प्रवास

युएई बन्न सक्छ नेपाली डाक्टरको गन्तव्य

स्वास्थ्य खबरपत्रिका

खाडी मुलुक संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपालीका लागि चिरपरिचित मुलुक हो । यहाँ थुप्रै नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । यहाँ श्रमिकदेखि लिएर प्रविधिको क्षेत्रमा उच्च तहमा समेत नेपालीहरु कार्यरत छन् । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रका उच्च जनशक्ति पनि पुगेका छन् । युएईको अल नूर हस्पिटल ग्रुपको अल यहर क्लिनिकमा कार्यरत डा. रबिन्द्रकुुमार यादवले त्यहाँको स्वास्थ्य प्रणाली र खाडी मुलुकमा कार्यरत नेपालीका स्वास्थ्यका बारेमा आफ्ना अनुभव बाँडेका छन् । प्रस्तुत छ डर्माटोलोजिस्ट डा. यादवसंगको कुराकानीका सम्पादित अंश :

संयुक्त अरब इमिरेट्सको स्वास्थ्य प्रणाली कस्तो छ ?

संयुक्त अरब इमिरेट्समा स्वास्थ्य प्रणाली मूलतः बीमामा आधारित छ । यहाँ बस्ने हरेक व्यक्तिसँग स्वास्थ्य बीमा हुन्छ । सरकारी होस् वा गैरसरकारी, बिरामी स्वास्थ्य संस्थामा पुगेपछि आफ्नो स्वास्थ्य बीमा कार्ड प्रस्तुत गरेपछि उपचार पाउने गर्छन् । बीमा कार्डको प्रिमियमका आधारमा उसले पाउने सुविधा निर्धारण गर्छ । तर अत्यावश्यक सेवा न्युनतम प्रिमियमवाला कार्डले पनि उपलब्ध हुन्छ ।

यहाँका नागरिकका लागि सरकारले उच्चतम मुल्यवाला स्वास्थ्य बीमा कार्ड निःशुल्क वितरण गरेको हुन्छ । त्यसबाट सबै प्रकारका स्वास्थ्य सेवा (सौन्दर्य बाहेक) र औषधि निःशुल्क पाउँछन् । विदेशबाट रोजगारी गर्न आएका व्यक्तिका लागि रोजगारदाता कम्पनीले कामदारको श्रेणी हेरी स्वास्थ्य बीमा खरिद गरेको हुन्छ र निःशुल्क रुपमा कामदारलाई प्रदान गरेको हुन्छ । उच्च ओहोदाका कामदारका लागि ‘इन्हान्स्ड प्लान’ वाला कार्ड दिएको हुन्छ । परिवारको साथमा बस्ने व्यक्तिको हकमा प्रायः कम्पनीले श्रीमती र दुई बच्चासम्मको स्वास्थ्य बीमा प्रदान गरेका हुन्छन् । स्वरोजगार वा आफनो व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिले पनि यहाँ बसोवास गर्ने इजाजत प्राप्त गर्न स्वास्थ्य बीमा गरेको कार्ड र प्रमाण अध्यागमन विभागमा पेस गर्नुपर्छ ।

यहाँका अस्पताल अत्यन्त आधुनिक र सुविधासम्पन्न छन् । दुर्गम (रेगिस्तान) क्षेत्रमा पनि सरकारले स्वास्थ्य सेवा पु¥याएको छ । केही दशक पहिला सरकारी स्वास्थ्य संस्था मात्रै थिए भने विगतको दशकमा स्वास्थ्य बीमाको प्रावधान लागु भएपछि गैरसरकारी तथा निजी क्षेत्रको लगानीबाट थुप्रै अस्पताल खुलेका छन् ।

कामदारका लागि स्वास्थ्य सेवा कस्तो छ ?

कुनै पनि कम्पनीले स्वास्थ्य बीमा गरेको प्रमाण अध्यागमन विभागमा पेस नगरेसम्म कामदारले युएई बस्ने अनुमति प्राप्त गर्न सक्दैन । त्यस हिसाबले यहाँको कानूनले सबै कामदारलाई स्वास्थ्य सेवाको हक बाध्यकारी गरेको छ ।

नेपाली कामदारले यसको लाभ कत्तिको उठाउन सकेका छन् ?

