विचार/ब्लग

'डाक्टर अफ फार्मेसी' : कम आँकिएको महत्त्वपूर्ण विधा

रेयाज मिकरानी

अहिले नेपाली विद्यार्थीले मुख्यगरी पाकिस्तान र भारतमा फार्म.डी अर्थात् 'डाक्टर अफ फार्मेसी' अध्ययन गर्दै आएका छन् । नेपाली विद्यार्थीले पाकिस्तानमा फार्म. डी पढ्ने ढोका सन् २००३ देखि खुलेको हो । नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तान टेक्निकल असिस्टेन्ट प्रोग्राम अन्तर्गत अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको थियो।

डाक्टर अफ फार्मेसी पढेर सन् २००८ मा पहिलो चोटि नेपाली विद्यार्थी देश भित्रिएका थिए । पाकिस्तान, भारत लगायत मुलुकका साथै नेपालमा काठमाडौं विश्वविद्यालयबाट बि.फार्म पछि तीनवर्षे फार्म.डी गरेकाहरू पनि छन्।

तर, विडम्बना के छ भने, अहिलेसम्म पनि डाक्टर अफ फार्मेसी के हो भन्नेबारे आम जनमानसमा जानकारी छैन । यसको काम र कर्त्तव्यबारे रहेका भ्रम हटाउन सकिएको छैन । आज पनि फार्म.डी शब्द सुन्दा पढेलेखेका मानिस पनि कि त यो डिप्लोमा अफ फार्मेसी हो या डाक्टर नै हो भनेर द्विविधामा पर्छन्।

यसको मुख्य कारण के हो भने यो डिग्री पढेका फर्मासिस्टहरुको काम गर्ने क्षेत्र कुन हो, यो डिग्री के हो र यो पढेकाले के गर्न सक्छन् भनेर नेपाल फार्मेसी परिषद् र नेपाल सरकारले परिभाषित गरिदिएका छैनन्।

अर्कोतर्फ, यो डिग्री पढेकाहरूले पनि आफूलाई यो समाजमा परिभाषित गराउन सकेका छैनन् । जसको फलस्वरूप ठूलो जनशक्ति अन्योलमा छन् । कति जना फर्मा कम्पनीमा काम गर्न विवश छन् भने कति मार्केटिङ तथा शिक्षण पेशामा आबद्ध छन्, कतिपय यहाँ सोचे जस्तो काम र पहिचान पाउन नसकेर विभिन्न मुलुक गई एमफिल तथा विद्यावारिधि गरिरहेका छन् । कति जना भने खाडी मुलुकहरूमा गई आफ्नो भाग्य तिखारिरहेका छन्।

फार्म.डी सबभन्दा पहिले सन् १९५० मा अमेरिकाको साउथर्न क्यालिफोर्निया विश्वविद्यालयको स्कुल अफ फार्मेसी लसएन्जलसमा सुरु गरिएको थियो । फार्मेसी विधाको एउटा व्यावसायिक डाक्टर डिग्री कोर्स हो यो । विकसित देशहरूमा यसलाई पहिलो व्यावसायिक डिग्रीको रूपमा मान्यता दिइएको छ । फार्म.डी लाई विभिन्न देशमा प्रि-पिएचडीको मान्यता प्राप्त छ भने कतै यसलाई मास्टर अफ फार्मेसी बराबरको दर्जा प्राप्त छ । तर, मास्टर अफ फार्मेसी एकेडेमिक डिग्री हो भने फार्म.डी व्यावसायिक डिग्री हो।

यो डिग्रीको शैक्षिक अवधि पनि देश अनुसार फरक पाइएको छ । सामान्यतया यसको अवधि ३ वर्षदेखि बढीमा ८ वर्षसम्मको हुन्छ । पाकिस्तानमा सन् २००३ देखि फार्म.डी को पाँचवर्षे कोर्स बनाएर पठनपाठन सुरु गरिए पनि २०१२ देखि ६ वर्षको बनाइयो । जसमध्ये अन्तिम एक वर्ष अस्पतालमा क्लिनिकल इन्टर्नसिप भनेर समावेश गरिएको छ।

देशमा हरेक वर्ष ६० वर्ष ननाघ्दै मिर्गौला र कलेजो खराब हुने बिरामीको संख्या बढ्दै छ । यसको मूल कारण अव्यवस्थित तरिकाले औषधिको सेवन हो।

