मुख्य समाचार

एमाले प्रमुख सचेतक भन्छन्: चिकित्सा शिक्षा विधेयक पारित हुन दिँदैनौं

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले एमालेको सहमतिबिना चिकित्सा शिक्षा विधेयक अघि नबढ्ने बताएका छन्।

व्यवस्थापिका संसदको अन्तिम बैठक सुरु हुनुभन्दा केही घन्टाअघि सभामुख ओनसरी घर्तीसँग भएको छलफलमा एमाले नेताहरुले समितिको प्रतिवेदन हेरफेर गरे मात्र पारित हुन सक्ने जिकिर गरेका थिए। 

चिकित्सा शिक्षा विधेयक संशोधन सहित पारित गर्न माग गर्दै डा गोविन्द केसी अनसन बसिरहेका छन्। संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले तयार पारेको प्रतिवेदनमा एमालेको लगानी रहेको मनमोहन र माओवादी केन्द्रको लगानी रहेको बिएन्डसीलाई प्रक्रिया पुर्याएर सम्बन्धन दिने व्यवस्था राखिएको थियो।

‘सबै दलका सांसद सहभागी संसदीय समितिले पारित गरेको प्रतिवेदन परिर्वतन गर्न खोजे हामीलाई मान्य हुनेछैन,’ प्रमुख सचेतक ढकालले भने, ‘मापदण्ड पुगेको मेडिकल कलेज सञ्चालन नै गर्न हुँदैन भनी रोक्ने खोजे हामी त्यसको विपक्षमा उभिन्छौं।’

एमालेसँग सहमतिमा मात्र विधेयक संशोधन हुने भन्दै ढकालले अहिले परिर्वतन हुने कुनै पनि सम्भावना नभएको बताए। समितिकी सभापति रञ्जु झा अन्तर्राष्ट्रिय युवा मन्त्रीहरुको सम्मेलनमा भाग लिन मस्को गएकी छन्। उनी नआएसम्म समितिको बैठक बस्न नसक्ने र संशोधन पनि नहुने एमालेको तर्क छ। तर सभामुख घर्तीले संसद बैठक सुरु हुनुअघि साढे २ बजे पुन: शीर्ष नेताको बैठक बोलाएकी छन्।

यसअघि अनुमतिपत्र पाएका मेडिकल कलेजहरुलाई कानुनले तोकेको मापदण्ड पुगेमा सम्बन्धन दिन बाधा नपर्ने व्यवस्था राखिएको थियो। पछिल्ला केही दिनका संसद बैठकमा विधेयक संशोधन गर्दै पारित गराउन सरकारले पहल गरे पनि एमालेका अवरोधका कारण असफल हुँदै आएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live