विचार/ब्लग

बिरामी र डाक्टर : एक-अर्काका परिपूरक फ्याक्टर

डा सुवास प्याकुरेल

नेपालको चिकित्सा क्षेत्रमा केही समययता अनपेक्षित तिक्तता छाइरहेको देखिएको छ । डाक्टर र बिरामीबीच फाटो आइरहेको महसुस भइरहेको छ । डाक्टर र आम समुदाय दुई पक्षमा बाँडिए जस्तो हुँदा हामी डाक्टरलाई खल्लो लागिरहेको छ । यसबाट पक्कै पनि कोही खुसी नहोलान्।

बिरामीबाट सुरक्षित हुन डाक्टरले कानुनको माग गर्नुपर्ने स्थिति आउनु, डाक्टरले आन्दोलनका क्रममा अस्पतालको सेवा समेत प्रभावित पार्नु र अझै पनि डाक्टरमाथि हातपात नरोकिने घटना सुन्दा कसैलाई पनि कर्णप्रिय लाग्दैन । जति–जति डाक्टर र बिरामीको सम्बन्धमा कालो बादल मडारिँदै जान्छ, उति–उति डाक्टर र आम समुदायको मनमा अमिलोपन बढ्दै जान्छ । तसर्थ ढिलो नगरी डाक्टर र बिरामीको सम्बन्धमा छाएको अविश्वास हटाउनैपर्ने हुन्छ।

यतिबेलाको यो परिस्थिति कुनै संरचनाका कारणभन्दा पनि तीन वटा ‘ब’ अर्थात् बोली–वचन, व्यवहार र विश्वासको सेरोफेरोबाट उब्जिएको देखिन्छ । त्यसैले यसको समाधान पनि सहज छ।

हामी सबैले आफैंसँग दुइटा प्रश्न सोधौं र उत्तर पनि मनैदेखि दिने प्रयत्न गरौं । पहिलो प्रश्न, बिरामी बिना डाक्टरको अस्तित्व सम्भव छ ? अर्को प्रश्न, डाक्टरका कारण आजसम्म बिरामीलाई फाइदा पुगेको छ कि बेफाइदा?

यसमध्ये पहिलो प्रश्नको उत्तर डाक्टरले खोज्नेछौं भने दोस्रो प्रश्नको उत्तर आम नागरिकले खोज्नुपर्ने हुन्छ । तर, एउटै शर्त के हो भने उत्तर चाहिँ आत्मादेखि नै आउनुपर्छ।

नेपालमा हामी डाक्टरको संख्या करिब २० हजार छ । हामी छुट्टै होइनौं, यही ३ करोड नेपालीभित्रका २० हजार हौं । डाक्टरभन्दा पहिले हामी पनि नागरिक हौं र यही समाजका सदस्य पनि।

हामी डाक्टर आफैं बिरामी पर्दा वा परिवारका कोही बिरामी पर्दा अरु डाक्टरको सेवा लिने गर्छौं । त्यतिबेला बिरामीका रुपमा हामी अर्को डाक्टरबाट त्यही बोली–वचन र व्यवहारको अपेक्षा गर्छौं, जुन आम समुदायले आम चिकित्सकबाट अपेक्षा गर्छन्।

जनमानसले पनि के बुझिदिनुपर्‍यो भने जोकोही नेपाली बिरामी पर्दा तिनै ३ करोड नेपालीमध्येका २० हजार डाक्टर नै तपाईंहरुको आशा र भरोसा हुन् । ती डाक्टरहरु जसका लागि काम गर्छन्, त्यही समाजबाट सुरक्षित हुन कानुन चाहिने स्थिति आउनु पक्कै पनि राम्रो कुरा होइन । डाक्टरहरुले तपार्इंहरुकै सेवामा खटिँदा सुरक्षित हुन कानुनको माग गर्नुपर्ने गरी त्रस्त हुनुपर्‍यो भने आम समुदायप्रतिको दायित्व कसरी पूरा गर्ने?

माथि उल्लेख गरिए जस्तै यतिबेलाको परिस्थिति बोली–वचन, व्यवहार, आचरण र मनोविज्ञानमा आधारित रहेकाले समाधान पहिल्याउन त्यति गाह्रो छैन । यतिबेला चिसिएको सम्बन्धलाई सुधार गर्ने हो भने डाक्टर र बिरामी वा आम समुदायले सहअस्तित्वको बोध गर्नुपर्छ।

हामी डाक्टरले जनताले अपेक्षा गरेका र सहजै पुर्‍याउन सकिने विषयमा नम्र बोली–वचन र राम्रो व्यवहार गर्नुपर्‍यो र जनमानसले पनि सबै रोग एउटै हुँदैनन् र जुनसुकै प्रकृतिको केस पनि निको हुन सम्भव हुँदैन भनेर बुझिदिनुपर्‍यो।

हामी डाक्टरले जनताले अपेक्षा गरेका र सहजै पुर्‍याउन सकिने विषयमा नम्र बोली–वचन र राम्रो व्यवहार गर्नुपर्‍यो र जनमानसले पनि सबै रोग एउटै हुँदैनन् र जुनसुकै प्रकृतिको केस पनि निको हुन सम्भव हुँदैन भनेर बुझिदिनुपर्‍यो । उपचारका क्रममा डाक्टर, अस्पताल र सेवाप्रदायक अन्य पक्षहरुको जस्तै आफ्नो पनि उत्तिकै भूमिका हुन्छ भनी सहअस्तित्व बोध गर्नुपर्‍यो।

