फिचर

डा खगेन्द्रका सम्झनाः राजा वीरेन्द्रसँग नदीमा पौडिदा... 

img

डिबी खड्का

डा खगेन्द्रबहादुर श्रेष्ठ शाही चिकित्सक हुन् । उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका डाक्टर हुन्। वीरेन्द्र युवराज हुँदादेखि नै राज परिवारसँग जोडिएका उनी दिवंगत हुँदासम्म साथै थिए। 

झ्याउरे सुन्न रुचाउने वीरेन्द्र
युवराज वीरेन्द्रको त्रिशुलीदेखि पोखरासम्मको पैदल यात्रामा उनी डक्टरका रुपमा सहभागी भए।  त्रिशुलीदेखि पोखरासम्मको १२ दिने यात्रामा धेरै कुरा भए । तीमध्ये केही घटना डा श्रेष्ठको मनमस्तिष्कमा अहिले पनि ताजै छन्। 

जहाँ बास बस्न पुग्यो, त्यहाँका जनताको अवस्था, रितिथिति र संस्कृति  अवलोकन गर्थे युवराज वीरेन्द्र । यस क्रममा सांस्कृतिक कार्यक्रम पनि हुन्थ्यो । युवराजलाई नेपाली गीत मन नपर्ला भनेर हिन्दी गीत सुनाउने प्रयत्न गर्थे उनका भित्रियाहरु । उनका अनुसार युवराज वीरेन्द्र भने मादल मगाउथे र त्यसैको तालमा झ्याउरे गीत गाउन लगाउथे । गाउँलेलाई युवराज भन्दा पनि सेनाको सानो टुकडी बास बसेको जस्तो लाग्थ्यो । युवराज त्यहाँबाट निस्केपछि मात्रै उक्त समूहमा भावी राजा रहेको खबर दिइन्थ्यो ।

यही यात्राका क्रममा बाटोमा खोला थुनेर मान्छेहरुले माछा मारिरहेको देखेछन् युवराज वीरेन्द्रले । त्यसपछि एउटा गाउँको खोला नजिक पुगेर त्यसैगरी माछा मार्न तम्सिए वीरेन्द्र । झन्डै २५ वटा माछा समातिसकेपछि वीरेन्द्रले भने, ‘पुग्यो अब, माछा खोलामै हाल्देऊ ।’

पौडी खेलेर नदी पार
युवराज वीरेन्द्रसँग देश दर्शनमा उनी तीनपल्ट गए । एकपल्ट पोखरादेखि भैरहवासम्मको यात्रा गरिरहेका थिए, बाटोमा एउटा नदी डुंगामा पार गर्नुपर्ने भयो । समूहकै एकजनाले पौडी खेलेर पार गर्ने उटपट्याङ योजना अघि सारे । युवावयका वीरेन्द्र पनि के कम ? तुरुन्तै योजना स्वीकारेर नसक्नेलाई डुंगा चढेर आउनु भन्दै नदितिर लागिहाले । उनको सुरक्षाका लागि पनि एडिसी, अगंरक्षक र डा श्रेष्ठले पनि पौडिनुपर्ने भयो । पौडीमा राम्रै दक्षता भएका डा श्रेष्ठ लगायत केही अंगरक्षक वीरेन्द्रलाई घेराभित्र राखेर पौडिन थाले । वीरेन्द्र पनि पौडीमा पारंगत रहेछन्, नदी पार गरे सहजै । तर, ताराबहादुर थापा नामका एडिसी भने बग्न थाले । झन्डै डेढ सय मिटर बगेपछि मात्र किनारा लागे उनी । पछिसम्म उनलाई यो घटनाले झस्काइरह्यो, ‘पौडेर जाने आलोकाँचो योजना व्यर्थै स्वीकारियो । युवराजलाई केही भइहालेको भए हाम्रो हालत के हुन्थ्यो ?’

