुन्छ। कलेजोलाई असर पनि गर्दैन। सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा हुन्छ।

३. नियमित बिहान-बेलुका दालभात खान मिल्छ। तरकारी पकाउन थोरै मात्रामा तेल प्रयोग गर्न हुन्छ। तर, तेलमा फ्राइ गरेको र तारेको खानु हुँदैन। यस्तै, जंकफुड, मःमः, चाउमिन जस्ता फास्टफुड खानु हुँदैन।

४. कोक, पेप्सी जस्ता पेयपदार्थ खानु हानिकारक हुन्छ।

५. खाजा नियमितझैं खान मिल्छ।

६. कति पटक त यो नखाने, त्यो नखाने भनेर बिरामीले पौष्टिक तत्व नै पाउँदैनन्। जन्डिसले भन्दा पनि खाना नपाएर बिरामी कमजोर हुँदै जान्छ। जसका कारण धेरै बिरामी ग्यास्ट्राइटिस र अल्सर भएर उपचार गर्न आइपुग्छन्।

तसर्थ, जन्डिस भयो भनेर चाहिँदो नचाहिँदो मुख बार्ने र डाक्टरकहाँ नभई झारफुक र अन्य उपचारको पछि लाग्ने बिरामीले कालान्तरमा धेरै दुःख पाउन सक्छन्।

(डा भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live