मुख्य समाचार

एमबिबिएसका विद्यार्थीलाई चिट चोराउने गिरोहका नाइके पक्राउ 

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइसमार्फत चिट चोराउने गिरोहका नाइके पक्राउ परेका छन्।

काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइके समीर झालाई प्रहरीले पक्राउ गरेको हो। 

झासहित तीन जनालाई सिन्धुलीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी उमाशंकर पञ्जियारले बताए । त्यस्तै, प्रहरीले गिरोहका अन्य पाँच जना सदस्य र प्रवेश परीक्षामा चिट चोर्ने ६ जना विद्यार्थीलाई पनि शनिबार नै पक्राउ गरेको छ। 

गिरोहका सदस्यहरु शैलेन्द्रकुमार झा, मुकेश राय, आशुतोष झा, अजय यादव र हिरेन्द्र शर्मालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य डिभाइसमार्फत चिट चोर्ने विद्यार्थीहरू सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, महोत्तरीका महेन्द्र ठाकुर र राजीव सिंह तथा धनुषाका सञ्जय यादव छन् । उनीहरूले सयौँ विद्यार्थीलाई त्यसरी चिट चोराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको पञ्जियारले बताए ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को एमबिबिएस प्रवेश परीक्षामा सयौं विद्यार्थीलाई सो समूहले म्याग्नेटिभ साउन्ड डिभाइसमार्फत चिट चोरी गराएको प्रहरीले जनाएको छ । त्यसरी चिट चोराएवापत पाँच लाख रुपैयाँसम्म लेनदेन हुने गरेको थियो।

पक्राउ परेकामाथि प्रहरीले ठगी र संगठित अपराध मुद्दा चलाउने तयारी गरेको छ । देशको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई नै असर पुर्‍याउने गरी संगठित रूपमा अपराध गरेकाले संगठित अपराध मुद्दा चलाइने पञ्जियारले बताए ।  ‘यो यसअघिको नक्कली प्रमाणपत्रधारी चिकित्सकजस्तै गम्भीर विषय हो, त्यसकारण यो विषयलार्इ हामीले गम्भिर रुपमा लिएका छाै‌ उनीहरुविरुद्ध कडा सजाय हुने गरी मुद्दा चलाउँनेछौँ’ एसपी पञ्जियारले भने ।

यसअघि ९ वैशाखमा पनि यस्तो प्रविधिमार्फत चिट चोरी गर्नेहरू पक्राउ परेका थिए । डाक्टरको विशेषज्ञ तह एमडि/एमएसको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी गर्ने अभिषेक आचार्य र मनसा भोहरालाई प्रहरीले पक्राउ गरेको थियो । भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट तथा आचार्य कमलपोखरीस्थित किस्ट कलेलबाट पक्राउ परेका थिए । त्यतिवेला दुवैजना सोर्सफोर्सका आधारमा छुटेका थिए । 

यसरी चोरिन्थ्यो चिट ?

प्रहरीका अनुसार उनीहरुले म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोर्ने गरेका थिए।  यसका लागि उनीहरूले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए । जसको सानो तार पाखुरासम्म पुर्‍याइएको थियो । त्यसको सम्पर्क कानमा नदेखिने गरी राखिएको अर्काे म्याग्नेटिभ डिभाइससँग सम्बन्ध हुन्छ । शरीरमा राखिएको डिभाइसमा फोनमार्फत सम्पर्क हुने र कुनै ठाउँमा भएका व्यक्तिहरूले सबै प्रश्नको जवाफ भनिदिने गर्थे । सोहीअनुसार उनीहरूले सबै प्रश्नको जवाफ मिलाउने गरेका छन् ।


यो पनि पढौं:

डा केसीका हरेक आन्दोलनमा किन पुग्छन् हनुमानजी ?

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live