विश्व स्वास्थ्य

घरभित्रको वायु प्रदूषणले निम्त्याएको चुनौती

कृष्ण अधिकारी 

नयाँदिल्ली (भारत)- विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रुपमा रहेको घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरणतर्फ ठोस कदम नचालिए भयावह स्थिति आउनसक्ने भन्दै विश्वका वातावरण तथा ऊर्जाविद्हरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । 

भारतको नयँँदिल्लीमा गत साता सम्पन्न स्वच्छ भान्छा र घरभित्रको वायु प्रदूषणसम्बन्धी ‘क्लिन कुकिङ फोरम २०१७’ मा सहभागीहरुले घरभित्रको वायु प्रदूषणको समस्याबाट मुक्त हुन आधुनिक स्वच्छ ऊर्जाको पहुँच विस्तार गरी परिस्कृत चुलाहरुको प्रवद्र्धनमा जोड दिएका छन् । वातावरण र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यति ठूलो समस्याप्रति अझैपनि विश्वका राजनेताहरु गम्भीर बन्न नसकेकोतर्फ पनि सहभागीहरुको चिन्ता र चासोलाई विभिन्न अन्तरराष्ट्रिय समाचार संस्थाहरुले सम्प्रेषण गरेका छन्। 

विश्वका ५० भन्दा बढी देशका करिब ७ सय जनाको सहभागिता रहेको यस मञ्चलाई सम्बोधन गर्दै भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले विश्व वाष्फीकरणको चुनौती, ब्ल्याक कार्बन जलवायुजन्य प्रदूषणको मुख्य कारक बनेको घरभित्रको वायु प्रदूषणलाई समाधान गर्न स्वच्छ खाना पकाउने ऊर्जाको पहुँच बढाउनु अहिलेको मुख्य वातावरणीय चुनौती रहेको बताए । वायु प्रदूषणको समस्याबाट भारत बढी प्रभावित बनेको सन्दर्भ केलाउँदै उनले यसलाई न्यून गर्न स्वच्छ भान्छा अभियानलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे। 

संयुक्त राष्ट्रसंघका महाचिवका राचेल क्याटेले खपत गर्न सकिने, भरपर्दो र दिगो ऊर्जा गरिबी र जलवायु परिवर्तनको समस्या समाधानका लागि आवश्यक भएको बताउँदै सन् २०३० सम्म सबैका लागि दिगो ऊर्जाको सुनिश्चितता गर्न आधुनिक ऊर्जाको पहुँच, ऊर्जा दक्षतामा दोब्बर वृद्धि तथा ऊर्जा सम्मिश्रणबाट नवीकरणीय ऊर्जाको प्रयोगमा वृद्धि गर्न सकिएमा घरभित्रको वायु प्रदूषणको समस्या कम हुने विश्वास व्यक्त गरे । मञ्चको मुख्य आयोजक ग्लोबल एलाइन्स फर क्लिन कुकिङकी प्रमुख कार्यकारी अधिकृत राधा मुथाहले सन् २०२० सम्ममा १० करोड घरमा स्वच्छ र प्रभावकारी चुलो बनाउने लक्ष्यका साथ १०० मा २० को उद्देश्य लिइएको जानकारी दिए। विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र ऊर्जासँग सम्बन्धित घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघ फाउण्डेशनको संयोजनमा सार्वजनिक निजी साझेदारीमा २०१० मा यस एलाइन्सको स्थापना भएको हो । 