सामान्यतया नेपाली कामदारले पनि बीमाको लाभ उठाएकै हुनुपर्छ । केहीले सदुपयोग गर्न नसकेका पनि होलान् । त्यो भाषाका कारणले हो । अरबी र अंग्रेजी दुबै भाषाको ज्ञानको अभावमा अस्पतालमा कुराकानी गर्न अप्ठेरो भएर रोजगारीमा आएका धेरै नेपाली उपचार सेवाबाट बञ्चित छन् । बरु नेपालमै छुट्टिको बेला स्वास्थ्य सेवा लिन उचित ठान्छन् । तर अत्यावश्यक सेवा त यहाँ लिन्छन् नै । केही सेवाहरु बीमा कार्डबाट पनि लिन सकिदैन । जस्तैः छाला रोगमा, सौन्दर्यसम्बन्धी समस्या, मानसिक रोगको उपचार, बाँझोपनको उपचार आदि । बीमा कार्डले स्क्रिनिङको छुट पनि दिँदैन । यसको अर्थ, आफनो सन्तुष्टीका लागि कुनै समस्या नभए पनि गर्ने रगत जाँचहरु आदि ।

कामदार बिरामी भएपछि १५ दिनसम्म तलबसहितको बिरामी बिदाको छुट दिएको छ । त्यसपछि आधा तलबको बिरामी बिदा र तलब बिनाको बिरामी बिदाको व्यवस्था पनि छ । तर पटक–पटक विरामी परिरहँदा र उपचार गराएर पनि अरुलाई प्रभावित हुने गरी बिरामी पर्दा भने रोजगारदाताले करार रद्द गर्नुपर्ने प्रावधान श्रम कानुनमा छ । बीमाको सही सदुपयोग गर्ने तरिकाका बारेमा बैदेशिक रोगजार विभागले नै नेपालमै परामर्श दिँदा अझ उपयुक्त हुन्छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले कसरी त्यहाँको स्वास्थ्य सेवाबाट अधिकतम लाभ लिन सक्छन् ?

नेपाली कामदारहरुले बुझनुपर्ने कुरा के हो भने न्युन आयवाला कामदारसँग बाहेक स्वास्थ्य बीमा कार्डबाट उनीहरुले जनरल फिजिसियनलाई सिधै भेट्न पाउँछन् । अस्पताल जाँदा लाग्ने परामर्श शुल्कको ८० प्रतिशत बीमा कम्पनीले अस्पताललाई दिन्छ, करिब २० प्रतिशत भने कामदारले नै दिनुपर्छ । तर शल्यक्रिया र अस्पताल भर्नाको क्रममा लाग्ने सबै खर्च बीमा कम्पनीले नै अस्पताललाई दिन्छ । कतिपय परिस्थितिमा अस्पतालले बीमा कम्पनीको पूर्व अनुमति लिएर मात्रै शल्यक्रिया वा भर्ना गर्नुपर्छ ।

आवश्यक रोगहरुमा यो सोझै प्राप्त हुन्छ । बहिरंग विभागमा लेखिएको औषधि किन्दा औषधि खर्चको ७० प्रतिशत बीमा कम्पनीले औषधि पसल लाई दिने हो भने विरामीले ३० प्रतिशत दिनुपर्छ । जनरल फिजिसियनले रिफर गरेपछि मात्र उसले विशेषज्ञलाई भेट्न पाउँछ । प्राय अस्पतालहरुमा अपोइन्टमेन्ट सिस्टमबाट चल्ने भएकाले बिरामीले फोनबाट पहिल्यै अपोइन्टमेन्ट लिएर आउनु राम्रो हुन्छ । तर गम्भीर प्रकृतिको समस्यामा अस्पतालको बहिरंग विभागमा नै गई सिधै आपतकालिन सेवा अर्थात् इमर्जेन्सीमै जानु राम्रो हुन्छ ।

अर्को प्रमुख कुरा के हो भने बीमा कम्पनीले एक वर्षको बीमा गर्छ भने अध्यागमन विभागले २ वर्षको सेवा अनुमति प्रदान गर्छ । कतिपय अनैपचारिक घरेलु कामदारका घरधनीले भने यसको दुरुपयोग गर्छन् । एक वर्षको स्वास्थ्य बीमाको आधारमा २ वर्षको आवासीय अनुमति लिएर अर्को वर्ष बीमा नगरिदिने पनि हुन्छन् । तर स्वास्थ्य बीमा उसको अधिकार भएकाले आफैंले जोड गर्नुपर्छ ।

त्यहाँ नेपाली डाक्टर छन् कि छैनन्, अवसर कस्तो छ ?

