विचार/ब्लग

विदेशबाट पठाएको पैसा चाउचाउ विस्कुटमा खर्चिँदा समस्या

डा. तारानाथ पौडेल

अहिले मातृ शिशु सुरक्षाका लागि सुनौला हजार दिनको कार्यक्रम सञ्चालन भइरहेको छ । यद्यपि अधिकांश आमा र बच्चा अझै पोषणबाट वञ्चित छन् । मुलुकका विभिन्न भागमा पोषण केन्द्रहरु छन् । चुस्त तथ्यांक संकलन प्रणाली नभएका कारण बालबालिकाको कुन ठाउँका के अवस्था छ भन्ने यकिन छैन । 

सरकारी स्वास्थ्य निकायसँगै गैरसरकारी संस्थाहरु कुपोषण नियन्त्रणको अभियानमा  खटिएका छन् । तर, जुन अनुपातमा कुपोषण घट्नुपर्ने थियो, त्यो छैन । पोषण सम्बन्धी परम्परागत समस्या जति सुल्झाउँदै गयो, त्यति नयाँ समस्या थपिँदा छन् । त्यसैले यो निरन्तर ध्यान दिइरहनुपर्ने विषय हो । 

पहिले आयआर्जन नभएका कारण खानामा समस्या थियो । अहिले विदेशमा धेरै युवा छन् । उनीहरुले पठाएको पैसाको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तुमै खर्च भइरहेको छ । उत्पादन गर्नेभन्दा पनि किनेर खाने चलन बढ्दो छ । खेतबारी बाँझिन थालेका छन् । यसले विषदिरहित तथा अर्गानिक खानेकुरा पाइन छाडेको छ ।

कतिपय बालबालिकाको अवस्था बुझ्दा उनीहरु खानेकुराको अभावले कुपोषित भएको भन्न मिल्दैन । हाम्रो वरपर उपलब्ध खानेकुरालाई राम्ररी बनाउन र खान नजान्दा पनि कुपोषणको समस्या देखिएको छ । बालबालिकाका लागि उपयुक्त भोजन घरमै उपलब्ध अन्नबाट बनाउन सकिने भए पनि हामीले जंकफुड किनेर बच्चालाई दिने गरेका छौं । भटमास, गहँु, मकै नहुने घर सायदै होलान्, तर हामी बच्चालाई चाउचाउ, विस्कुट जस्ता जंकफुड खुवाउनमै रमाइरहेका हुन्छौं । 

पोषण अब बालबालिकाको विषय मात्रै रहेन । उनीहरुका साथै गर्भवती, सुत्केरीदेखि किशोरीहरुका सन्दर्भमा पनि जोड दिनुपर्ने भइसकेको छ । वृद्धवृद्धालाई समेत पर्याप्त पोषणको खाँचो छ । तर, स्वास्थ्य क्षेत्रमा हालको जनशक्ति २०४८ सालको जनगणनाका आधारमा हो । त्यसैले जनशक्ति पनि थप्नुपर्छ । 

यस्तै, अधिकांश गैरसरकारी संस्था सहरमुखी छन् । उनीहरुले ग्रामीण क्षेत्रमा पर्याप्त सेवा पु¥याउन सकेका छैनन् । उनीहरु सामुदायिक विकासमा परिचालित हुनुपर्छ, तर राज्यको स्वार्थमा । हाम्रो सिफारिसमा मात्रै उनीहरु परिचालित हुनुपर्छ । यस्ता संस्थाहरु केन्द्रको समन्वयमा आएको भन्दै सोझै कार्यक्षेत्रमा जान्छन् र हामीलाई बाइपास गर्छन् । त्यसैले जहाँ जरुरी छ, त्यहाँ पठाउन हामीले सकेका छैनौं । 

कुपोषणको दर न्यूनीकरण गर्ने हो भने यी समग्र कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

-पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा पौडेलसँगको कुराकानीमा आधारित


हुर्कंदै स्वस्थ बच्चा,  अझै छन् चुनौती

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live