घरभित्रको जैविक इन्धन बाल्दा २५ प्रतिशत विश्वव्यापी ब्ल्याक कार्बन उत्सर्जन हुने गर्दछ । जसमा ८४ प्रतिशत घरघुरी विकाशोन्मुख देशहरु पर्दछन् । दक्षिण एसियामा मात्रै आधा हिस्सा चुलोबाट निस्केको धुवाँको कारण रहेको छ । आधुनिक चुलोले ३० देखि ६० प्रतिशत इन्धनको खपतलाई कम गरी जंगल र जैविक विविधताको संरक्षणमा योगदान पुग्ने भएकाले सो मञ्चमा यसखालका आधुनिक चुलोहरुको प्रवद्र्धनमा जोड दिइएको छ । स्कटकहोम इन्भायोरोमन्ट इन्ष्टिच्युटले जनाएअनुसार सुधारिएको चुलोले वर्षमा एक गीगाटन कार्बन डाइअक्साइड उत्सर्जन कम गर्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले नै विश्वका ९० प्रतिशत जनसंख्या विषाक्त हावामा श्वास फेर्न बाध्य छन् । ‘दि इकोनोमिक कन्सेक्वेन्सिज अभ् आउटडोर एयर पोलुसन’ नामक आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तरराष्ट्रिय संगठन (ओइसीडी) २०१६ को प्रतिवेदनमा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मान्छेको मृत्यु हुनेछ । वायु प्रदूषणका कारण विश्वमा अहिले पनि करिब ४० लाख मानिसले प्रतिवर्ष ज्यान गुमाउने गरेका छन् । विश्वमा मानव मृत्युका प्रमुख कारणहरूमध्ये घरभित्रको धुवाँ चौथो स्थानमा पर्दछ । पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुपोषण, असुरक्षित यौन सम्र्पक र असुरक्षित खानेपानी तथा सरसफाइको कमी रहेका छन् । विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्या विषेशगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका अधिकांश मानिसहरू अहिले पनि काठ, दाउरा, कोइला, गुइँठा, कृषिजन्य (पराल, जुट, धानको भुस, बाँस आदि) पशुजन्य वस्तुका अवशेषजस्ता अप्रशोधित जैविक ऊर्जाका श्रोतहरूमा भर पर्दछन् । विकाससील देशका करिब तीन अर्ब मानिस खाना पकाउन यिनै परम्परागत स्रोतमा निर्भर छन् । यसको प्रत्यक्ष प्रभावमा विशेषगरी महिला, बालबालिका र बुढाबुढी, बिरामीहरूलाई बढी असर पार्दछ । 

विश्व स्वास्थ्य संगठानले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर (पिएम) भन्दा सानो र २ दशमलब ५ पर माइक्रोमिटर (पिएम) भन्दा सानो भन्ने मापन बिन्दु तय गरेकामा यी मुलुकहरुको स्तर निकै कमजोर रहेको छ । सन् २०१५ मा प्रकाशन भएको ’ग्लोबल बर्डन अफ डिजिज’को रिपोर्ट अनुसार सन् २०१३ मा विश्वभर २९ लाख मानिसको मृत्यु वाह्य वायु प्रदूषणको कारणले भएको थियो । त्यसमध्ये ८८ प्रतिशतभन्दा बढी मृत्यु कम आय भएका मुलुकमा भएको उल्लेख छ। 

यस अध्ययनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको जनाएको छ । ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गरिएको जनाएको छ । विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनले देखाएको छ ।अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदूषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्ताले बताएका छन् । अकाल मृत्युका लगभग सबै घटना न्यून र मध्यम आय भएका मुलुकमा भएका छन् । ती मुलुकमा हुने मृत्युमध्ये एक चौथाइको कारण प्रदूषणसँग सम्बन्धित रोग भएको देखिएको छ । बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकहरुको सूचीमा भारत पाँचौं र नेपाल छैठौं स्थानमा छ । बु्रनाइ र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना हुने गरेको बिबिसीको समाचारमा उल्लेख छ। 

अधिकांश मृत्युहरु मुटु रोग, मस्तिष्कघात र फोक्सोको क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै समाचारमा जनाइएअनुसार सन् २०१५ मा वायु प्रदूषणका कारण विश्वभर ६५ लाखको अकाल मृत्यु भएको थियो । त्यसमा ग्यास जस्ता वायु प्रदूषणका बाह्य स्रोत र दाउरा वा कोइला बाल्दा घरभित्र हुने आन्तरिक स्रोतलाई समेटिएको छ । वायु प्रदूषणपछि अकाल मृत्यु गराउने दोस्रो ठूलो कारण पानीसँग सम्बन्धित प्रदूषण रहेको छ जसका कारण सन् २०१५ मा विश्वभर १८ लाख मानिसको ज्यान गएको थियो । त्यसैगरी कार्यस्थलमा प्रदूषणसँग सम्बन्धित आठ लाख मृत्युका घटना भएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

