नर्सिङ

ड्युटीका कारण साइतको भाइटीका छुट्यो

 रीना श्रेष्ठ, नर्सिङ प्रशासक वीर अस्पाताल

नर्सलाई मात्र होइन, सबैलाई चाडबाडको समयमा घरपरिवारसँग बसेर रमाइलो गर्न मन लाग्छ । चाडवाडमा घर र अफिसको तारतम्य मिलाउनै मुश्किल पर्छ।

अन्य पेशामा जस्तो हामी सबैलाई एकै पटक बिदा बस्न मिल्दैन। ड्युटी जतिबेला पनि पर्न सक्छ। त्यसैले चाडवाडका अरु पेशाकर्मीले जस्तो घर बस्न पाउने मौका कमै मिल्छ। 

मैले नर्सिङ पेशा थालेको २३ वर्ष भयो। सुरुवाती दिनमा म थापाथलीस्थित  प्रसूति गृहमा काम गर्थें।  

त्यतिबेला म्हःपूजा र भाईटीकाको समयमा बिदा नपाउँदा निकै नरमाइलो लागेको थियो।  हामी नेवार जातिका लागि म्हः पूजा निकै महत्वपूर्ण चाड हो भने तिहार पनि उत्तिकै रमाइलो गरी मनाउँछौं। 

एकपल्ट तिहारका बेला राजधानी बाहिरका साथीहरुलाई उपत्यकाकै साथीहरुले पालो दिने भन्ने भयो । अस्पतालको डुयुटीका कारण भाइटीका लगाउन साइतमा घर पुग्न सकिनँ । त्यो बेला महशुस भएको दुःख अझै बिर्सेकी छैन। 

हुन त हामीले यो पेशामा आउँदा नै यस्ता कुराहरुले ‘काम र बिरामीको स्वास्थ्यमा असर पर्न दिन्नौं’ भन्ने प्रण गरेका हुन्छौं।

अहिले त बानी परिसकेको छ। चाडवाडमा छुट्टी नहुँदा हामी अस्पतालमै एकआपसमा शुभकामना आदान प्रदान गरेर रमाइलो गर्छौं। चाडवाडमा घर बस्न पाइएन भनेर चित्त दुखाउन थालियो भने बिरामीलाई सेवा दिन सकिदैन।  

हामी नर्सले  चाडबाडको समयमा ड्युटी पर्दा अस्पतालमै  बिरामीको सेवामा रमाउन सिकिसक्यौँ। सुरु–सुरुमा खल्लो लागे पनि आजकाल खुसी नै लाग्छ।

अनि अस्पतालमा कति बिरामीहरु पनि चाडवाडमा घर जान सक्दैनन्। उनीहरुलाई हेरेर पनि मन बुझाउछौँ।

पुरुषको तुलनामा महिलालाई चाडवाडमा छुट्टी नहुँदा समस्या हुन्छ। किनकि घरको व्यवस्थापन पनि महिलाकै जिम्मामा हुन्छ। 

चाडवाडको किनमेल लगायतका कामदेखि अफिसको काम मिलाउन सहज हुन्न।

मेरो श्रीमान् र परिवार बुझ्ने भएर मलाई त्यति समस्या छैन। तर, साथीहरुले कुरा सुनाउँदा निकै दुःख लाग्छ। 

उनीहरु बिहानै ड्युटी आउने, फेरि किनमेल अनि घरको काम मिलाउन नसक्दा गाह्रो भएको कुरा गर्छन्। परिवारले सहयोग नगरेको देख्दा र सुन्दा निकै दुःख लाग्छ।

श्रीमान् र परिवारले जुन नर्सलाई सहयोग गर्दैन, ऊ अगाडी बढ्नै सक्दैन । हाम्रो समाजले पछिल्लो समय छोरीलाई पढाउनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने सिकायो तर ती महिलाले घरमा गर्ने काममा पुरुषले पनि सहयोग गर्न आवश्यक छ भन्ने कुरा सिकाएन। यसकारण धेरै महिलाहरु दोहोरो–तेहेरो जिम्मेवारीले थिचिएका छन्।

मेरो दुई दाजुभाई र एक दिदी हुुनुहुन्छ। दुई जुम्ल्याहा छोरी छन्। उनीहरु पनि नर्स नै हुन्। उनीहरु अहिले अष्ट्रेलियामा बस्छन्। मैले भर्खरै निजी अस्पतालमा काम गरेर हुन्न, सरकारी सेवा गर्नुपर्छ भनेर लोकसेवाबाट नवौं तहमा नाम निकालेर वीरमा आएकी छु।

यहाँबाट नर्सका लागि केही राम्रो गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live