मुख्य समाचार

प्यूठान–विशेषज्ञ सेवा सहितको शिविरमा ६ सय १७ जना लाभान्वित

दीपा पौडेल

प्यूठान–  जिल्ला अस्पताल बिजुवार प्यूठानमा संचालन गरिएको हार्डजोर्नी सम्बन्धि शिविरमा  ६ सय १७ जना बिरामीले परिक्षण गराएका छन्। 

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको समवन्य तथा आयोजना र नेशनल अर्थोपेडिक हस्पिटल जोरपाटी काठमाडौंको आर्थिक तथा प्राविधिक सहयोगमा ३ दिन शिविर सञ्चालन गरिएको थियो । शिविरमा आर्थिक अभावका कारण उपचार गराउन नसकि घरमै बसेका बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ। 

हातखुट्टा भाँचिएर बाङ्गिएका, हात खुट्टामा पाता वा किल्ला राखिएका, हात–खुट्टा भाँचिएका ११ जना महिला र २८ जना पुरुष गरि ३९ जना बिरामीको शल्यक्रिया गरिएको नेशनल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका हार्डजोर्नी बिशेषज्ञ डा. मुक्ति तिमिल्सिनाले बताए। 

बिरामीहरुले निःशुल्क उपचार पाउँदा खुसी ब्यक्त गरेका छन्। शिविरमा उपचार गराउन आएका जिल्लाको विकट क्षेत्र नौ बहिनी गाउँपालिका वडा नं. ८ फोप्ली लुप्लुङ निवासी २५ बर्षिय युवा पारस भण्डारी आफ्नो भाइको निःशुल्क उपचार हुँदा गदगद थिए । उनले भने, ‘भाईले रुखबाट लडेर हात भाँच्यो । बिजुवारमा रहेको दाईलाई ऋण खोज्न फोन गरेको शिविर सञ्चालन भएको खबर दिनुभयो ।े डाक्टरले अप्रेसन गर्नुपर्ने भनेपछि अप्रेशन गरेर रड राखियो ।  पैसा परेन।’
त्यस्तै शिविरमा सहभागी स्वर्गद्धारी बहुखमुखी क्याम्पस पुण्यखोला प्यूठानका पुर्व क्याम्पस प्रमुख बिजुवार जुम्री निवासी मोहन गिरीले आफ्नो दुवै खुट्टाको घुँडाको अप्रेशन जोरपाटी हस्पिटलमै निको गराएको भन्दै गुणस्तरिय सेवाका लागि सहयोगी अस्पताललाई धन्यबाद समेत दिए।

ऐरावति गाउँपालिका वडा नं. २ बरौला  खबाङकी पार्वती थापाले आफ्नो हात कुटानी पिसानी मिलमा परेर हात भाँचिएर जिल्ला अस्पतालमा आएको बताइन्। निःशुल्क अप्रेशन भएपछि खुसी ब्यक्त गर्दै भनिन्, ‘महिला समूहबाट ऋण खोजेर अस्पताल आएको 
थिएँ। शिविर चलेको रहेछ । निः शुल्क शल्यक्रिया भयो ऋण खोजेर ल्याएको पैसा जोगियो ।’
जिल्ला स्वास्थ्य कार्यालयले गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका लागि केन्द्रिय स्तरमा विशेषज्ञ सेवा संचालन गरेका अस्पतालहरुसंग समन्वय गरेर शिविर संचालन गरेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले बताए।

अस्पताल बिकास समितिका अध्यक्ष मेघराज पुरीले शिविर प्यूठानीका लागि निकै प्रभावकारी भएको बताए। उनले भने, ‘धनीले त महंगा–महंगा हस्पिटलमा उपचार गराइहाल्छन् । तर, गरिब जनताका लागि यो शिविर निकै महत्वपूर्ण बनेको छ तर पनि यो पुर्ण चाँही होइन।’ 

१५ शैय्याको अस्पतालबाट २०७३ माघ २० गतेको मन्त्री परिषदको बैठकले प्यूठान अस्पताललाई ५० शैय्यामा बृद्धि गर्ने निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन। हाल ३१ शैय्या सञ्चालन गरिएको जिल्ला अस्पतालमा सबै विशेषज्ञ सहित २७ पद रिक्त रहेको जिल्ला अस्पताल प्यूठानका मेडिकल सुपरिटेन्डेन्ट डा. अचुतराज कार्कीले जानकारी दिए। उनले शिविरमा संचालन गरिएको सेवा अव जिल्ला अस्पतालबाटै पाइने भन्दै स्तरोन्नति अनुसारको सेवा, सुबिधा र दरबन्दी अनुसारको स्वास्थ्यकर्मी अस्पतालमा पठाउन सरकारसँग माग गरे।
 
शिविरको उद्घाटन स्वास्थ्य मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा.श्रीकृष्ण गिरीले गर्नुभएको थियो ।शिबिरमा प्यूठान जिल्लासहित छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची र गुल्मीका बिरामीहरुले पनि परीक्षण गराएका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live