मुख्य समाचार

एमबिबिएस प्रवेश परीक्षा चिट काण्ड : रिजल्ट रोकियो, परीक्षा रद्द भएन

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस प्रवेश परीक्षामा चिट चोर्ने र चोराउने फेला परेपछि हाललाई उक्त परीक्षाको नतिजा (रिजल्ट)  स्थगित गरेको छ।

शनिबार काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसमा सञ्चालित प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षा चल्दाचल्दै बाहिरिएको र केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरेर परीक्षा दिएको पुष्टि भएपछि उक्त परीक्षा नै रद्द गर्नुपर्ने माग विद्यार्थीले गरेका छन्। तर, आइओएमले भने नतिजा मात्र रद्द गरेको छ।

संस्थानले सूचना निकालेर ८ जना नक्कली परीक्षार्थी र चिट चोर्ने ३ जना गरी ११ जना अनुसन्धानको दायरामा रहेकाले शनिबार लिइएको परीक्षाको नतिजा प्रकाशन स्थगित गरिएको जानकारी दिएको छ।

प्रश्नपत्र पहिले नै गिरोहले पाएकोमा भने यसमा आईओएमको समेत संलग्नताको आशंका गरिएको छ ।

आइओएममा अध्ययनरत विद्यार्थीहरु र उक्त परीक्षामा सहभागि विद्यार्थीले भने परीक्षा खारेज गरी अर्को परीक्षा लिन माग गरेका छन् । परीक्षामा सहभागी ३३ जना विद्यार्थीले आज उक्त परीक्षा पुन सञ्चालन गर्नुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिल, आइओएम र शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्।

परीक्षामा चिट चोराउने गिरोहलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ । गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । त्यस्तै दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाएको छ । बिद्यार्थीहरुलाई भने प्रहरीले छाडिदिएको छ । 

गिरोहका नाइके समिर झासहित शैलेन्द्र कुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजय कुमार यादब, ज्ञानेन्द्र ठाकुर र अजय यादबलाई विधुतिय कारोबार ऐनअनसार कारबाही अघि बढाएको हो । त्यस्तै, भारतीय नागरिकद्धय सुविशदेव र सौभरकुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ । त्रिवि आइओएममा एमडी अध्ययनरत सुशिवदेवले एक बिद्यार्थीको परिक्षा दिन जाँदा पक्राउ परेका थिए । 

संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत चिट चोराएको थियो ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live