प्रोफाइल

राजा वीरेन्द्रका डाक्टर

img

डिबी खड्का

डा खगेन्द्रबहादुर श्रेष्ठ उमेरले ८२ पूरा भइसके । अझै उनी सर्वसाधारणलाई चिकित्सकीय सेवा दिइरहेका छन् । तर, उनको पहिचान भने शाही चिकित्सकका रुपमा बनेको छ । उनी निकट सबैले उनलाई राजाकै डाक्टरमा रुपमा चिन्छन्। उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका डाक्टर हुन्। वीरेन्द्र युवराज हुँदादेखि नै राज परिवारसँग जोडिएका उनी दिवंगत हुँदासम्म साथै रहे। त्यसपछिका दिनमा भने काठमाडौंको थापाथलीमा रहेको ब्लुक्रस अस्पताल मार्फत् जनताको सेवामा तल्लीन छन्।

युवराज वीरेन्द्रदेखि राजा वीरेन्द्रसम्मको निजी चिकित्सक रहँदा उनी र उनको परिवारसँग जोडिएका अनगिन्ती घटना उनको मानसपलटमा घुमिरहन्छन्। कति दृश्य त उनले क्यामेरामा कैद गरेर केही वर्षअघि फोटो प्रदर्शनी नै गरे। उनलाई वीरेन्द्रले एउटा डाक्टर मात्रै होइन, परिवारकै सदस्यका रुपमा लिन्थे। उनले पनि राजा विरेन्द्रलाई अत्यन्तै श्रद्धा गर्ने। त्यसैले वीरेन्द्रको स्मृतिमा निरन्तर श्राद्ध गरिरहेका छन् उनी । भन्छन्, ‘उक्त अवसरमा निम्ता मान्न आउने धेरैले वीरेन्द्रको श्राद्ध गर्ने तिमी मात्रै होला भन्छन् । परिवारका सदस्यका रुपमा मैले उहाँको श्राद्ध गरिरहेको छु।’

सन् १९६१ मा भारत, लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् डा खगेन्द्रले । पढाइ पूरा गरेर आएपछि तत्कालीन श्री ५ को सरकारको हाउस अफिसरका रुपमा काम गर्न निवेदन दिएका थिए तर जागिरको टुंगो लागेको थिएन । उनका मामा खलकको काठमाडौंमा औषधि पसल थियो । त्यसैले उनका मामाले नेपालमा स्वास्थ्य लगायत अन्य सहयोगका लागि आइरहने प्रसिद्ध भूगोलशास्त्री तथा विकासविज्ञ टोनी हेगनलाई चिन्थे । उनलाई भर्खर डाक्टरी सकेर आएको भान्जालाई टोनी हेगनकै परियोजना अन्तर्गत काम लगाउने इच्छा जाग्यो । टोनी हेगनले एक वर्ष मुस्ताङमा रहेर खम्पा विद्रोहीको उपचार गरेपछि इन्टरनेसनल रेडक्रस सोसाइटीमा जागिर लगाउने वचन दिए । सोही योजना अनुसार डा श्रेष्ठ ११ महिनासम्म जोमसोममा बसे । त्यसपछि हेगनकै सहयोगमा उनलाई सिंगापुर जाने अवसर मिल्यो । उनी यसका लागि प्रबन्ध मिलाउन काठमाडौं आइपुगे । उनलाई लाग्यो– एकपल्ट श्री ५ को सरकारका मान्छेलाई सोधेर जाऊँ । तत्कालीन स्वास्थ्य सेवा विभाग प्रमुख दिनेशानन्द वैद्यकहाँ पुगे । वैद्यले भनेको कुरा सम्झिन्छन् उनी, ‘सरकारको छात्रवृत्तिमा पढेको मान्छेले नेपालमा सेवा नै नगरी आफूखुसी विदेश जान मिल्दैन।’

उनले सिंगापुर जाने योजना त्यागिदिए। जोमसोम बस्दा नेपाली सेनाका हाकिमले उनको काम र जाँगर सेनाका लागि उपयुक्त हुने ठह¥याइसकेका रहेछन् । त्यसैले डाक्टर खोजिरहेका सेनाका उच्च अधिकारी समक्ष उनको नाम सिफारिस भयो । २०१९ सालको सुरु तिर आर्मीबाट उनलाई बोलावट आयो । उनी आर्मीका उच्च अधिकारीलाई भेट्न पुगे । फिट शरीरवाला डा श्रेष्ठ आर्मीको जागिरमा तुरुन्तै ‘ओके’ भइहाले।

उनले राति आर्मी अस्पतालमा ड्युटी र दिउँसो काठमाडौं मेडिकल हलमा प्राइभेट प्य्राक्टिस गरे एक वर्षसम्म। त्यस्तै, २०२२ सालतिरको कुरा हो, बेलायतबाट उच्च शिक्षा हासिल गरी फर्केका युवराज वीरेन्द्रलाई देशदुनियाँ बुझ्न पठाउने चाहना राजा महेन्द्रमा जागेछ। 

