मुख्य समाचार

पहिलो पुस्ताकी नर्स डा उमादेवी दासको निधन (विशेष सामग्रीसहित)

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पहिलो पुस्ताकी नेपाली नर्स डा उमादेवी दासको निधन भएको छ । उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली पहिलो नर्सका रुपमा ल्हामू अमात्यलाई सरकारले मान्यता दिएपनि नेपालीकी छोरीका रुपमा पहिलो नर्स दासलाई मानिन्छ । नेपाली नागरिकसँग विवाह गरेर आएकी अमात्यलाई सरकारले पहिलो नर्स केही महिनाअघि मात्रै घोषणा गरेको हो । त्यसअघि दासलाई पनि पहिलो नर्स मानिन्थ्यो ।  दास नेपाल नर्सिङ एशोसियसनकी पहिलो अध्यक्ष समेत हुन्। 

उनलाई भेटेर स्वास्थ्यखबरले केही समयअघि तयार पारेको सामग्रीः

डा दासको सावर्जनिक जीवन २००४ सालमा सुरु हुन्छ । त्यतिखेरका श्री ३ महाराज पद्मशमशेरले छात्राका लागि छुट्टै स्कुल खोल्न चाहेछन् । स्कुलमा छात्रा त चाहिन्थ्यो नै, शिक्षिका पनि चाहिन्थ्यो । तत्कालीन एजुकेसन डाइरेक्टर मृगेन्द्रशमशेरले प्रख्यात शिक्षासेवी ठाकुरदास मास्टरजीलाई गुहारे।

ठाकुरदासले विन्ती गरे, ‘केका लागि होला हजुर ?’ डाइरेक्टरले भने, ‘हामी पद्मकन्या स्कुल खोल्दैछौं । तपाईंकी छोरीलाई पढाउन पठाइदिनुपर्‍यो।’

यसरी १६ वर्ष पनि नपुगी २००४ जेठ ३ गते उमादेवी दास क्षेत्री मास्टर्नी भइन् श्री ३ महाराजलाई दाम राखेर । पद्मकन्यामा एक बंगाली महिला हेडमिस्ट्रेस थिइन् । १० जना बूढा मास्टर र तीनजना मास्टर्नी थिए । उमाले नेपाली र हिसाब पढाइन् । उनका साथी विमलाले संगीत र नीरकुमारीले सिलाइबुनाइ सिकाए।


त्यतिखेर महिनाको ३२ रुपियाँ तनखा आउँथ्यो । पद्मकन्याको छुट्टै भवन थिएन । दरबार हाइस्कुलमै बिहान ६ बजेदेखि ९ बजेसम्म पठनपाठन हुन्थ्यो । कन्याहरु स्कुल आउने बेला भोटाहिटीको रातो गेटमा जात्रा लागेजस्तो हुन्थ्यो ।

सहरबासी पुरुष छोरीचेली पढाउने कुराको समर्थनमा थिएनन् । जनमानसमा छोरा पढे डाइभर हुन्छन्, छोरी पढे नर्स बन्छन् भन्ने धारणा थियो । तिनले छात्रा र मास्टर्नीहरुलाई पनि हतोत्साही पारेपछि दरबार स्कुलको ढोकामा रोजिन्दै चार, पाँचजना प्रहरी तैनाथ हुन्थे ।

त्यतिबेलासम्म उमादेवीले कुनै शिक्षालय टेकेकी होइनन् । औपचारिक डिग्री पनि थिएन । त्यतिखेरको बन्द समाजमा राणा शासकका आसेपासेबाहेक सर्वसाधरणले पढ्न पाएका थिएनन् । छोरीचेली चुलोचौकामै सीमित थिए ।

उमाले होम स्कुलिङ पाइन् । पिताजी कति शिक्षाप्रेमी थिए भने उनले आफ्नामात्र नभएर छरछिमेकका छोरीबुहारीलाई घरमा लेखपढ गराए । पछि उमाले पनि पढाइन् । वनारस हिन्दु विश्वविद्यालयबाट बीए, विसारद गरेका ठाकुरदास कोलकाताबाट आउने अखबार ‘स्टेट्सम्यान’ छोरीहरुलाई पढ्न लगाउँथे र सुन्थे । छोरीहरुलाई छोरासरह शिक्षा दिनुपर्ने उनको धारणा थियो ।