मदिरा पिउँदा राजाको कटाक्ष
निजी चिकित्सकका रुपमा उनले वीरेन्द्रसँग ५ चोटि युवराज हुँदा र ३५ चोटि राजा हुँदा विभिन्न ठाउँ र देश भ्रमण गरेका छन् । तीमध्ये चिनको भ्रमणले उनलाई बेला–बेला झस्काउँछ ।

चीनको माओत्सेतुङ भिलेजमा राजा विरेन्द्रसँगै उनीहरु बसिरहका थिए । त्यहीँको पोखरीमा पौडी खेल्ने योजना बन्यो । राजासँगै उनी लगायतले पौडी खेले। त्यसपछि चीनकै उच्च स्तरीय मदिराले स्वागत गरियो । 

राजाको टोलीलाई स्वागत गर्न जम्मा भएका चीनका हरेक अधिकारीसँग चियर्स गरेर एकै घुड्कीमा एक पेग मदिरा पिउनुपर्ने चलन रहेछ। त्यसरी पिउँदा उनी यति मातेछन् कि त्यहाँको सेनाका उच्च अधिकारीसँग बाजी थापेर पिउन थाले । उनी सम्झिन्छन्, ‘त्यस्तै, ११ प्याला पिएपछि ती सैनिक अधकिारीले स्वास्थ्यको कारण देखाउँदै पिउन नसक्ने बताए । त्यसपछि अर्का अधिकारीलाई बोलाएर कम्पिटिसन गरें ।’ उनको हर्कत राजा वीरेन्द्रले याद गरिरहेका रहेछन् ।

राजाले मदिराको मातमा आफूले गरेको उपद्रो ‘नजर गरिबक्सेको’ उनले धेरै पछि थाहा पाए । एकपल्ट होटेल अन्नपूर्णमा राजपरिवासँग जोडिएका व्यक्तिहरुको पारिवारिक भेला थियो । आफ्नो परिवारलाई राजारानीसँग चिनाउने क्रममा उनले श्रीमती सीता श्रेष्ठको परिचय गराए। त्यहीबेला राजाले कटाक्ष गरेछन्, ‘तिम्रो श्रीमानले चीनमा नाम राख्यो नि । चिनियाँलाई मदिरा पिउनमा हराएर ! कहिलेकाहीँ यस्तो पनि गर्नुपर्छ ।’ प्रशंसा गरेजस्तो गरेर आफ्नो हर्कतमाथि वीरेन्द्रले कटाक्ष गरेपछि उनी लाजले भुतुक्कै भए ।

राजाको उपचारमा मोलेको जोखिम
उच्च कोलेस्टेरोल र मुटुको समस्या थियो राजा वीरेन्द्रलाई । २०५५ साल कार्तिक २१ गते बेलुकीतिर रानी ऐश्वर्यको फोन आयो, ‘राजाले छाती दुख्यो भनिबक्सेको छ’ भनेर । त्यो समय राजा नागार्जुन दरबारमा बस्थे । हर्टअट्याक हुन सक्ने अनुमान गरेर उनी तुरुन्तै नागार्जुन पुगे । यता आर्मी अस्पतालमा आइसियू फिट राख्नु भनेर खबर गरे । केही नर्स र औषधिसहित त्यहाँ पुगेका उनले स्थिति अवलोकन गरेपछि औषधि दिए । अवस्था खासै नबिग्रेकाले तीन दिन त्यहीँ राखेर उपचार गर्न थाले । 

तीन दिनपछि डा अञ्जनीकुमार शर्मा राजालाई भेट्न पुगे । उनले डा श्रेष्ठलाई हप्काएछन्, ‘राजा जस्तो मान्छेलाई यहीँ राखेर उपचार गर्ने हो ? केही तलमाथि भयो भने के गर्छाै ?’ त्यो दिनसम्म एउटा बिरामीलाई डाक्टरका रुपमा हेरेर उपचार गरिरहेका उनलाई महसुस भयो– हो त, राजाको उपचार पो गरिरहेको छु । त्यसपछि उनले तुरुन्तै राजालाई बिन्ती चढाए, नेपालका नाम चलेका डाक्टर बोलाउन । उनले पाँच जना डाक्टरको नाम दिए । सबै त्यहाँ पुगे ।