डा श्रेष्ठका अनुसार देशको अवस्था र दुनियाँको दुःख देखुन् भनेर राजपरिवार सदस्यका रुपमा नभई सिपाहीका रुपमा युवराजलाई घुम्न पठाउने प्रचलन थियो । युवराजले आफूलाई चाहिने सर्जामको भारी आफैं बोकर पैदलयात्रा गर्नुपथ्र्यो । सो यात्रामा दुई जना एडिसी, चारजना सिपाही, एक जना निजी सचिव र एकजना डाक्टर पठाइन्थ्यो । 
नेपाली सेनामै रहेका डाक्टरमध्येका उपयुक्तलाई पठाउन राजाको आदेश भएछ । सेनाका एक उच्च अधिकारीले उनलाई सोधे, ‘ओई, डाक्टर, तिमी भारी बोकेर पहाड पर्वत जान सक्छौ?’ उनलाई महसुस भइहाल्यो, पक्कै कोही भिआइपी यात्रामा निस्किन लागेका होलान् । उनले ‘सक्छु’ भनिदिए। 

भोलिपल्टै उनलाई सूचना आयो– राजाले दर्शनभेटका लागि बोलाइबक्सेको छ । भर्खर युवावयमा पुगेका कसिलो जिउज्यानका डा श्रेष्ठलाई राजा महेन्द्रले बार्दलीबाटै हेरेर उपयुक्त ठहर्‍याएको जनाउ दिए।

त्यसपछि युवराज वीरेन्द्रको त्रिशुलीदेखि पोखरासम्मको पैदल यात्रामा उनी डक्टरका रुपमा सहभागी भए।  त्यो समय राजाको निजी डाक्टर हुने शौभाग्य पाउनु चानचुने कुरा थिएन । देशकै शक्ति केन्द्र दरवारको नजिक हुन हरेक वर्ग र पेशाका मान्छे मरिमेट्थे । उनलाई भने यो शाही जागिर आफ्नै जाँगरले दिलाएको थियो।

डाक्टरी पढेको मान्छेमा खेलाडीको जस्तो ज्यान र जाँगर हुनुको कथा रोचक नै छ । १९९२ सालमा काठमाडौं जैशीदेवलमा जन्मेका डा श्रेष्ठको एसएलसीसम्म पढाइ राम्रै थियो । उनका काका पाटन हाइस्कुलका शिक्षक भएकाले उनको परिवार पनि त्यतै बस्थ्यो र उनले पनि त्यतै पढे । २००७ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरेपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्ने योजना बनाए । उनका मामा हरिकृष्ण श्रेष्ठ (जो नेपालको पहिलो पुस्ताका पाइलट हुन् र प्लेन दुर्घटनामै दिवंगत भए) पनि आइएससी पढ्ने भएकाले मामाघरै बसेर पढ्न थाले।

मामाघर गएपछि उनलाई एकखालको स्वतन्त्रता महसुस भयो र खेल्नतिर बढी जोड दिए । ब्वाइज एथ्लेटिक क्लब खिचापोखरीमा आवद्ध भएर फुटबल खेल्ने सपनाले गाँझ्यो उनलाई। खेल कौशल पनि राम्रै भएकाले उनी टिममा पर्न थाले । यसले उनको पढाइ ध्वस्तै भयो । आइएससी तेस्रो श्रेणीमा पास गरे भने बिएससीलाई पार लगाउने छाँट देखिएन।

उनका बुबा भवानीभक्त श्रेष्ठ पनि डाक्टर थिए, तर एमबिबिएस नभई लाइसेन्स प्राप्त भनिन्थ्यो । बुबाले टेकुमा कुष्ठरोग र छालासम्बन्धी रोगको उपचार गरिरहेको उनी सम्झन्छन् । यसकारण उनलाई परिवारले डाक्टर नै बनाउने चाहना राखेको थियो । आफ्नो पढाइ खेलका कारण कमजोर हुँदै गएपछि डाक्टर बन्न नसक्ने उनले महसुस गरे। 

बिएससीको अन्तिम परीक्षा आउन ८ महिना बाँकी हुँदा कुनैपनि हालतमा पढाइ सपार्ने हिम्मत जाग्यो । उनका सहपाठी जुगलकृष्ण श्रेष्ठ पढाइमा अब्बल थिए । उनीसँग भने, ‘केही समय तँसँगै पढ्छु ।’ संयुक्त परिवारमा बस्ने जुगलको घरमा पढ्ने वातावरण नभएपछि उनी नै डा श्रेष्ठकोमा पढ्न आउन राजी भए । त्यसैगरी अर्का राम्रा विद्यार्थीमा गनिने चन्द्रप्रसाद गोर्खाली र केशररत्न बज्राचार्य पनि आफ्नो घरमा पढ्ने वातावरण नभएको भन्दै उनीकहाँ आउन थाले । ‘अब्बल विद्यार्थीको संगतले मेरो पढाइको स्तर उकासियो । दोस्रो श्रेणीमा बिएससी पास गरें,’ उनले भने। 

