मुख्य समाचार

सभामुखज्यू ! विशेष अधिकार प्रयोग गरेर भए पनि संशोधित विधेयक पारित गर्नुहोस् : डा केसी

सभामुखको पदीय मर्यादा र कार्यकुशलतामा प्रश्न उठ्ने अवस्था नआओस

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीले व्यवस्थापिका संसदको सभामुख ओनसरी घर्तीलाई विशेष अधिकार प्रयोग गरेर भए पनि संशोधित चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन्।

संसदको भोली अन्तिम बैठक बस्ने भएपछि डा केसीले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै माथेमा कार्यदलको मर्म अनुसार संशोधन गरिएको विधेयक संसदमा पेश गर्दै पारित गर्नुपर्ने बताएका हुन्। 

पत्रकार सम्मेलनमा डा केसीले भोलीका संसदमा सभामुखले जनताको पक्षमा सही रुपमा संसदको प्रमुखको नाताले उक्त विधेयक पारित गराउने अपेक्ष रहेको बताए ।

‘सभामुखले संसदको प्रमुखको नाताले संसदको बाँकी रहेको अवधिमा सक्रिय भुमिका खेलेर यो ऐनलाई सही रुपमा पारित गराउने अपेक्षा छ,’ डा केसीले भने, ‘त्यसो नभए संसदलाई कसैको स्वार्थको बन्धक बनाउन दिएमा संसदको गरिमाको साथै सभामुखको पदीय मर्यादा र कार्यकुशलतामाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था आउनेछ ।’ 

डा केसीको माग अनुसार संसदमा आज विधेयक पेस गर्ने तयारी भएको थियो। तर, आफु निकटका निजी कलेजलाई सहजै सम्बन्धन दिनसक्ने व्यवस्था राखेमात्र विधेयक अगाडि बढाउन दिने अडान लिएपछि संसदमा पेश हुन नसकेको हो ।

चिकित्सा शिक्षा विधेयक हाल अनसनमा बसेका डा गोविन्द केसीको सहमतिमा मात्र सदनमा ल्याउनुपर्ने दलहरुबीच सहमति भएको छ। डा केसीले विधेयकलाई तोडमोड गरेर माफियामुखी बनाइएको भन्दै आमरण अनशन सुरु गरेका छन्। 

डा केसीले आफूले विगतमा दिएका सुझाव र माथेमा कार्यदलको प्रतिवेदन अनुसार विधेयक पारित हुनुपर्ने माग राखेका छन्।

यसअघि पनि असोज ९ गते विधेयक संसदको कार्यसूचीमा राखिएको थियो । सोही दिन डा केसीले अनसन सुरु गरेपछि संसद २० गतेसम्मलाई स्थगित भएको थियो । संसद् स्थगित भएको र दशैं परेकाले डा केसीले अनसन स्थगन गरेका थिए । तर, संसद् सुरु भएसँगै तोडमोड गरेर विधेयक पास गराउन लागेको भन्दै डा केसीले १९ गतेबाट १३औं अनसन सुरु गरेका छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live