मुख्य समाचार

आँखाको नानी संकलन केन्द्र बनाउन पाठक दम्पदीले दिए डेढ करोड

राजेन्द्र आचार्य

चितवन- भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गर्न समाजसेवी भीमराज पाठक दम्पत्तीले डेढ करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले यसै साताबाट नानी संकलन केन्द्र सञ्चालन गर्न लागेको हो। 

विश्व दृष्टि दिवसको अवसरमा बिहीबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा समाजसेवी पाठक दम्पतीले नानी संकलन केन्द्र स्थापनाका लागि डेढ करोड सहयोग गर्ने घोषणा गरेका हुन्। 
वृद्धाश्रम बनाउने सोच राखेका समाजसेवी पाठकले आँखाको ज्योति दिनेजस्तो पुण्य काम अरु हुन नसक्ने भन्दै सहयोग गर्ने निर्णय गरेको बताए। 

भरतपुर १० मालपोतचोकका समाजसेवी पाठक पुराना व्यवसायी हुन्। २००१ सालमा जन्मिएका पाठकको परिवार घादिङबाट चितवनमा आई बसोबास गरेको हो। उनका एक छोरा छन्। आफूहरुले कमाएको रकमबाट सबैले संसार देख्न पाउन् भनेर सो रकमको अक्षषकोष बनाएको उनले बताए।

काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैंकमा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको अस्तपाल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केले जानकारी दिए। 

आँखा संकलन केन्द्र सञ्चालन पूर्व नै भरतपुर आँखा अस्पतालमा नानीको  प्रत्यारोपण सुरु गरिसकिएको छ। नानी प्रत्यारोपणका लागि अस्पतालमै कार्यरत डा पुष्पा गिरी श्रेष्ठले भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आएकी छिन्। अध्ययन सकेर आएलगत्तै उनले ४ जनामा नानीको सफल प्रत्यारोपण गरेको कार्यक्रममा जानकारी दिइयो।

यसैगरी, प्राविधिक काशीराम बाँस्कोटाले तिलगंगा आँखा अस्पताल काठमाडौँबाट आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आएका छन्। दक्षता हासिल गरेसँगै यसबारे थप काम अघि बढाउन लागिएको डाक्टर गिरीले बताइन्। 

भविष्यमा आँखा बैंक स्थापना गर्ने योजना रहे पनि अन्तर्राष्ट्रिय आँखा बैंकबाट सम्बन्धन प्राप्त गर्न  प्रक्रिया पूरा भइनसकेकाले हाल संकलन केन्द्र मार्फत काम सुरु गर्न लागिएको प्रस्तावित आखाँ बैंकका संयोजक प्रभातकुमार जोशीले जानकारी दिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live