लौ त भनुँ भने उनी सबै राणाजीहरुका गुरु हुन् । उनले ट्युसन नपढाएका राणा कमै होलान् । महात्मा गान्धीका अनुयायी ठाकुरदास स्वदेशी खद्दरको लुगा लगाएर चराले झैं हल्का पाइला चालेर हिँड्थे । उनले आजन्म खद्दरबाहेकका लुगा लगाएनन् । डिल्लीबजारको बारीमा कपास रोपी धागो काती घरमै खेस कपडा बुनी बाहिरी र भित्री लुगा आफैं सिलाउँथे । १९९० सालमै भक्तपुर हाइस्कुलका हेडमास्टर भएका उनी पजनी (खोसुवा) मा परेका थिए ।
पद्मकन्याको स्कुले वातावरणबाट वाक्क भइन् उमा । त्यसको एकाध वर्षपछि सरुवा भइन् घरनजिकैको विजय मेमोरियल स्कुलमा । २००९ सम्म त्यो क्रम चल्यो । आयुर्वेद, होमियोप्याथी, एलोप्याथी र हकिमतर्फ  पनि सामान्य ज्ञान भएका उनका पिता अभर पर्दा साइकलमा औषधिउपचार गर्न पनि पुग्थे ।

एक दिन उनले एउटी छोरी नर्स बनेको सपना देखेछन् । त्यो सपना कि उमाले पूरा गर्नुपथ्र्यो, कि त उनकी माइली दिदी लीलाले । हुन पनि सन् १८५४ मा बेलायत–रुस युद्धको समय हुँदा इटालीमा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले टर्कीको मिलिटरी हस्पिटलमा मैनबत्तीको उज्यालो लिएर घाइते सिपाहीको सेवासुश्रुषाले ठाकुरदासको मथिंगल हल्लाइदिएको थियो । उनको विशुद्ध सेवा भावनाको उच्च मूल्यांकन गर्दै बेलायत सरकारले ’नेसनल हिरोइन‘ को उपमा दियो र पछि गएर सारा विश्वकै आदर्श बन्न पुगिन् ।

मौका चानसले एक सरकारी अधिकारीसँग भेट भयो । उनले ठाकुरदासलाई भनेछन्, ‘मिसनरी अस्पताल फत्तेगढ (उत्तर प्रदेश) बाट नर्स/मिडवाइफको चारवर्षे तालिमका लागि दुइटा कोटा आएको छ । कोही छ भने सम्पर्क गराइदिनुस् न ।’ त्यही कुरा त्यतिखेरका स्वास्थ्य मन्त्री रहेका गुरुङ थरका मन्त्रीले पनि दोहोर्‍याएछन् ।

त्यसो त नर्स बन्ने कुनै रहर थिएन उमाको । बरु उनलाई भारत घुम्न मन थियो । वनारसमा रहेकी बज्यै र दिल्लीमा बिहेवारी भएकी दिदीसँग भेट्न मन लागेको थियो । छोरीलाई नर्स बनाउने कुरामा आमा गम्भीरकुमारी पनि सहमत भइनन् त्यति टाढा कहाँ छोरीलाई पठाउने भनेर । तर पिताजीका अगाडि तिनको के लाग्थ्यो र ?

भोलिपल्टै उमा स्वास्थ्य मन्त्रीकहाँ हाजिर भइन् । उनले साथी खोज्ने जिम्मा पाइन् । उनकी साथी थिइन्, रुक्मिणीचरण श्रेष्ठ । कम्पाउन्डरकी छोरी रुक्मिणी तयार नहुने कुरै थिएन । यसरी रक्सौल नकाटेका उमा र रुक्मिणी जनही २ सय ५० रुपियाँ सरकारी बाटोखर्च लिएर भीमफेदी हुँदै वनारस पुग्दा बज्यै रोइन् । नातिनीलाई पाल्न नसकेर नर्स बनाउन पठायो भनेर छोरासँग रिसाइन् पनि ।


पिताजीले नक्सा बनाएर नर्सिङ पढ्ने ठाउँ देखाउनुभएको थियो,’ उनी सम्झिन्छिन्, ‘दिदीबाट यति टाढा, बज्यैबाट यति टाढा भनेर ।’