युएईमा मेरो जानकारीका नेपाली डाक्टर खासै छैनन् । तर मेरो जानकारी सीमित हुन सक्छ । तर यहाँ आवश्यकता छ । नेपाली चिकित्सकहरुले यो देशलाई पनि करिअरको गन्तव्य बनाउन सक्छन् । सन् २०१४ मा तयार भएको विशेषज्ञ चिकित्सकको लाइसेन्स लिनका लागि मान्यताप्राप्त पोष्ट ग्रेजुयटको सूचीमा नेपालको नाम छैन । यसका लागि त्रिभुवन विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयले युएईको दूतावासमा सम्पर्क राखेर नेपालको पोष्ट ग्रेजुयट डिग्रीको मान्यता दिलाउन प्रयास गर्नुपर्छ । अर्कोतिर बैदेशिक रोजगार विभागले चिकित्सक पनि म्यानपावर एजेन्सीमार्फत् जानुपर्ने सोच राख्नुभएन ।

तपाईंका विशेषज्ञतामा उपचार अनुभव के छ ?

मेरो विशेषज्ञता छाला रोग, यौन तथा सौन्दर्यको क्षेत्रमा हो । नेपालभन्दा केही फरक जरुर छन् । पहिला त यहाँ उपचार प्रक्रिया हेल्थ अथोरिटीको निर्देशिकाअनुसार गर्नुपर्छ । हरेक क्षेत्रमा निर्देशिका छन् । जसको अनुगमन भइराखेको हुन्छ । चिकित्सक सजग रहनुपर्छ । मेरो विशेषज्ञतामा धेरै रोगहरुको उपचार स्वास्थ्य बीमाबाट उपलब्ध छैनन् । जस्तै : डण्डीफोर, पोतो, कालो दाग, सेतो दाग आदि । तर पनि मकहाँ आउने उपभोक्तामा आर्थिक समस्या हुँदैन । त्यसैले यहाँ सजिलै विभिन्न किसिमका महंगा उपचार प्रवधिको प्रयोग गर्न सक्छु ।


युएइको स्वास्थ्य बीमा प्रणाली अनुभव गर्नुभएको छ, देख्नुभएको छ । नेपालको स्वास्थ्य प्रणाली सुधार गर्न के गर्नुपर्छ ?

नेपालले क्रमिक रुपमा स्वास्थ्य सेवा क्षेत्रमा निकै प्रगति गरेको छ । सीमित स्रोतमा प्राप्त ती उपलब्धिको हामीले उच्च मूल्यांकन गर्नुपर्छ । तर पछिल्लो समयमा विकसित भइरहेका लापरबाही, गैरजिम्मेवारीपन जस्ता प्रवृत्तिलाई रोक्न नियमन र निगरानी प्रक्रियालाई बलियो बनाउनु जरुरी छ । बीमा प्रणालीको अध्ययन गरी नेपालमा लागु गर्नुपर्छ ।


नेपाली कामदारले कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छन् ?

उच्च तापक्रममा खुल्ला आकाशमुनी काम गर्दा बीचमा पनि केही राख्ने, आफनो पूरै शरीर सुति कपडाले ढाकेर मात्र काम गर्नुपर्छ । नत्रभने हर्टअट्याक, स्ट्रोकजस्ता समस्याबाट पीडित हुने सम्भावना रहन्छ । खानामा बढी मासु, चिनीयुक्त गुलियो, बोसोजन्य पदार्थको प्रयोग सकेसम्म कम गर्नुपर्छ । किनभने यो मुलुकमा उच्च रक्तचाप र मधुमेह धेरै हुने सम्भावना छ । कुर्सीमा बसेर काम गर्ने मानिसले तापक्रममा कम भएका बेला शारीरिक व्यायाम गर्नु जरुरी हुन्छ । सिमेन्ट, केमिकलजस्ता पदार्थसँग काम गर्ने व्यक्तिले आफनो शरीरलाई राम्ररी ढाकेर पञ्जा लगाएर मात्र काम गर्नुपर्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने