मुख्य समाचार

गलत मान्यता र खुवाउन नजान्दा समस्या

स्वास्थ्य खबरपत्रिका

पुष्पा चौधरी (बच्चाका साथमा) र गीता गौतम


बर्दियाकी पुष्पा चौधरीले १२ कक्षा पास गरेकी छिन् । २३ वर्षीया चौधरीको छोरा कुपोषित भयो । डेढ वर्षे छोरा बिरामी भइरहेपछि उनी उपचारका लागि नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल आइन् । चिकित्सकले उनलाई पोषण पुनःस्थापना केन्द्रमा भर्ना हुन भने । केन्द्रमा पुगेपछि मात्र उनले चाल पाइन्, बच्चालाई पर्याप्त स्तनपान र पोषिलो खाना नखुवाएका कारण कुपोषण भएको रहेछ । ‘बच्चालाई पोषिलो खानेकुरा र स्तनपान गराउनुपर्छ भन्ने जानकारी त थियो,’ उनले आफ्नो यथार्थ सुनाइन्, ‘तर सासुआमाले बच्चालाई धेरै दूध खुवाउनु हुँदैन, पचाउँदैन भन्दै खान दिनु हुन्नथियो ।’ उनले सासुआमाले पोषिलो खाँदा धेरै दूध आउँछ र दूध खेर जान्छ भन्दै आफूलाई समेत धेरै खानबाट रोकेको तीतो पोखिन् । 

चौधरीका अनुसार उनको आसपासका क्षेत्रका अरु सासुआमामा पनि यस्तै धारणा छ । गाउँमा अझै पनि सुत्केरीलाई फलफूल खुवाए रुघा लाग्छ भन्ने मान्यता रहेको उनले बताइन् । फर्सी, गेडागुडी, सागपात खान नदिने, अन्डा खाँदा पचाउन नसकेर रोग लाग्छ भन्ने र पानी समेत धेरै खान हुँदैन भन्ने धारणा धेरै आमामा रहेको उनले सुनाइन् । उनले गाउँमा आमाहरुमा रहेको गलत धारणा हटाउँदै आफूले पोषण गृहमा सिकेका कुरा गाउँमा सबैलाई सिकाउने बताइन् । 

बाँके कोहलपुरकी २० वर्षीया धनसरी कार्कीको पनि सासुआमा र गाउँलेको गलत सल्लाहका कारण दुईवर्षे छोरी कुपोषित भइन् । ८ कक्षासम्म पढेकी उनलाई पनि अन्डा, सागापात, गेडागुडी लगायतका पोषिला खानेकुरा खान दिइएन । अनि बच्चालाई पनि लिटो भनेर भात र दाल मात्र दिने गरिन्थ्यो । उनको घरमा केरा, फलफूल, सागसब्जी पर्याप्त छ । भन्छिन्, ‘घरमा भएकै खाने कुरा पनि हुँदैन भनेर खान दिइएन । तर, यहाँ आएपछि मात्र थाहा भयो केरा, सागसब्जी, गेडागुडी, माछामासु सबै मिलाएर खुवाउनुपर्ने रहेछ । खुवाउन नजान्दा र गलत सुझावका कारण छोरीमा समस्या देखिएको रहेछ ।’ उनी पनि आफूले जानेका कुरा गाउँमा गएर अरुलाई सिकाउने बताउँछिन् ।

पुनःस्थापना केन्द्रमा कार्यरत अनमी विमला शर्माका अनुसार केन्द्रमा धेरैजसो बच्चा खान नजानेकै कारण कुपोषित भएर आउने गरेका छन् । केन्द्रमा अहिलेसम्म एक हजार ९२ जना बालबालिकाले सेवा लिइसकेका छन् । तीमध्ये करिब २५ प्रतिशत मात्र गरिब थिए । बाँकीमा, भएर पनि खुवाउन नजानेका, खाना खुवाउनु हुँदैन भन्ने गलत बुझाइ भएका, वर्षैपिच्छे बच्चा जन्माउँदा सबैलाई खुवाउन नसकेका जस्ता कारण प्रमुख थिए ।

मोरङ रंगेलीकी मिरा पाठक ९ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि रंगेली अस्पतालमा पुगिन् । जाँचका क्रममा थाहा भयो, बच्चालाई मध्यम खालको कुपोषण रहेछ । ‘पोषिलो जाउलो बनाएर खुवाउन नजान्दा छोरा बिरामी प¥यो,’ उनले भनिन् ‘अहिलेलाई उहाँहरुले बालभिटा दिनुभएको छ ।’ घरमा खानेकुराको कुनै समस्या नभएको बताउने पाठक अब भने छोरालाई जाउलो पनि पोषिलो बनाएर खुवाउने बताउँछिन् । 

कृषि उत्पादनका हिसाबले मोरङमा कुनै समस्या नभए पनि बच्चालाई स्थानीय स्तरमै भएका खानेकुरा मिलाएर खुवाउन नजान्दा कुपोषणको समस्या देखिएको पोषण संयोजक जितेन्द्र साहको भनाइ छ । उनका अनुसार जिल्लामा पोषणको अवस्थामा धेरै सुधार आए पनि खुवाउने तौरतरिका नजान्नेहरुमा भने अझै समस्या रहेको बताए ।