भारतमा पनि सन् २००८ मा ६ वर्षको डाक्टर अफ फार्मेसी कार्यक्रम 'फार्म. डी रेगुलेसन एक्ट २००८' पारित गरी फार्मेसी काउन्सिल अफ इन्डियाद्वारा सञ्चालन गरिएको थियो । जुन कोर्स प्रि-पिएचडी भएकाले फार्म.डी पछि पिएचडी तथा एमफिल लिडिङ पिएचडी गर्ने अधिकार हुन्छ । साथै, यो डाक्टरेट कोर्स भएकोले नामको अगाडि डाक्टर लेख्न पाउने अधिकार दिन्छ । पाकिस्तान फार्मेसी काउन्सिलले पनि २०१० अक्टोबर १ को बैठकमा फार्म.डी गरेकाहरूले डाक्टर लेख्न सक्ने मान्यता दिएको छ।

अमेरिकामा फार्म.डी स्नातकपछि चार वर्षको हुन्छ, जसलाई पोस्ट-ग्राजुएटको मान्यता दिँदै यो डिग्री पढेकाहरुलाई अनुसन्धान, शिक्षण, क्लिनिकल प्राक्टिस, फर्मा उद्योग, कानुन जस्ता क्षेत्रमा काम गर्ने मौका दिइन्छ । नेपालमा पनि सन् २०१० देखि काठमाडौं विश्वविद्यालयमा डाक्टर अफ फार्मेसी थालनी गरिएको थियो । तर, यो स्नातकपछि तीनवर्षे स्नातक हो।

पहिले-पहिले फर्मासिस्ट भनेर औषधिको सूत्र बनाउने, फर्माकोपियल तरिका अनुसरण गरी औषधि बनाउने, औषधिलाई प्याकिङ गरी त्यसको लेबलमा म्याद सक्ने मिति, स्टोर गर्ने तरिका, उपयोग गर्ने माध्यमहरू अंकित गरी बजारमा पुर्‍याउनेसम्मको काम हुन्थ्यो । समग्रमा भन्दा फर्मासिस्ट भन्नाले केमिस्टलाई बुझिन्थ्यो।

पछि-पछि संसारमा औषधीय त्रुटिले गर्दा विभिन्न घटना भयो । त्यस क्रममा धेरैले ज्यान गुमाए । त्यसैले विज्ञहरूले एउटा यस्तो कोर्स बनाउन खोजे, जुन स्वास्थ्य उपचार प्रणालीको अभिन्न अंग बन्न सकोस् र फर्मासिस्टको सीधा सम्पर्क बिरामीसँग होस् । फर्मा र क्लिनिकललाई संयुक्त कोर्सको रूपमा स्थापना गरेर  त्यसैलाई फार्म.डी अर्थात् 'डाक्टर अफ फार्मेसी' भनियो।

अहिले स्वास्थ्य उपचार प्रणालीमा फर्मासिस्ट एउटा अभिन्न अंग बनिसकेको छ । फर्मासिस्ट नभई एउटा पूर्ण त्रुटिरहित उपचारको कल्पनासमेत गर्न सकिँदैन । स्वास्थ्य उपचार प्रणालीमा फर्मासिस्टहरू हस्पिटल फर्मासिस्ट, क्लिनिकल फर्मासिस्ट तथा सामुदायिक फर्मासिस्टको रूपमा काम गर्छन्।

चिकित्सक र फर्मासिस्टबीच अन्तर केलाउने हो भने, चिकित्सकहरू कुन बिरामीलाई कुन रोग छ भनेर डाइग्नोसिस गर्छन् र त्यसलाई निको पार्न औषधि लेख्छन् । तर, फर्मासिस्टले बिरामी डाइग्नोस भइसकेपछि चिकित्सकले लेखेको औषधि बिरामीको शरीरको लागि उपयुक्त छ कि छैन, कतिपय औषधि-औषधिबीच प्रतिक्रिया भई नकारात्मक असर पर्छ कि भनेर जाँच्ने गर्छन्।

यसका साथै फर्मासिस्टले कुन औषधि कति मात्रामा दिने, कुन बिरामीमा कतिबेरसम्म कति मात्राको औषधिले काम गर्छ, कुन माध्यमबाट दिँदा औषधि सबभन्दा बढी प्रभावकारी हुन्छ र अनावश्यक औषधि प्रेस्क्रिप्सनबाट घटाउँदै भविष्यमा त्यस्तो औषधिले मानव शरीरमा नराम्रो असर गर्नसक्छ भनेर चिकित्सकलाई सल्लाह समेत दिन्छन्।