एउटा बिरामी भन्दा पनि राजाका रुपमा हेरिरहेका अरु डाक्टरले ‘हिस्ट्री’ हेरेपछि सम्भावित जोखिम बताए । जोखिम सुनेपछि रानी ऐश्वर्या आत्तिइन् र तुरुन्तै बेलायतबाट डाक्टर बोलाउन लगाइन् । बेलायतका डाक्टरले आवश्यक चेकअप गरेपछि एकपल्ट विदेशमै चेकजाँच गर्दा राम्रो भन्ने सुझाव दिए । त्यसपछि राजालाई उपचारका लागि बेलायत लगियो र सँगै डा श्रेष्ठ पनि गए । उनी पछि झस्किए, ‘त्यस्तो अवस्थामा जोखिम मोलिएछ । तलमाथि भएको भए त दोष मेरै टाउकोमा आउँथ्यो ।’

राजाको अनौपचारिक फोटोग्राफी
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाए । राजपरिवारको चिकित्सकका रुपमा रहँदा उनले चिकित्सकीय सेवा त दिए नै, सँगै उनका अनौपचारिक तस्बिर पनि लिइरहे । ती तस्बिरलाई समेटेर केही वर्षअघि मात्रै उनले फोटो प्रदर्शनी गरेका थिए । तर, ती तस्बिर योजनाबद्ध खिचिएका थिएनन् । उनी भन्छन्, ‘रोइरहनु भन्दा गाइरहनु बेस भने जस्तै फुर्सदमा क्यामेरा खेलाउँथें । यही क्रममा फोटो खिचेको हुँ ।’ अर्थात् निजी चिकित्सकका रुपमा सँगै हिँड्दा उपचार सेवा त सधैं दिनु पर्दैन । बरु उनी क्यामेरा बोकेर हिँड्थे र फोटोग्राफरले क्यामेरामा पार्न डराउने खालका तस्बिर खिच्थे। डाक्टर भएकाले उनलाई रोकटोक थिएन । 

उनी एकपल्ट राजारानीसँगै हिमालको दृश्यावलोकनका लागि पुगे । त्यहाँ उनले राजारानी हिउँ खेलिरहेको तस्बिर लिए । रानीलाई औपचारिक पहिरनमा देखेका थिए सबैले । तर, त्यहाँ रानीले ट्राउजर र ज्याकेट लगाएकी थिइन् । पहिलोपल्ट उक्त तस्बिर उनले सार्वजनिक गर्दा धेरैले प्रशंसा गरेका थिए उनको फोटोग्राफीको ।
यसैगरी, युवराज दिपेन्द्र साना हुँदाका तस्बिरले पनि प्रशंसा बटुलेको थियो । जुन तस्बिरमा दिपेन्द्रको सानैदेखि हतियारप्रति मोह थियो भन्ने मात्रै झल्किँदैन, जीवन्त पनि लाग्छ । उनी तस्बिरको रहस्योद्घाटन गर्दै भन्छन्, ‘दार्जीलिङमा गएका बेला युवराज पेस्तोल भिरेर ह्यान्ड्सअप भन्दै आइबक्स्यो, मेरो हातमा क्यामेरा थियो तस्बिर लिएँ ।’

त्यो अन्तिम साँझ
राजा वीरेन्द्रसँगको लामो सामिप्यताका कारण उनी राजपरिवारका डाक्टर मात्रै नभई पारिवारिक सदस्य जत्तिकै भएका थिए । त्यसकारण २०५९ जेठ १९ को साँझ स्मरण गर्न उनलाई त्यति मन लागिरहेको थिएन । 

त्यो दिन उनी चाँडै घर पुगिसकेका थिए । खानपिन गरेर बसेका मात्रै के थिए दरवारबाट फोन आयो । भनिएको थियो, ‘राजालाई गोली लागेको छ । जति सक्दो चाँडो अस्पताल पुग्नू ।’ उनको मनमा त्यति ठूलो घटना घट्यो होला भन्ने थिएन । ‘नयाँ हतियार आउँदा प्रयोग गरेर हेर्ने गरिन्थ्यो । त्यही क्रममा कहीँकतै लाग्यो होला,’ उनी सम्झिन्छन्, ‘तर राजालाई गोली लागेको घटना सामान्य रुपमा नलिई तुरुन्तै गाडी कुदाएर छाउनी अस्पताल पुगें । म त्यहाँ पुग्दा स्थिति काबू बाहिर गइसकेको थियो । राजारानीको टाउकोमा गोली लागेको थियो ।’

याे पनि पढ्नुहाेस्

राजा वीरेन्द्रका डाक्टर

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live