यो इतिहास हो, २००९ सालको । बज्यैले बनारसबाट एउटा साथी पनि पठाइदिइन् । कानपुरभन्दा ६ गाउँ उत्तर दिल्ली र अहमदावादको बीचमा रहेको फत्तेगढ पूरै मुस्लिम बस्ती रहेछ । जुलाईको गर्मीमा बिजुली बत्ती पनि थिएन । खान बस्नका लागि महिनाको भारु ७ रुपियाँ आउँथ्यो । त्यहाँको कलेजमा पुग्ने पहिलो हिन्दु छोरी रहेछन् उनीहरु । गरिबलाई क्रिस्चियन बनाउने ब्रिटिस मिसन मान्थे त्यसलाई ।

किन किन उनलाई त्यहाँको रहनसहन पटक्कै चित्त बुझेन । एक दिन त कक्षामा पनि गइनन् । बरु पोकापन्तरा बाँध्न थालिन् । स्कुल अफ नर्सिङ, मेमोरियल हस्पिटल फत्तेगढकी अमेरिकन प्रिन्सिपल वानिताले उनलाई बोलाउन पठाइन् । चिया र केक खान दिइन् । अनि सोधिन्, ‘क्लासमा किन नआएको ?’ उमाले भनिन्, ‘म दादीकहाँ जान्छु वनारस । यहाँ बस्दिनँ ।’

प्रिन्सिपलले फकाईफुल्याई गरिन् र उमाको मनस्थिति पूरै परिवर्तन गरिदिइन् । वानिताले भनेको कुरा अझै पनि उमादेवीको कानमा गुन्जिरहेको छ, ‘यु विल बी फस्र्ट नर्स इन नेपाल ।’ नभन्दै भयो पनि त्यस्तै ।

नर्सिङमा अब्बल सावित भइन् उमा । हरेक परीक्षामा उनै फस्र्ट आइन् । वानिता भन्न थालिन्, ‘तिमी भविष्यमा बेस्ट नर्स हुन्छौ ।’ वानिता फत्तेगढबाहिरका हरेक निम्तामा उनलाई नै लिएर जान्थिन् । पटनादेखि राजस्थानसम्म पुगिन् उनी । तीनवर्षे कोर्स र एक वर्षे इन्टर्नसिप सकेलगत्तै चाँडै फर्कन नेपाल सरकारले पत्र पठाएछ ।

वानिताहरुले भने उनलाई अझै एक वर्ष बस्यौ भने अमेरिकाको रिभरसाइट चर्च (कोलम्बिया) मा पढ्न पठाउने भनेका रहेछन् । तर, सन् १९५२ देखि १९५६ सम्म रजिस्टर्ड नर्स एन्ड रजिस्टर्ड मिडवाइफ बनेर उमा फर्किन् ।

त्यतिखेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नर्सिङ ट्रेनिङ स्कुल खोल्न लागेको रहेछ नेपालमा । २०१३ सालमा १० विद्यार्थीलाई लिएर नेपालमा औपचारिक रुपमा नर्सिङ अध्ययनको सुरुआत हुन पुग्यो । त्यहाँ उनले सिनियर नर्स ट्युटर, सुपरिटेन्डेन्ट र नेसनल डाइरेक्टर नर्स भएर काम गरिन् । सन् १९५७ देखि ७२ सम्म त्यहीँ बित्यो । उनले उताबाट आएपछि उनै प्राइभेट म्याट्रिकुलेसन (एसएलसी) गरेकी हुन् ।

त्यतिबेला शान्त भवन अस्पतालमा नेपाली नर्स थिएनन् । भएका नर्स सबै विदेशी । सुरेन्द्र भवनमा स्कुल अफ नर्सिङ बस्यो । पछि क्षेत्रपाटीको श्रेष्ठ निवासमा सर्‍यो । उनी व्यावहारिक तालिमका लागि विद्यार्थी लिएर वीर अस्पताल पुग्थिन् । यस क्रममा उनले थोरै समय ल्हामु अमात्यसँग पनि काम गरेकी थिइन् । दाजिर्लिङमा जन्मिएर कोलकाताबाट नर्सिङ सुरु गरेकी ल्हामुको राजदरबारसँग राम्रो हिमचिम थियो ।

त्यसो त १९८५ सालमा चन्द्रशमशेरको पालामा विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई प्रसूति सेवासम्बन्धी डेढवर्र्षे तालिमका लागि भारत पठाइएको सरकारी अभिलेख पनि छ । त्यसअघि विदेशबाट नर्स झिकाएर राजपरिवार तथा विशिष्ट घरानाको सेवामा लगाउने चलन थियो ।

