विचार/ब्लग

सबै डाक्टरको सर्टिफिकेट लिलामीमा राखियोस् सरकार!

डा सरु भट्टराई

दशैं होस् या सानातिना पर्व ; बाबुआमाले टीका लगाएर सधैं आशीर्वाद दिनुहुन्थ्यो- 'छोरी, धेरै पढेलेखेर डाक्टर भएस्।'

म यही समाजमा हुर्किएकी छोरी हुँ, जुन समाजले डाक्टरबाहेक अन्य ठूलो पेसा देख्दैन थियो। बाबुआमाको सपना र आफ्नो कडा परिश्रमले आज म डाक्टर बनेकी छु। तर डाक्टरको उपाधि लिएर गर्वले शिर उँचो बनाउने बेला कालो दिनका बाँचिरहेकी छु म। निद्राभोक नभनी वर्षौंदेखि गर्दै आएको मेहनत अनि भविष्यको मिठो कल्पनाको बीउ रोप्नु नै मेरो भुल थियो?

नेपाल जस्तो देशमा एउटा सिटामोल देख्न नपाई अकालमा मृत्युवरण गर्न पुगेकी मेरी बहिनीको अत्मालाई शान्ति दिन खोज्नु के मेरो गल्ती भयो?  

यो मेरो मात्र प्रश्न र चिन्ता होइन। म जस्ता हजारौं डाक्टर अहिले यिनै प्रश्नभित्र रुमल्लिइरहेका छन्। आजसम्म हामी आफ्नो पेसाप्रति अति नै इमानदार रहँदै आयौं। एमबिबिएस र एमडी पूरा गर्न म जस्ता कैयौं युवाहरुले एक करोड लगानी गरेका छन्।

कैयौं पटक बिरामी जाँच्दा आफू पनि टिबी र एड्सको सिकार भयौं। आफूसँगैका साथीभाइले परिवार पाल्दा आफू परिवारबाट पालिनुपर्यो अनि उनका छोराछोरीको बिहेमा जाँदा आफ्नो बिहेको निम्तो दिनुपर्यो।

सार्वजनिक पदमा बसेका कतिपय मनपरीतन्त्र र लुटतन्त्रमै चलिरहेका छन्। जनताले पाउने सेवासुविधा र अधिकारको उनीहरुलाई चिन्ता छैन। तब सारा देश चुप रहन्छ। इमानदार र कर्तव्यनिष्ठहरुलाई यहाँ कसले पो देखेको छ र?

बिरामीहरु भगवानको रुपमा लिन्छन्। तर डाक्टर पनि मानव नै हो। मृत्युको मुखबाट जोगाउन हरक्षण तल्लीन हुँदा पनि काललाई जित्न नसक्दा कतिपय बिरामीले बिदा लिन्छन्। तर दोषी बनाइन्छ डाक्टरलाई।

गल्ती मानिसबाटै हुने हो। तर गल्तीको महसुस गर्नुपर्छ, दोहोर्याउनुहुन्न। डाक्टरबाट पनि गल्ती नभएका होइनन्। दिनभर आफ्नो कार्यक्षमताले नभ्याउनेगरी काम गर्नुपर्दा बिरामीसँग झर्किनु अस्वाभाविक होइन। मानसिकतामा बोझ थपिएपछि उब्जिएको क्षणिक आवेश मात्र हो यो। आफ्नो करोड लगानी र आधा जीवनको कठोर परिश्रमको उचित पारिश्रमिक राज्यले व्यवस्था नगर्दा हामी निजी कामतिर अल्झिन बाध्य छौं। लगानीबिनै र कठिन यात्राबिनै पावरको भरमा पदमा पुग्ने मेरो देशमा जनताको स्वास्थ्यमा हरसमय सचेत डाक्टरहरु नै सधैं दोषी भइरहने कहिलेसम्म? कहिले अस्पतालमाथि तोडफोड त कहिले डाक्टरमाथि अभद्र व्यवहार र हातपात कहिलेसम्म सरकार?

'मान्छे मार्ने पेसा'को ट्याग लगाउनुपूर्व, डाक्टर भएकै कारण समाजले कालो मोसो दल्नुपूर्व आधा जीवनको उपलब्धि सम्पूर्ण सर्टिफिकेट लिलामीमा राखियोस्। र, मलाई निर्धक्क बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरियोस् सरकार!

वर्षौंको अध्ययन अनुसन्धानपछि यही देशका जनताको सेवामा लागिरहेका डाक्टरहरुप्रति किन हराउँदैछ विश्वास? यसो हो भने अब विदेशी डाक्टर झिकाइयोस् र हामीले पाउने तलबसुविधामै हरेक कुनामा उनीहरुलाई पुर्याइयोस्।

अन्त्यमा, न्युन पारिश्रमिकमा दिनरात बिरामीकै जीवन बचाउन लागिरहेका डाक्टरको संवदेनासँग किन खेलिन्छ? कसैले अन्जानमा गरेको त्रुटिमा सबै एकै घानमा मिसिनुपर्ने अवस्था किन आयो?

फ्रेस दिमागले उपचार गर्ने बेलामा मनभरि त्रास बोक्ने अवस्था कहिलेसम्म? र, अझै पनि समय बाँकी छ- अस्पतालको गेटबाट छिर्दै गर्दा भय बोकेर पस्नुपर्ने अवस्थाको अन्त्य गरियोस्।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live