डक्टर्स आर्टिकल

फैलँदै छ डेँगु, काठमाडौंमा पनि खतरा

शेरबहादुर पुन

काठमाडौंका विभिन्न अस्पतालबाट आएका र टेकु अस्पतालमै भर्ना भएका वा बहिरंग विभागबाट आएका ज्वरोका बिरामीको रगत जाँच गर्दा झन्डै डेढ सय भन्दा बढीमा डेँगु संक्रमण देखा परिसकेको छ। यीमध्ये अधिकांश बिरामी लालबन्दी (सर्लाही) र बर्दिबास (महोत्तरी) का छन्। त्यहाँ डेँगु प्रकोप उच्च बिन्दुमा पुगेको देखिन्छ। 

हाल धादिङमा पनि डेँगु फैलँदै गएको छ। भर्खरै सर्लाहीको हरिऔनमा पनि डेँगुले व्यापक रुप लिइरहेको त्यहाँबाट उपचारका लागि आएका बिरामीको संख्याले बताउँछ। त्यहाँ गत बर्ष पनि डेँगुले महामारीको रुप लिएको थियो।

हाल सम्बन्धित निकायहरुले लालबन्दी र बर्दिबासमा लामखुट्टे खोजी गर्ने र त्यसको बासस्थान नष्ट गर्ने कामलाई तीव्रता दिएको बताइरहेको छ र यो आवश्यक पनि छ। तर, जहिले पनि महामारीको रुप लिएपछि मात्र लामखुट्टे नष्ट गर्ने चलनले डेँगु संक्रमण हुनबाट धेरै सर्वसाधारणलाई बचाउन ढिलो हुने गरेको अथवा धेरैभन्दा धेरै संक्रमित हुने गरेका छन्। 

कमसेकम हरेक वर्ष डेँगु देखापरिरहने स्थान वा एडिस जातका लामखुट्टे भएका स्थानमा नियन्त्रणको पूर्व तयारी गरेको भए धेरै हदसम्म संक्रमण कम गर्न सकिने थियो। तर, यो काम सरकार एक्लैको हो भनेर कुर्नु भन्दा पनि डेँगु फैलने समयमा त्यहाँका स्थानीय स्वयंसेवकले नै डेँगु सम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्छ। जस्तै, स्कुले विद्यार्थीलाई जानकारी गराउने, स्थानीय एफएम रेडियो मार्फत जनचेतना फैलाउने, सडक नाटक गर्ने आदि काम हुन सक्छन्।

लालबन्दी, हरिऔन र बर्दिबासका बिरामीका अनुसार त्यहाँ डेँगु जाँच गर्ने पर्याप्त कीट र स्वास्थ्यकर्मीको अभाव छ। यो समस्याको समाधान भने सम्बन्धित सरकारी निकायले गर्नुपर्छ। 

काठमाडौँमा किन बढी जोखिम?

काठमाडौँमा डेँगु फैलाउने एडिस जातको लामखुट्टे प्रसस्त मात्रामा रहेको इपिडिमियोलोजी महाशाखाले केही वर्षअघि नै सार्वजनिक गरिसकेको छ। काठमाडौं नेपालकै बढी जनघनत्व भएको सहर हुनुले पनि सबैभन्दा बढी चिन्ताको विषय भएको हो। जहाँ लामखुट्टे व्यापक हुन्छ र मानिसको घनत्व उच्च हुन्छ त्यहाँ कुनै पनि समय डेँगुले महामारीको रुप लिन सक्ने सम्भावना उच्च हुन्छ। 

काठमाडौँमा सवारी साधनको अत्यधिक चाप हुनु र ती सवारी साधनबाट फालिएका रबरका टायरहरुको राम्रो व्यवस्थापन गर्न नसक्नु, जथाभावि फालिएका ड्रम तथा प्लास्टिकका समान यत्रतत्र हुनुले पनि लामखुट्टे आगामी दिनमा काठमाडौँमा व्यापक हुनेसक्ने अनुमान गर्न सकिन्छ। फलस्वरूप डेँगुको महामारीको सम्भावना बर्सेनि बढ्दै गएको देखिन्छ। 

हालसालै काठमाडौँ बाहिर नगएकी एक २७ वर्षीया महिलामा डेँगुको संक्रमण देखिएको छ। कति त जानकारीमा नै नआएका पनि हुन सक्छन्। यसलाई जोखिमको पूर्वसंकेत मान्न सकिन्छ। 

लगभग दुई महिना अगाडि सर्लाहीमा डेँगु देखिएपछि त्यसको केही हप्तामै लालबन्दीमा डेँगुले महामारीको रुप लियो। सयौं बिरामी टेकु अस्पतालमा भर्ना भए। अहिले पनि बिरामी आउने क्रम जारी छ। यस्तै अवस्था काठमाडौँमा पनि नआउला भन्न सकिँदैन। काठमाडौँमा तराईका जिल्लामा भन्दा लामखुट्टेको संख्या कम छ भनेर ढुक्क हुँदै गर्दा अप्रत्यासित रुपमा डेँगुले स्वास्थ संकट निम्त्याउँदै भन्न सकिँदैन।

खासगरी सर्लाही, महोत्तरी र अझ काठमाडौंको छिमेकी जिल्ला धादिङबाट धेरै बिरामी उपचारका लागि आउने गरेका छन्। संक्रमित भएको केही दिन बिरामीमा डेँगु भाइरस रहने भएकाले त्यस्ता संक्रमित व्यक्तिलाई यहाँका रैथाने लामखुट्टेले टोकेमा लामखुट्टे पनि संक्रमित हुन्छन् र त्यस्ता लामखुट्टेले डेँगु फैलाउन सक्ने क्षमता राख्छन्। तसर्थ संक्रमितहरुको काठमाडौँमा हुने आवतजावतले डेँगु काठमाडौँमा भित्रिने सम्भावन बढेर गएको छ। 

त्यस्तै, भारत, मलेसिया लगायत डेँगु प्रकोप देखिने विभिन्न देशबाट हवाई मार्ग भएर आवतजावत गर्ने नेपालीको संख्या पनि ठूलो छ। यसबाट आयातित डेँगुको जोखिमलाई पूर्ण नकार्न सकिँदैन। 

अन्तमा,

हरेक वर्ष डेँगु महामारी देखिँदै आहिरहेका चितवन, रुपन्देही (बुटवल), झापा, मकवानपुर (हेटौंडा) लगायतका जिल्लामा हाल लगभग चुपचाप जस्तै देखिएको छ वा भनौं त्यहाँ डेँगुका बिरामी देखिन अझै बाँकी छ। अबका केहि दिनमा यी मध्ये कुनै स्थानमा डेँगु फैलिएको समाचार आएमा अचम्मित हुनुपर्दैन।

तसर्थ त्यहाँ आजकै मितिबाट पूर्व तयारीका कार्यक्रम खासगरी लामखुट्टेले फुल पार्ने ठाउँहरुको पहिचान गरी नष्ट गर्ने तथा जनचेतनामूलक कार्यक्रम सुरु नगरे हाल लालबन्दीमा देखिएको डेँगुको फैलँदो स्थिति अर्को ठाउँमा फेरि नदेखिएला भन्न सकिँदैन।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live