उमाले पन्जाब युनिभर्सिटीअन्तर्गतको कलेज अफ नर्सिङ पोस्ट ग्य्राजुएट इन्स्टिच्युट चन्डीगढबाट बीएस्सी नर्सिङ (पोस्ट बेसिक) गरिन् । संयोग के भने उनलाई पहिले हाँ पठाउने भनिएको थियो, त्यहाँ गएर नर्सिङमै एमए र एमएडको उपाधि पनि लिइन् । कोलम्बिया युनिभर्सिटीको टिचर्स कलेज न्युयोर्कबाटै सन् १९८४ मा डक्टर अफ एजुकेसन इन नर्सिङ उपाधि लिइन् । उनको विद्यावारिधिको थेसिस थियो, गाइडलाइन फर सेलेक्टिङ प्राइमरी हेल्थ केयर नर्सिङ कन्टेन्ट फर प्रोफेसनल नर्सिङ प्रोग्राम इन नेपाल । उनी नेपालमै नर्सिङको पहिलो पीएचडी हुन् ।

२०२९ सालमा नयाँ शिक्षा योजना लागू भई सम्पूर्ण नर्सिङ स्कुल, कलेज त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा गाभिए । जापानी सहयोगमा बनेको नर्सिङ क्याम्पस खुल्यो । त्यसको पहिलो प्रिन्सिपल हुने संयोग उनलाई जु¥यो । सन् १९७२ देखि १९८० सम्म नर्सिङ क्याम्पसको प्रमुख रहिन् ।

सुरुमा महाबौद्धमा रहेको क्याम्पस पछि मात्रै महाराजगन्जमा सरेको हो । सन् १९८४ देखि १९८७ सम्म चिकित्साशास्त्र अध्ययन संस्थान फिल्ड एजुकेसन प्रोजेक्टको कोअर्डिनेटरको जिम्मेवारी सम्हालिन् । सन् १९९६ मा उनले प्रोफेसर भएर अवकाश लिइन् ।

नर्सिङ क्याम्पसका प्रारम्भिक वर्षमा विद्यार्थी जुटाउनै मुस्किल भयो । राजधानीबाहिर रिक्रुट गर्न जानुपथ्र्यो । नर्सिङप्रति जनमानस सकारात्मक भइसकेको थिएन । यो पेशा मर्यादित हो भनेर देखाउन राजा महेन्द्रले आफ्नी कान्छी बुहारी प्रेक्षा शाहलाई नै नर्सिङ पढ्न पठाए ।

‘प्रेक्षा ल्याउन, लैजान अधिराजकुमार धीरेन्द्र नै गाडी लिएर आउँथे,’ उनी सम्झिन्छिन्, ‘मैले उनलाई राजकुमारी भनेर अलग्गै राखिनँ । अरुसँगै बसेर परीक्षा दिलाएँ । मसँग अलि डराउँथिन् पनि ।’ बुहारी प्रेक्षाको तीनवर्षे तालिम र ६ महिना अभ्यास गरेपछि टोपी वितरण कार्यक्रममा रानी रत्न नै आएकी थिइन् ।

राजा महेन्द्रले उमालाई नजिकबाट चिन्थे । कहिलेकाहीँ सोध्थे, ‘भेरीबाट रिक्रुट किन नगरेको  ?’ एकपटक दिल्लीमा भेट्दा उनले भनेछन्, ‘तिमी त दुब्लो थियौ । अहिले त मोटाइछौ ।’ राजा महेन्द्रकी आमा कान्तिको मिर्गौला समस्या भएर वीर अस्पताल आएका बेला उमालाई चिनाइदिन खोजेछन् डा. गौरीशंकरलाल दासले । एलिफेन्ट मेमोरी भएका राजाले भनिहाले, ‘उहाँलाई म चिन्छु । डिल्लीबजारका ठाकुदास मास्टरकी छोरी होइन ?’