आफ्नो परिवारमा कोही बिरामी पर्दा सबै सदस्यको मनोविज्ञान खलबलिएको हुन्छ । अझ इमर्जेन्सीको केसमा त सबैको होश–हवास नै उडेको हुन्छ । यस्तो अवस्थामा बिरामी पक्षले डाक्टरबाट सद्भाव, ढाडस र राम्रो व्यवहारको आशा राख्नु स्वाभाविकै हो । हामी डाक्टरहरुले नै आफ्ना परिवारजनलाई इमर्जेन्सी लिएर जाँदा कतिपय अवस्थामा आफ्नै सहकर्मी र कार्यरत डाक्टरको प्रस्तुति र शैलीका विषयमा प्रश्न उठाउनु नपरेको होइन।

कमी–कमजोरीलाई स्विकार्नु र सुधार्नु समाधानको महत्वपूर्ण शर्त हो । हामी डाक्टरहरुले डाक्टर बन्नुअघि स्वास्थ्य संस्थामा जाँदा डाक्टरबाट जे–जस्तो व्यवहारको अपेक्षा राख्थ्यौं, त्यही अनुसार आफू प्रस्तुत भइदिने हो भने आम समुदायको अपेक्षा सम्बोधन हुनेथ्यो जस्तो लाग्छ।

आम नागरिकले पनि मनन गर्नुपर्ने विषय के छ भने आफूलाई समाधान चाहिएको बेला त्यसका लागि खटिएका व्यक्तिलाई त्रस्त बनाइदिँदा उसले निर्धक्क सेवा दिन सक्ला र ? उपचार प्रभावकारी होला र ? जस्तोसुकै परिस्थितिमा पनि संयमित भएर डाक्टरलाई र उपचार प्रक्रियालाई सहयोग गर्दा राम्रो परिणाम आउला कि प्रेसर दिँदा वा पाखुरा सुर्किदा?

सबै क्षेत्रका आफ्नै शैली, तौरतरिका र कार्यस्थलको छुट्टाछुट्टै वातावरण हुन्छ । जस्तो कि, सुटिङ  हेर्न जाँदा शान्त भएर बस्नुपर्ने हुन्छ, कराइदियो भने सुटिङ बिग्रिन्छ । प्लेन चढ्दा त्यसका सबै नियम पालना गरे मात्रै गन्तव्यमा सुरक्षित रुपमा पुग्न सकिन्छ । उपचार सेवाका हकमा पनि त्यस्तै हो । डाक्टरलाई जति ढुक्क र आनन्दित महसुस हुन्छ, त्यति नै बिरामीलाई सकुशल र आनन्दित बनाउन सकिन्छ।

एउटा चालकले गाडी कन्डिसनमा राखेर, गाडीको यान्त्रिक प्रणाली जानेर र ट्राफिक नियमको परिपालना गरेर चलाउने गर्छ । कुन पनि चालकले जानाजान दुर्घटना गराएर अरुलाई र आफूलाई पनि संकटमा पार्ने नियत राख्दैन । हामी डाक्टरको तौरतरिका र नियत पनि करिक–करिब ड्राइभरको जस्तै हुन्छ । चिकित्सकीय आचारसंहिता हाम्रा लागि ट्राफिक नियम जस्तै हो । कस्तो केसमा कस्तो उपचार गर्ने भन्ने विषय गाडीको सिस्टममा अपनाए जस्तै हो । जसरी ड्राइभरले जानाजान दुर्घटना गरायो भने यात्रुलाई नभई उसलाई समेत हानि पुग्छ, डाक्टरलाई पनि त्यस्तै हो।

चिकित्सा क्षेत्रमा कानुनभन्दा ठूलो कानुनका रुपमा परापूर्व कालदेखि नै आचारसंहिता, आचरण, नैतिकता र विश्वास जस्ता पक्षलाई स्वीकार गरिएको छ । सबै पक्षले आ–आफ्नो स्थानबाट यसको पालना गर्नु अहिलेको परिस्थितिको उच्चतम समाधान हुन सक्छ।

डाक्टर, बिरामी वा आम समुदायलाई दुई अलग पक्ष र अझ परस्पर विरोधी तप्काका रुपमा व्याख्या गरिनु कसैको हितमा छैन । सम्बन्धको निकटतालाई बयान गरिने नङ र मासुको सम्बन्ध वा एक सिक्काका दुई पाटो जस्ता शक्तिशाली शब्दहरु डाक्टर र बिरामीको हकमा पनि सान्दर्भिक हुन्छन्।

दीर्घकालीन महत्वका कतिपय मीठा कुरा तत्कालका लागि तीता लाग्न सक्छन् । दुखाइ कम गर्ने सुईले पनि घोच्दा सुरुमा दुखाउँछ नै, कालान्तरमा त्यसैले दुखाइ निको पार्छ । यतिखेर पनि कतिपय प्रसंगले हामीलाई बिझाए पनि सबै पक्षले आ–आफ्नो अहम् एकातिर पन्छाएर दिगो समाधान खोज्नैपर्छ । बिरामी र डाक्टर एक–अर्काको परिपूरक हुन् र आपसी सम्बन्धमा हित मात्रै चिताउँछन् भन्ने तथ्य बुझ्नैपर्छ।

(डा प्याकुरेल स्वास्थ्य खबरका मेडिकल एडिटर हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live