डाक्टर बन्नका लागि ८ महिना रातदिन नभनी पढेका थिए उनले तर त्यही वर्षदेखि सरकारले बिएससी गरेकालाई एमबिबिएस पढ्न नपठाउने निर्णय गर्‍यो । तर, डाक्टर बन्ने भाग्यले उनलाई साथ दियो । लखनउको किङ जर्जेज कलेजमा एमबिबिएस पढ्न गएका एक विद्यार्थी अस्वीकृत भएपछि कोटा खाली भयो। उनका मामा हरिकृष्ण श्रेष्ठ २००७ सालको प्रजातन्त्र ल्याउन गणेशमान सिंह, टंकप्रसाद आचार्यसँगै जेल बसेका थिए । ‘मामाको त्यही चिनजानलाई प्रयोग गरेर म त्यो रिक्त कोटामा पढ्न लखनउ पुगेको हुँ,’ उनले नढाँटी भने। 

लखनउमा चिकित्सा पढ्न जाँदा उनकी आमाले चिन्ता व्यक्त गर्दै एअरपोर्टमा भनेकी थिइन्, ‘अब राम्ररी पढ्नू, फुटबल नखेल्नू ।’ एकपल्ट राम्रैसँग जोडिसकेको फुटबलसँगको नाता के टुट्थ्यो ? एमबिबिएस पढ्दा पनि ‘अच्छा खेल्ता है’ भनेर अन्तर कलेज प्रतियोगितामा उनलाई कलेज टिम क्याप्टेन बनाइदिए । 

आर्मीको डाक्टर भएपछि उनले खेल र शारिरीक फिटनेसमा आफूलाई चुस्त दुरुस्त राखे । बिहान ६ बजे रंगशाला पुगेर दौडिनुलाई दैनिकी बनाए । ८२ वर्षको उमेरमा पनि आफूलाई तन्दुरुस्त राखेका उनले ६ महिनाअघि मात्रै बिहान दौडिने काम त्यागेका छन्, घुँडामा समस्या आएर । 

डाक्टरीसँगै खेलमा आफूलाई सहभागी गराएका उनी भन्छन्, ‘खेलले मलाई अनुशासित बन्न सिकायो र स्वस्थ बनायो ।’ 

जीवनका लागि खेल अपरिहार्य भएको महसुस गरेपछि उनले आफ्नै नाममा ‘खगेन्द्र स्पोर्ट फाउन्डेसन’ पनि खोले । त्यसको अध्यक्ष रहेका उनी प्रत्येक वर्ष कार्यक्रम गर्दै आएका थिए, तर भुकम्पपछि भने केही गर्न पाएका छैनन्।

वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाए । २०५९ जेठ १९ गते राज परिवार हत्याकान्ड भएपछि उनले सेवाबाट अवकाश लिए । उनी ६० वर्षे उमेर हद लागेर सेवाबाट ६ वर्षअघि नै रिटायर्ड भइसकेका थिए, तर शाही चिकित्सकका रुपमा दुई–दुई वर्ष करार थप गर्दै सेवारत थिए । राजाको सेवा गर्दै आएका उनी आफ्नै मामाका छोराहरुको लगानीमा सञ्चालित ब्लुक्रस हस्पिटलमा रैतीको सेवामा समर्पित भए। उक्त अस्पताको मेडिकल डाइरेक्टरबाट केही समयअघि मात्रै विश्राम लिएका उनले अझै बिरामी भने जाँचिरहेका छन् । 

यसबाहेक सिभिल एभिएसन अथोरिटी नेपालमा सिभिल एभिएसन मेडिकल एस्सेसर, खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संस्थापक अध्यक्ष, नेपाल लेप्रोसी रिलिफ एसोसिएसनमा वरिष्ठ उपाध्यक्षका रुपमा उनले जिम्मेवारी सम्हालिरहेका छन् । अर्काे वर्ष चिकित्सकीय सेवाबाट विश्राम लिने उनको योजना छ । त्यसपछि पनि उनले आफूलाई निस्क्रिय राख्ने छैनन् । उनले योजना बनाइसकेका छन्, ‘अध्यात्म र खेल सम्बन्धी कार्यक्रममा सक्रिय हुन्छु।’
(राजा वीरेन्द्रसँग जोडिएका डा खगेन्द्रका स्मृति सोमवार प्रकाशित गरिनेछ)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live