फिचर

हेल्थ असिस्टेन्ट रञ्जु एनआरएनएको महिला उपाध्यक्ष उठ्दै

img

डिबी खड्का

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए) को शनिबारदेखि काठमाडौंमा आठौं महाधिवेशन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशन महिला उपाध्यक्षमा हाल अष्ट्रेलिया निवासी रञ्जु वाग्लेले दाबी गरेकी छिन्। 

एनआरएनएकी वर्तमान प्रवक्ता समेत रहेकी उनले लामो समयदेखि एनआरएनए अन्तर्गतका विभिन्न ठाउँमा रहेर काम गरिरहेकी छिन्। पछिल्लो केही वर्षदेखि केन्द्रीय नेतृत्वमा रहेकी उनले यसपल्ट महिला उपाध्यक्ष बन्ने योजना सहित काठमाडौं पुगेकी छिन्। 

एनआरएनएमा महिलाहरुलाई नेतृत्व तहमा अवसर दिनुपर्छ भनेर लड्दै आएकी उनी नेपालमा रहँदा हेल्थ असिस्टेन्ट पेसामा थिइन्। चितवनमा जन्मेहुर्केकी रञ्जु सांसद गीता वाग्लेकी छोरी हुन्। 

एकातिर आमाको प्रभाव अर्कातिर आफूले गरेको संघर्षले नेतृत्वका लागि सक्षम बनाएको उनी बताउँछिन्। भन्छिन्, ‘आमा सांसद हुनुहुन्छ। मामा रुपचन्द्र विष्ट चर्चित नेता हुनुहुन्थ्यो। त्यो रगतले पनि मलाई नेतृत्वका लागि दाबी गर्ने बनायो होला।’

बिहीबार होटेल र्‍याडिसनमा भेटिएकी उनले आफू हुर्किदा पुलपुलिएर हुर्केको तर विवाहपछि पाएको दुःखले आजको स्थानमा ल्याइपुर्‍याएको बताइन्। ‘चितवनको राम्रो परिवारमा जन्मेँ र हुर्कें। बिजुलीबत्ती समेत नभएको गाउँको केटासँग विवाह गरेँ। त्यसपछि मलाई दुःख अनुभव भयो। महिला हुनुका पीडालाई त्यो बेला महसुस गरेँ,’ उनले भनिन्। 

विवाहपछि आफ्ना लागि आफैं केही गर्नुपर्छ भनेर हेल्थ असिस्टेन्ट पढेको बताउँछिन् उनी। पढाइपछि उनले हेल्थ असिस्टेन्टका रुपमा केही प्रोजेक्टमा काम गरिन्। उनको प्रोजेक्ट परिवार नियोजन सम्बन्धी थियो। उनले विभिन्न पाँच गाउँमा पुगेर यस सम्बन्धी जनचेतना फैलाउन काम गरिन्। परिवार नियोजन सम्बन्धी साधन र सल्लाहका लागि महिलाहरु लुकीलुकी आएको भेटेकी थिइन् उनले। यसले आफ्ना तर्फबाट महिला सशक्तीकरणका लागि जुट्ने प्रेरणा उनलाई मिलेको थियो। 

त्यसपछि श्रीमानसँगै अष्ट्रेलिया पुगेकी उनी अहिले त्यहाँकी सफल व्यवसायी मानिन्छिन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live