कुल ऊर्जाको करिब ८९ प्रतिशत खाना पकाउने र तताउने प्रयोजनका लागि घरायसी रूपमा प्रयोग हुन्छ । यसमध्ये अधिकांश भाग दाउराको प्रयोगबाट प्राप्त हुन्छ । ती जैविक इन्धन बाल्दा निस्कने धुवाँमा रहेका विषाक्त कणहरुले ४३ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मानिसले झण्डै ९० प्रतिशतभन्दा बढी समय घरभित्र नै बिताउने गर्दछन् । विकाशोन्मुख देशमा महिला र बालबालिकाले खाना पकाउन, भान्छा सफा गर्न र दाउरा संकलन गर्न हरेक दिन घटौं समय व्यतित गर्नुपर्दा उनीहरुको स्वास्थ्य, शिक्षाको स्तर माथि उठ्न नसक्दा आर्थिक पछौटेपन रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । दक्षिण एसियाका महिलाले वर्षमा करिब ३७४ घण्टा समय दाउरा संकलनमै बिताउने गरेको पाइन्छ । घर बाहिरको तुलनामा १० गुणा बढी घरभित्रको वायु प्रदूषणले हानिकारक हुने गर्दछ। 

कार्डियोलोजीसम्बन्धी एक अमेरिकी कलेजले सन् २०१५ मा गरेको एक अध्ययनले श्वासप्रश्वास र मुटुसम्बन्धी रोगीको संख्या बढ्नुमा घरभित्रको वायु प्रदूषणलाई मुख्य कारण जनाएको छ । फ्रान्सेली समाचार संस्था एएफपीले हालै प्रकाशित गरेकमो समाचारअनुसार विश्वमा युद्ध र हिंसाबाट मृत्यु हुनेको संख्याभन्दा वातावरणीय प्रदूषणबाट मृत्यु हुनेको संख्या बढी देखाएको छ । २०१५ मा अकालमा मृत्यु हुने ६ जनामध्ये एकजना अर्थात ९० लाख मानिस धुवाँजन्य प्रदूषणबाट हुने गरेको छ । विकाशोन्मुख मुुकमा हरेक वर्ष वायु प्रदूषणबाट २० लाख मानिसको अकामै मृत्यु हुने गर्दछ । प्रदूषणबाट मृत्यु हुनेमा ९२ प्रतिशत मानिस मध्यम आय भएका राष्टहरुमा वसोवास गर्दछन् । जसले गर्दा ती देशको आर्थिक विकासमा थप चुनौती बन्ने गरेको छ । 

लेन्सेट मेडिकल जर्ननमा हालै प्रकाशित सो अध्ययन प्रतिवेदनमा प्रदूषणबाट हुने मृत्यु, विरामी र तिनको उपचारमा हुने खर्च वर्षमा ४।६ ट्रिलियन रहेको देखाएको छ । जुन विश्व अर्थतन्त्रको ६।२ प्रतिशत हुन आउँछ । अमेरिकाको न्युयोर्कस्थित आइकान्ह स्कूल अफ मेडिसिनका डिन फिलिप ल्याण्डिग्रानको नेतृत्वमा गरिएको सो अध्ययनले एसिया र अफ्रिकी देशहरु वायु प्रदूषणको समस्याबाट अझ बढी प्रभावित रहेको समाचारले उल्लेख छ । भारतमा वायु प्रदूषण मात्र सन् २०१५ मा हरेक चारजनामा एकजना (२५ लाख) अकालमा मृत्यु भएको थियो भने दोस्रो बढी प्रभावित मुलुक चीनमा पाँच जनामा एकजना अर्थात १८ लाखको मृत्यु भएको थियो । त्यस्तै बंगलादेश, पाकिस्तान, उत्तर कोरिया, दक्षिण सुडान, हैटी प्रदूषणबाट धेरै मृत्यु हुने राष्ट्रहरुको सूचीमा पर्दछन् । 

अमेरिकाले सन् १९७० मा महत्वाकांक्षी स्वच्छ वायुसम्बन्धी ऐन पारित गरेपछि प्रदूषण नियन्त्रणमा गरेको लगानीबाट राम्रो लाभ लिन सकेको जनाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रको अध्ययनले सन् १९८० देखि त्यहाँको अर्थतन्त्रमा निकै टेवा पुगेको छ एपीको समाचारमा जनाइएको छ । दिगो विकास लक्ष्यको लक्ष ३ र ७ मा सन् २०३० सम्ममा प्रदूषणबाट हुने मत्यु र रोगलाई कम गर्ने तथा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । विश्वका विभिन्न देशहरुले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा यसअनुसारका प्रतिवद्धता एवम कानुनी प्रावधानहरुको व्यवस्था गरेकाले आगामी दिनमा यो समस्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा भने गर्न सकिन्छ। रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live