समाचार

बर्दिबासमा ९८ जनामा डेंगु

स्वास्थ्य खबरपत्रिका

गौशाला- महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ। 

उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिए। 

अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन्। 

यसरी दुई साताअघि पाँचजनाबाट शुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन्। 

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ। 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ। 

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ। 

तर अझै पनि बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा नआएर दिनानुदिन बढ्दै गएको देखेर स्थानीयलगायतका सम्पूर्ण जिल्लावासीमा चिन्ता बढ्दै गएको छ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live