समाचार

स्तन क्यान्सरबारे १ महिना विशेष अभियान, यस्ता छन् कार्यक्रम

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुर हरिसिद्धिले अक्टोबर महिनाभरि स्तन क्यान्सर सम्बन्धी विभिन्न कार्यक्रम गर्दैछ। अस्पताल परिसरमा एक कार्यक्रम गरी अक्टोबर महिनाभरि स्तन क्यान्सर सम्बन्धी गरिने विविध कार्यक्रमबारे जानकारी दिइयो।

अक्टोबर महिनालाई विश्वव्यापी स्तन क्यान्सर सम्बन्धी जनचेतना अभियानका रुपमा मनाउने गरिन्छ। सन् १९८५ देखि अक्टोबरलाई स्तन क्यान्सर जनचेतना महिनाका रुपमा मनाउन थालिएको हो।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले नेपालमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरुमा सबैभन्दा धेरै स्तन क्यान्सर हुने गरेको बताए। उनका अनुसार हरेक वर्ष लगभग ५ हजार नेपाली महिलालाई स्तन क्यान्सर हुने अनुमान छ।

अस्पतालका सर्जिकल अंकोलोजी विभागका प्रमुख डा कपेन्द्रशेखर अमात्यले भने, ‘हामीसँग जनसंख्याका आधारमा कति संख्यामा स्तन क्यान्सर छ भन्ने तथ्यांक छैन। तर, अस्पतालहरुको रजिस्ट्रीलाई आधार मानेर हेर्दा ठूलै संख्यामा स्तन क्यान्सरका बिरामी भेटिन्छन्।’ 

विकसित देशमा स्तन क्यान्सर लगभग ६० वर्षको हाराहारीमा सबैभन्दा बढी देखिन्छ भने नेपालमा स्तन क्यान्सर हुनेमध्ये आधाभन्दा बढी ५० वर्षमुनिका महिलामा छन्।

डा अमात्यका अनुसार विकसित देशमा स्तन क्यान्सर प्रारम्भिक अवस्था (स्टेज १, २) मै पत्तो लाग्छ भने नेपालमा जटिल अवस्था (स्टेज २, ३) मा पुगेपछि मात्र स्तन क्यान्सरका बिरामी अस्पताल आइपुग्छन्।

तथ्यांक अनुसार विकसित देशमा स्तन क्यान्सरका बिरामीमध्ये ८० प्रतिशतलाई निको पार्न सकिन्छ भने नेपालमा त्यो दर ६५ प्रतिशत छ।

‘नेपाल जस्तो विकासन्मुख देशमा जटिल अवस्थामा पुगेपछि उपचार गर्नु बिरामीका लागि खर्चालु मात्र नभई उपचारपछिको परिणाम पनि सकारात्मक नहुन सक्छ,’ कार्यक्रममा डा श्रेष्ठले भने, ‘स्तन क्यान्सर पूर्ण रुपमा रोकथाम गर्ने उपाय छैन तर यसबाट बच्न प्रारम्भिक अवस्थामै पहिचान गर्न सक्नु एकमात्र मूल मन्त्र हो।’

उनले स्तन क्यान्सरबारे खुलेर कुरा गर्न र क्यान्सर जितेकाहरुले पनि आफ्ना अनुभव अरु महिलालाई जानकारी गराउन सुझाव दिए।

‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ’ भन्ने नाराका साथ नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनाभरि विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

अक्टोबरभरिका मुख्य कार्यक्रम यस्ता छन्ः

१४ अक्टोबर २०१७ (शनिबार)
स्तन क्यान्सर सम्बन्धी जनचेतना मूलक पदयात्रा– बिहान ७ः३० देखि ११ः०० बजेसम्म। काठमाडौंको दरबार मार्गदेखि माइतिघर मण्डलासम्म।

१६ अक्टोबर २०१७ (सोमबार)
स्तन क्यान्सरलाई जितेका महिलाहरुको भेला– बिहान ९ देखि दिउँसो ४ बजेसम्म, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर परिसर, हरिसिद्घि, ललितपुर।

७, १४, २८ अक्टोबर २०१७ (शनिबार)
स्तन क्यान्सर सम्बन्धी निःशुल्क परामर्श तथा ओपिडी सेवा– बिहान ९ बजेदेखि प्रारम्भ, स्थान– नेपाल क्यान्सर हस्पिटल परिसर।

११ र १२ अक्टोबर २०१७ (बुधबार र बिहीबार)
पाटनको दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरमा स्तन क्यान्सरबारे जनचेतनामूलक डबली नाच।

अक्टोबरदेखि नोभेम्बर ८ सम्म
स्तन क्यान्सर स्क्रिनिङ (डिजिटल मेमोग्राफी एन्ड अल्ट्रा साउन्ड) मा ५० प्रतिशत छुट।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live