समाचार

प्युठान–स्वाथ्यकर्मीका लागि बन्यो २ करोडको आवास गृह 

दीपा पौडेल 

प्यूठान– निक साइमन्स इन्सिच्युटले २ करोडको लगानीमा स्वास्थ्यकर्मीका लागि निर्माण गरिएको आवास गृह एक कार्यक्रम बीच हस्तान्तरण गरेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कार्यक्रमको आयोजना गरि निक साइमन्स इन्सिच्युटका जिम साइमन र म्यारिलिन साइमन्सले अस्पताल बिकास समितिका अध्यक्ष मेघराज पुरीलाई भवनको साँचो हस्तान्तरण गरेका हुन्। 

आफ्नो छोरा निक साइमन्सले नेपाल निकै मन पारेको र नेपालमै इन्सिच्युट खोल्ने रहर हुँदाहुँदै मृत्यु भएकोले उसको सम्झनामा आफुले सहयोग गरेको निक साइमन्सका पिता जिम साइमन्सले बताए। सबै गरिबहरुले आफुहरुले सरह उपचार पाउनुपर्छ भन्ने सोचेर आफूले सहयोग गरेको भन्दै उनले भने, ‘छोराले पनि नेपाल मन पराएको थियो । मलाई पनि मन पर्छ। यहाँका गरिबको स्वास्थ्यका लागि सहयोग गर्न तयार छु।’

कार्यक्रममा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष मेघराज पुरीले निक साइमन्स इन्सिच्युटको सहयोगमा गरिब नागरिकको स्वास्थ्य समस्या समाधानमा धेरै नै सहयोग भएको भन्दै निरन्तरण सहयोग गर्न अनुरोध गरेका छन्। उनले भने, ‘निक साइमन्सको सहयोगमा गरिब नागरिकले स्वास्थ्य सेवा पाएका छन् अब एक बर्ष मात्र बाँकी छ । सम्झौता नवीकरण गर्न आग्रह गर्दछु।”

कार्यक्रममा स्वर्गिय निक साइमन्सकी माता म्यारीलिन साइमनले आफू कालिकोट जिल्ला अस्पताल जाँदाको अनुभव सुनाइन् । उनले भनिन्, ‘ म कालिकोट गएका बेला बेला एक जना बिरामी महिलालाई बेडमा देखेर कति वर्षको हुनुभयो ? भनेर साधें । उहाँले ५५ वर्षको बताउनुभयो तर निकै बुढी र अशक्त देखेको थिएँ । ४५ बर्षमा बुढो हुँदा रहेछन् ।’ यही अवस्थालाई बुझेर  सहयोगको भावना जागेको बताइन्। उनले आफू अहिले ६६ वर्षको पुगेपनि बुढ्यौलीको महशुस नभएको बताइन् ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका नितियोजना तथा अन्तर्राष्ट्रिय समन्य महाशाखाका डा. श्रीकृष्ण गिरी, स्वास्थ्य मन्त्रालयका अधिकृतहरु, निक साइमन्सका अधिकृत तथा डाक्टर, स्थानिय सरकार प्यूठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपति लगायतको उपस्थिति रहेको थियो। 

१५ शैय्याको अस्पतालबाट २०७३ माघ २० गतेको मन्त्री परिषदको बैठकले प्यूठान अस्पताललाई ५० शैय्यामा बृद्धि गर्ने निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन। हाल ३१ शैय्या सञ्चालन गरिएको जिल्ला अस्पतालमा सबै विशेषज्ञ सहित २७ पद रिक्त रहेको जिल्ला अस्पताल प्यूठानका मेडिकल सुपरिटेण्डेण्ट डा. अचुतराज कार्कीले जानकारी दिए । प्यूठान सहित रोल्पा, वाग्लुङ, गुल्मी, अर्घाखाँची जिल्लाका विरामी आउने अस्पतालमा निक साइसन्सबाट ३ जना कर्मचारी रहेका छन्। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live