मुख्य समाचार

उपचारका लागि घरखेत बेच्नुपर्ने बाध्यता अन्त्य गर्ने ढोका खुल्यो : गगन थापा [भिडियो]

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसदबाट पारित भएको स्वास्थ्य बिमा ऐनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्। 

स्वास्थ्य बिमा विधेयक थापाले आफू स्वास्थ्य मन्त्री भएको बेला तयार पारेर संसदमा पेश गरेका थिए । स्वास्थ्य खबरसँग कुराकानी गर्दै पूर्वमन्त्री थापाले ऐनमा रहेको सबै नागरिकलाई बिमामा अनिवार्य रुपमा समेट्ने व्यवस्थाले नागरिकको गुणस्तरीय उपचारमा समान पहुँचको अधिकार प्रदान गरेको बताएका हुन् । 

‘अब कुनै नागरिकले पैसा नभएकाले मैले उपचार पाउँदिनँ कि भन्ने डरमा बस्नुपर्दैन’, उनले भने, ‘बिमामा सहभागी नागरिकले उपचारका लागि घरखेत बेच्नुपर्ने बाध्यता आउँदैन भनेर अब ढुक्कसाथ भन्न सक्ने अवस्था रह्यो।’

उनले ऐनले सबै नागरिकको उपचारमा समान पहुँचको ढोका खोलेकाले सबैले बिमालाई सफल बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए।

ऐनमा बिमा कार्यक्रममा सहभागी हुन आयस्रोतका आधारमा प्रिमियम तिर्नुपर्ने व्यवस्था रहेको र पैसा तिर्न नसक्ने विपन्नको प्रिमियम सरकारले तिर्ने व्यवस्थाले निर्धन नागरिकको पनि उपचारको ग्यारेन्टी गरेको उनले बताए।

पूर्वमन्त्री थापाले बिमा ऐनले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको गुणस्तर बढाउन योगदान गर्नुका साथै निजी अस्पतालहरुलाई पारदर्शी हुन बाध्यकारी बनाएको बताए।

‘यो ऐनले निजी अस्पतालहरुलाई कानुनी रुपमै पारदर्शी हुन बाध्यकारी बनाइदिएको छ’, उनले भने, ‘सबै नागरिक बिमित हुने भएपछि निजी अस्पताल पनि बिमा कार्यक्रम अन्तर्गत सहभागी हुन आउनेछन् र उनीहरुलाई त्यसबेला कानुनी रुपमै पारदर्शी बनाउन सरकारले काम अगाडि बढाउन सक्छ।’

थापाले बिमा कार्यक्रम निकै ठूलो अभियान भएकाले सुरुदेखि नै पारदर्शी काम नभए कार्यक्रम असफल हुन सक्नेतर्फ पनि सचेत हुनुपर्ने बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live