फर्मासिस्टको काम यतिमा मात्र सकिँदैन । बिरामीलाई औषधि सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्नु, औषधि खानलाई उत्प्रेरित गर्नु, कुन औषधि किन खाइरहेको भनी जानकारी दिनु, कुन औषधि खाँदा कस्तो लक्षण देखापर्छ, कस्तो लक्षण देखापर्दा औषधि खान बन्द गर्ने तथा कुनै औषधि खान बिर्सेमा के गर्ने भनी सल्लाह समेत उनीहरु दिन्छन्।

फर्मासिस्टहरूले चिकित्सक र बिरामीसँग प्रत्यक्ष समन्वय गरी औषधि उपचार व्यवस्थापन (ड्रग थेरापी म्यानेज) गर्छन् । साथै, उपचारको बेला कुनै नराम्रो लक्षण देखापर्‍यो भने त्यो लक्षण औषधिको कारणले हो कि अन्य कारणले हो भनी प्रमाणित गरिदिने काम गर्छन्।

यी सबै काम चिकित्सकले गर्न सक्दैनन् भन्ने पनि होइन । चिकित्सकहरुले समेत गर्न सके पनि यसले उनीहरूमाथि चाप बढेर विभिन्न त्रुटि हुन सक्छन् । हुन पनि एउटा मान्छे सबै क्षेत्रमा परिपूर्ण हुन असम्भव हुन्छ । त्यसैले चिकित्सकलाई रोग डाइग्नोसिससम्म सीमित गर्न र औषधि सम्बन्धी सम्पूर्ण काम विकसित मुलुकहरूमा फर्मासिस्ट र चिकित्सक मिलेर टुंगो लगाउँछन् । जसले गर्दा औषधीय त्रुटिहरू कम गर्न, गुणस्तरीय र सस्तो मूल्यमा उपचार दिन टेवा पुग्छ।

हेल्पर र स्टरेन्डको अनुसन्धान अनुसार, क्लिनिकल फर्मासिस्टको प्रयोगले औषधीय त्रुटिका साथै बिरामीको उपचार खर्च र अस्पताल भर्नाको अवधिमा ठूलै कमी आउँछ । पछिल्लो समय दक्षिण एसियाका मुलुकहरूमा पनि फर्मासिस्टको भूमिका कम्पाउन्डर र डिस्पेन्सरबाट परिवर्तन हुँदै एउटा 'ड्रग थेरापी म्यानेजर'को रूपमा विकसित हुँदैछ । जसको पूर्ण दायित्व हुन्छ, बिरामीलाई दिइरहेको औषधि पूर्ण त्रुटिरहित, पूर्ण सुरक्षित र पूर्ण व्यवस्थित होस्।

देशमा हरेक वर्ष ६० वर्ष ननाघ्दै मिर्गौला र कलेजो खराब हुने बिरामीको संख्या बढ्दै छ । यसको मूल कारण अव्यवस्थित तरिकाले औषधिको सेवन हो । अमेरिकामा बर्सेनि हुने मानिसहरुको मृत्युमध्ये औषधीय त्रुटिले गर्दा हुने मृत्यु आठौं कारणमा पर्छ । त्यस्तै, वेबडिसी डटकममा प्रकाशित 'डेथ बाई मेडिसिन' भन्ने लेख अनुसार प्रत्येक वर्ष विश्वभरि २२ लाख बिरामी प्रेस्कराइब्ड औषधिको नराम्रो असर (एड्वर्स इफेक्ट) का कारण मर्छन्।

यसबाट स्वास्थ्य उपचार प्रणालीमा एउटा फर्मासिस्टको कति महत्वपूर्ण र संवेदनशील भूमिका रहन्छ भन्ने प्रस्ट हुन्छ । यसका लागि सम्बद्ध निकायले फर्मासिस्टको भूमिकालाई पुन: परिभाषित र परिमार्जित गर्नु जरुरी छ तथा चिकित्सक वर्गले फर्मासिस्टको औचित्य र आवश्यकतालाई स्वीकार गर्नुपर्छ ।

नेपाल सरकारले प्रत्येक अस्पतालको आफ्नै फार्मेसी राख्ने व्यवस्था लागू गर्नु सकारात्मक कदम हो । चाँडै क्लिनिकल फार्मेसी सम्बन्धी अवधारणा प्रयोगमा ल्याउने पहल भए औषधीय त्रुटिले अकालमै ज्यान गुम्ने, अनावश्यक औषधीय खर्च तथा असुरक्षित उपचार नियन्त्रण हुने थियो।               

(सर्लाहीका मिकरानी हाल चीनको चाइना फर्मास्युटिकल विश्वविद्यालयमा क्लिनिकल फार्मेसी विषयमा एमफिल गर्दै छन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live