विचार/ब्लग

जनताकै हितमा छ ‘जेल विथआउट बेल'

डा.पदम नेपाली

देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र कुटपिट बढेर सीमा नागेपछि हामी चिकित्सक नचाहेर पनि आफ्नो पेशागत हकहित र सुरक्षाका लागि आन्दोलनमा उत्रनुपर्ने वाध्यता आइपर्यो। प्रत्येक दिनजसो साँझ, बिहान र दिउँसो हरेक पल देशको विभिन्न अस्पताल र स्वास्थ्य सस्थामा चिकित्सक तथा स्वास्थाकर्मी कुटिएको र भौतिक संरचनामाथि तोडफोड गरिएको समाचार सामान्य जस्तै बन्यो। 

जहाँ जस्तो कारणले बिरामीको मृत्यु भए पनि लापरबाही भयो भनेर लाखौं रुपैयाँ माग गर्ने,तोडफोड गर्ने र बिरामीका आफन्तलाई भड्काउने गिरोह नै सक्रिय भयो। मेडिकल साइन्समा लापरबाही भएको हो कि होइन भन्ने कुरा विज्ञहरुको टोलीले नै निर्धारण गर्न सक्ने विषय हो। तर यहाँ त भटाभट बिरामीका आफन्त, लाभ असुल्ने गिरोहका दलालहरुले उनीहरुलाई चित्त नबुझेको केसमा लापरबाही घोषणा गर्दै भाँडभैलो मच्चाउने चलन बस्यो। 

यता ठूलादेखि साना सम्पूर्ण स्वास्थ्य संस्था र अस्पतालले केस साम्य पार्न र अस्पतालको विश्वसनीयता गुम्न सक्ने डरले लाखौं लाख रुपैयाँ क्षतिपूर्तिको नाममा तिर्दै गए। परिणाम स्वरूप एउटा गिरोह अस्पातल-अस्पताल घुमेर नक्कली आफन्त जम्मा गर्ने र हुलदंगा गर्ने, अनि अस्पतालबाट पैसा असुलेर आफ्नो भाग खोज्ने कार्यमा सक्रिय भयो भने बिरामीका आफन्त पनि उपचार खर्च तिर्न नपर्ने र पैसा पाउने लोभले यस्ता घटनालाई उचाल्दै गए।

तत्काल यसको प्रत्यक्ष मारमा स्वास्थ्यकर्मी र चिकित्सकहरु परे। निर्भिकतापूर्वक आफ्नो सीप, ज्ञान र विवेक प्रयोग गरेर चिकित्सकले काम गर्ने वातावरण रहेन। बिरामी छुँदा जटिल केस हेर्ने कि नहेर्ने भनेर सोच्नुपर्ने अवस्था भयो। किनकि मेडिकल विज्ञानले जादूको भरमा सबै बिरामी निको हुँदैनन् र नसोचेको परिणाम पनि आउन सक्छ भनेर सिकाएको छ तर त्यसो हुँदा कुटाइ खाने डर भयो। 

यसको मारमा तत्काललाई चिकित्सक-स्वास्थायकर्मी परेको देखिए पनि दीर्घकालमा यसको शिकार हुने जनता नै हो। त्यसैले सर्वसाधारणकै हित र हाम्रो पेशागत सुरक्षाको लागि 'जेल विथआउट बेल' को कुरा उठाएका हौं।

कुनै घटनामा साँच्चिकै चिकित्सकीय पद्दतिबाट बाहिर गएको, लापरबाही भएको (जुन विज्ञहरुको अनुसन्धानले पुस्टि हुनुपर्नेछ) पाइएको खण्डमा हामी चिकित्सक र स्वास्थायकर्मीलाई पनि कारबाही हुनुपर्छ। हामी कारबाही भोग्न तयार छौं भन्ने कुरामा दुईमत छैन। तर, हाम्रो मुख्य चासो अस्पातालमा भीड र मिडियाले लापरबाहीको निर्क्यौल गर्ने परिपाटी अनि त्यसपछि हुने, हातपात, कुटपिट र तोडफोडको घटनाको विरुद्धमा हो। यस्ता कार्यले चिकित्सकहरु त्रासमा हुन्छन्, आफ्नो टाउको कसरी बचाउने भन्ने सोचाइ नै पहिलो प्राथामिकता बन्छ। 

उच्च जोखिममा भएको बिरामीलाई भर्ना लिएर जोखिम मोल्न कोही चिकित्सक तयार हुँदैन। किनभने सिकिस्त र जोखिममा भएको बिरामीलाई बचाउने प्रयास गर्दा सधैं सफल भइन्छ भन्ने छैन। केही भवितव्य पर्यो भने फेरि लापरबाही गरेको आरोप खेप्नुपर्छ। कहिलेकाहीँ शल्यक्रियाको जटिलता र औषधिको प्रतिक्रियाले पनि बिरामीको मृत्यु हुन सक्छ। जुन चिकित्सकको नियन्त्रण बाहिरको कुरा हो। यसलाई लापरबाही भन्नु एकदम गलत हो। 

असफलताका केसहरु सयमा १-२ मात्र हुने हो अरु त सफल नै हुन्छ। तर, त्रासपूर्ण वातवरणले गर्दा चिकित्सकले बिरामी रेफर मात्र गर्नुपर्ने अवस्था आउँदा एक त टाढाटाढा खर्च गरेर लग्न नसक्ने बिरामीले उपचार पाउँदैनन् भने अर्को सिकिस्त बिरामी लैँजादै गर्दा बाटोमै पनि कुनै अनर्थ हुन सक्छ। त्यसैगरी टाढा लानुपर्दाको खर्चको त कुरै नगरौं।

यदि, भयरहित वातावरणमा काम गर्न पाउने हो भने आफ्नो र अस्पतालको क्षमता अनुसार चिकित्सकले सबैलाई उपचार दिन्छ र साच्चिकै रेफर गर्नुपर्नेलाई मात्र गरिन्छ। सबैले उपचार पाउँछन्, धेरैको ज्यान बच्छ। 

यदाकता भवितव्य पर्यो भने कानुनी बाटो समाउनुपर्छ। तर, अहिले सिधै चिकित्सक पिट्ने, तोडफोड गर्ने र मार्छु-काट्छु भनेर धम्काउने परिपाटी छ। त्यसैले यस्तो कार्यमा संलग्नलाई धरौटीमा रिहा नगर्ने र केही समय थुनामै राखेर कारबाही अगाडि बढाउने कानुनको माग हो 'जेल विथआउट बेल'। आफैँ न्यायाधीश, आफैँ पुलिस बन्ने यस्ता व्यक्तिलाई धरौटीमा छोड्दा दण्डहीनताले अझ प्रश्रय पाउँछ र यस्ता घटाना अझै दोहोरिन्छन्। 

यस्ता घटना दोहोरिए त्यसको मूल्य अन्ततः फेरि आमसमुदायले नै चुकाउनुपर्ने हुन्छ। त्यसैले सरकार,व्यवस्थापिका संसदका माननीयज्युहरु लगायत सम्पूर्ण सरोकारवाला पक्ष 'जेल विथआउट बेल'को पक्षमा उभिदिनुहुन अनुरोध छ।

पुन: स्मरण गराउन चाहन्छु, 'मान्छे बचाउँछु, बिरामी निको पार्छु भनेर' चिकित्सक बनेको व्यक्तिले आफ्नो बिरामीलाई किन मार्छ होला र मारेर उसले के पाउला? आफैँ मनन गरौँ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live