सन्तुलित भोजन मिलाएर खान नजान्ने, स्थानीय उत्पादनलाई हेला गर्ने, जंकफुडको बढ्दो प्रयोग जस्ता कारण कुपोषण घटाउन उल्लेख्य प्रगति नभएको भन्दै कृषि मन्त्रालयले करेसाबारीमा विविधि तरकारी उत्पादन बढाउने कार्यक्रम ल्याएको छ। रैथाने उत्पादनलाई प्रोत्साहन दिने कार्यक्रमलाई देशभरि विस्तार गरेको बागबानी विकास अधिकृत सञ्जय धिमालले जानकारी दिए । ‘हामी खान नपाएर कुपोषित भएका होइनौं,’ उनले भने, ‘खान नजानेर कुपोषित भएका रहेछौं । एकैखालको उत्पादनमा भन्दा पोषणका हिसावले विविध खालका तरकारी तथा कृषि उत्पादनमा लागेका छौं।’

गलत मान्यतासँग जोडिएका समस्या

बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत वसन्त गैरेका अनुसार कुपोषणको समस्यामा प्रचलनसँग जोडिएका गलत मान्यता धेरै पर्छन् । सुदूर तथा मध्यपश्चिमतिर छाउपडी प्रथा, बच्चालाई खाना, माछा–मासु खुवाउन हुँदैन भन्ने मान्यता, सुत्केरीले सबैभन्दा अन्तिममा बाँकी रहेको खानु पर्ने वाध्यता, बालविवाह, परिवार नियोजनका साधान प्रयोगमा अनिच्छा, बच्चाका लागि छुट्टै खानेकुरा नबनाउने चलन जस्ता कारण पनि कुपोषणमा सुधार आउन सकेको छैन । कञ्चनपुरको महेद्रनगरस्थित पोषण पुनःस्थापना केन्द्रकी न्युट्रिसियन म्यानेजर इन्दिरा भट्टले केन्द्रमा आउने बालबालिकामा कुपोषण देखिनुमा परम्परागत मान्यतासँग जोडिएका गलत संस्कार प्रमुख रहेको बताइन् । 

‘अर्को डरलाग्दो पक्ष भनेको छोरा र छोरीमा रहेको विभेद पनि हो,’ उनी भन्छिन्, ‘छोरा नै हुनुपर्छ भन्ने गलत सोचले वर्षैपिच्छे सन्तान जन्माउँदा कुपोषणको समस्या देखिने गरेको छ ।’ उनका अनुसार सुत्केरी महिलाले बच्चालाई छाडेर काममा खटिनुपर्ने वाध्यताले पनि कुपोषणको चक्र रोकिएको छैन ।

गलत सिकाए

पुष्पा चौधरी, बर्दिया

हाम्रो गाउँतिर सुत्केरी महिलाले धेरै खान हुँदैन भन्ने चलन छ । ‘आमाले धेरै खायो भने धेरै दूध आउँछ र बच्चाले धेरै दूध खाए पचाउन नसकेर बिरामी हुन्छ’ भन्ने धारणा छ । मलाई पनि मेरो सासुले त्यही भनेर धेरै खान दिनु भएन । तर, त्यो त गलत धारणा रहेछ । मैले १२ कक्षासम्म त पढेँ, पोषणबारे केही जानकारी पनि थियो तर घरका ठूला मान्छेले हुँदैन भनेपछि कुरा काट्न सकिएन । आखिर पर्याप्त खान नपाउँदा म पनि दुब्ली भएँ, बच्चा पनि कुपोषित भयो । 

हाम्रो खेतबारीमा पाइने खानेकुरा नै तागतिलो रहेछ । हामीलाई त गाउँमा बच्चालाई केरा खुवाउनु हुँदैन चिसो लाग्छ, साग खुवायो भने हरियो दिसा गर्छ, माछा–मासु खुवाउनु हुँदैन पचाउन सक्दैन भनेर गलत कुरा पो सिकाइएको रहेछ । पोषण पुनःस्थापना केन्द्रमा आएपछि थाहा भयो, बच्चालाई यी सबै कुरा अनिवार्य रुपमा खुवाउनुपर्ने रहेछ । फलफूल खुवायो भने बच्चालाई रुघा लाग्छ भनेर खुवाएकै थियानौं । यही गलत बुझाइले बच्चा कुपोषित भयो ।

बच्चालाई खुवाउने फुर्सद हुँदैन

गीता गौतम, जाजरकोट

मेरो घर जान जाजरकोट सदरमुकामबाट हिँडेर तीन दिन लाग्छ । मेरा तीनवटा बच्चा छन् । कान्छो छोरा दुई वर्षको भयो । छोरालाई कुपोषणले समातेछ । म पोषण पुनःस्थापना केन्द्रमा पहिला पनि आएको थिएँ । यही बच्चालाई दुईपटक ल्याउनुप¥यो । तीन वर्षमा तीन वटै बच्चा जन्माएका कारण बच्चा कुपोषित भएको रहेछ । म पनि बिरामी भइरहन्छु । मेरा श्रीमान खेती किसानी गर्नु हुन्छ । घर गएपछि काममा खटिनुपर्छ । बच्चालाई खुवाउने फुर्सदै हुँदैन । घरमा भएकै कुरा पनि मिलाएर खुवाउन जानेकी रहेनछु । पुनःस्थापना केन्द्रमा आएपछि धेरै कुरा छर्लङ्ग भएको छ । यहाँ सिकेका कुरा गाउँका अरु आमाहरुलाई सिकाउनेछु ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live