विचार/ब्लग

​​​​​​​सजग बनौं, कार्यस्थल नै रोग जन्माउने घर नबनोस् !

डा अरुण कुँवर

८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन विश्वव्यापी मान्यता हो । तर, अहिलेको भागदौडयुक्त समयमा यो दैनिकीको परिपालना गर्ने मानिस निकै कम हुन्छन् । आजका अधिकांश मानिस आफ्नो बढीजसो समय काम गर्ने ठाउँमै बिताउँछन् । तर, कार्यस्थल कामदारमैत्री नहुने तथा अन्य विविध कारणले विश्वभरि नै धेरै मानिसमा मानसिक समस्या आउन थालेको छ।

कार्यस्थलको वातावरणका कारण मानसिक समस्या बढेको भन्दै विश्व स्वास्थ्य संगठनले यस वर्षको नारा नै ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने राखेको छ । आजका मानिसको धेरै समय कार्यालयमै बित्छ । घर-परिवारको गुजारा चलाउने कुरासँग गाँसिएको यस्तो ठाउँ तनावमुक्त हुनुपर्छ भनेर नै यो नारा राखिएको हो । त्यसैले कार्यस्थललाई रमाइलो, स्वस्थ बनाउन जरुरी छ।

जुनसुकै कार्यस्थलमा रहेका माथिल्लो तहका कर्मचारीदेखि तल्लो तहका कर्मचारीसम्म सबैले प्रेमपूर्वक काम गर्ने वातावरण बनाउनुपर्छ । थर्काएर, डराएर, धम्क्याएर राम्रो काम हुँदैन भन्ने सबैलाई थाहा छ । तर, त्यसलाई व्यवहारमा कमैले उतारेको पाइन्छ । मानसिक स्वास्थ्यमा फरक पर्ने भएकाले अबको समयमा व्यवहारमा उतार्नुपर्छ ।

नेपालमा सामान्यतया कुल जनसंख्याको १० देखि १५ प्रतिशतमा मानसिक समस्या छ । तीमध्ये दुई प्रतिशत केही काम गर्नै नसक्ने अवस्थामा हुन्छन् । यसैलाई आधार मानेर हेर्दा पनि कुनै पनि कार्यस्थलमा काम गर्ने कर्मचारीमध्ये १० देखि १५ प्रतिशतलाई मानसिक समस्या भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यो भनेको ठूलो संख्या हो।

यसले व्यक्तिको कार्यक्षमता त खस्किन्छ नै, कार्यालयको समग्र कार्यसम्पादनमै असर पर्छ । कर्मचारीमा मानसिक समस्या निम्तिएको विभिन्न लक्षणबाट थाहा पाउन सकिन्छ । कोही मानिस कामबाट खुसी हुँदैन, कार्यस्थल पुग्दा मन आत्तिने, डर मान्ने, रिस उठ्ने हुन्छ भने उसमा तनाव र मानसिक समस्या देखिन थालेको हुनसक्छ । त्यस्तो अवस्थामा सम्बन्धित कर्मचारीको समस्या बुझेर त्यसलाई तत्कालै समाधान गर्नेतर्फ लाग्नुपर्छ।

कार्यस्थलमा माथिल्लो तहका कर्मचारीले तल्लो तहकालाई दुःख दिने, हेप्ने, अनावश्यक काम लगाउने, गिज्याउने गर्छ भने पनि मानसिक समस्या आउन सक्छ । यसका साथै लैंगिक हिंसा, कर्मचारीको ज्ञान र सीप भएकोभन्दा फरक काम लगाउने लगायत कारण पनि मानसिक समस्या निम्त्याइरहेको हुन्छ । काम गर्दा खुसी नहुनु भनेको समस्या निम्तिनु हो । यसले कामदारको कार्यक्षमता त खस्किन्छ नै, सिंगो संस्थाको उत्पादकत्वमा ह्रास आउँछ । त्यसैले कार्यस्थललाई कामदारमैत्री बनाउनुपर्छ।

मानसिक स्वास्थ्यमा एक डलर खर्च गर्नु भनेको भविष्यमा चार डलर कमाउनु हो । अहिलेको गरेको खर्चले भोलि चार गुणा बढी उत्पादकत्व बढाउँछ । विकसित देशका राम्रा कम्पनीले कामदारलाई खुसी बनाउने वातावरण बनाउन थालिसकेका छन् । नेपालका पनि एक-दुई संस्थाले परामर्शदाता राख्ने, कामदारको समस्या बुझ्ने लगायत कामको थालनी गरेका छन् । तर, ९९ प्रतिशत संस्थामा त्यस्तो नहुँदा समस्या बढिरहेको छ।

कामदारको समस्या सुरुमै पत्ता लगाउन सकिएन भने त्यसले भविष्यमा गम्भीर मानसिक समस्या पनि निम्त्याउँछ । यस्ता उदाहरण हामीले धेरै भेटेका पनि छौं । त्यसकारण व्यक्तिको शारिरिक मात्र नभई सामाजिक र आर्थिक स्थिति राम्रो बनाउन पनि कार्यस्थललाई स्वस्थ बनाउनुपर्छ । कार्यस्थल रोग जन्माउने घर बने त्यसले व्यक्तिका साथै समाजलाई नै अन्धकारतिर लैजान्छ।

(डा कुँवर नेपाल मनोचिकित्सक संघका अध्यक्ष हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live