राजपरिवारसँग उनको घनिष्टता कस्तो थियो भने तत्कालीन युवराज वीरेन्द्रको बिहेमा पनि निम्त्याइएकी थिइन् उमा । विवाहमा उनी एक्लो महिला जन्ती भइन् । 

२०५२ सालमा पहिलोपटक नेपाल नर्सिङ काउन्सिल गठन हुँदा  पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य मन्त्री थिए । उनले नै नर्सिङ काउन्सिलको अध्यक्षमा प्रस्ताव गरे । उनी दुई कार्यकाल लगातार त्यहाँ रहेर काम गरिन् । उनकै कार्यकालमा विभिन्न विश्वविद्यालय तथा संस्थाहरुबाट नर्सिङ शिक्षा लिएकाको गुणस्तर मापनका लागि लाइसेन्स परीक्षा प्रारम्भ भयो । 


नर्सिङको हरेक क्षेत्रमा उमाको उत्तिकै योगदान छ । वीर अस्पतालमा नर्सिङ मेट्रोन भएर बिरामीको सेवा दिइन् भने नर्सिङ ट्रेनिङ स्कुलदेखि नर्सिङ क्याम्पससम्मको नेतृत्व लिएर शिक्षा दिइन् । नर्सिङ शिक्षाको गुणस्तर नियमनकारी संस्था नर्सिङ काउन्सिलको संस्थापक अध्यक्ष भएर पनि काम गरिन् ।

‘अब नर्सिङमा पनि डा. गोविन्द कोसीजस्तै कोही चाहियो,’ उनी भन्छिन्, ‘हिजोआज नर्सिङ भनेको त अस्ट्रेलिया र क्यानडाको भिसा जस्तो मात्र भयो ।’ नयाँ पुस्ताका नर्ससँग पनि उनले त्यति भरोसा गर्न सकेकी छैनन् । ‘नर्सिङ भनेको ड्युटीमात्र होइन, सेवा हो । अहिले नर्स त चाँडै गर, राउन्ड आयो भन्नेमात्र देख्छु,’ उनको टिप्पणी छ, ‘अहिलेका नर्स बिरामीलाई भन्दा अरुलाई नै महत्व दिन्छन् । लोग्ने, छोराछोरी, पैसा, परिवारको तनावमा छन् । अनि कसरी नाइटिङ्गेलजस्तो होऊन् ?’ बरु केही वर्ष अगाडि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ बस्दा उनलाई डाक्टरै नर्सजस्तो लाग्यो अरे ।

उनका सोख खासै भएनन् । रेडियो नेपालको स्थापनाताका केही गीत गाइन् । ती गीत रेकर्ड भने भएनन् । त्यसका लागि भारत जानुपथ्र्यो । मास्टर्नी भएपछि त्यो क्रम टुट्यो । उनी आफ्नो पेसामा यस्तरी डुबिन् कि घरजम गर्ने समय नै पाइनन् । ‘म आफ्नो काममै सन्तुष्ट भएँ, एकपछि अर्को अवसर पाएँ, संसार घुमें,’ उनी भन्छिन्, ‘विवाह गरेको भए अहिलेका सबै चिज कहाँ पाउँथे र ?’ कुनै ठाउँमा सफलता पाउने हो भने केही न केही त्याग गर्नैपर्ने उनको अनुभव छ ।

खासमा ठाकुरदासका चार छोरीमध्ये साइँली हुन् उमा । उनकी माइली दिदी लीलादेवी केसी होम साइन्सकी पहिलो पीचएडी हुन् । उनले पनि घरबार गरिनन् । कान्छी बहिनी चन्दादेवी प्रख्यात गायिका हुन् । अहिले अमेरिका छन् । एक्ला भाइ वेदव्यास क्षेत्रीले कानुन मन्त्रालयको सचिव र लोकसेवा आयोगको सदस्य रहेर अवकाश पाइससकेका छन् ।

उनका पिता गीत लेख्थे, लय हाल्थे । २००७ सालमा राजा त्रिभुवन सपरिवार भारतबाट फर्केर आउँदा एयरपोर्टमा स्वागत गर्न जाँदा बहिनी चन्दादेवीसँग गाएको गीत उनलाई अझै कण्ठस्थ छ :
नेपालीका वीर त्रिभुवन
तिमीले तोड्यौ युगको बन्धन
नेपालीका वीर त्रिभुवन…
यो गीतमा श्यामदासको शब्दमा लय हालिदिएका थिए ठाकुरदास (बागेश्री) ले । चन्दादेवीले जनार्दन समसँग गाएको गीत ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली…’ पनि प्रसिद्ध छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live