विचार/ब्लग

रेडियोलोजी के हाे ? सबैले थाहा पाउनुपर्ने केही विषय

डा सुजितकुमार झा

प्रसङ्ग १:
पुरानो वानेश्वरका कक्षा ९ मा पढ्ने राजुलाई बेलुका ६ बजेतिर अण्डकोष  साह्रै दुख्न थाल्यो। शुरुमा नजिकैको औषधि पसलमा लगेर नदुख्ने औषधि दिए। तर दुखाइ थामिएन, अनि नजिकैको एउटा मेडिकल कलेजमा लगे। त्यहाँ डाक्टरले अण्डकोषलाई खतरा हुन सक्ने औल्याएर अपरेसन गर्नुपर्ने भनें। रातिको समयमा अल्ट्रासाउन्ड गर्न नमिल्ने भनेर उनिलाई शिक्षण अस्पताल महाराजगन्ज पठाइयो। आकस्मिक विभागमा गरिएको अल्ट्रासाउन्डले उनको अन्डकोषमा रक्तसञ्चार ठिक रहेको देखायो। उनको अण्डकोषको कुनै शल्यक्रिया गर्नुपर्ने देखिएन। केही दिनको औषधि पछि उनलाई सकुशल डिस्चार्ज गरियो।

प्रसङ्ग २:
समिर र मुनाको १४ महिनाको छोरा बेलुका ६ बजेबाट अरु बेला भन्दा धेरै बढी रुन थाल्यो। रुदा जिउ हाथ चलाउन थाल्यो र दिसामा रगत देखियो। हतार हतार उनिलाइ कान्तिबाल अस्पताल पुर्‍याइयो। त्यहाँका डाक्टरले उनिलाई आन्द्रा भित्र आन्द्रा पसेको हुन सक्ने शंका लागेर अल्ट्रासाउन्ड गर्न शिक्षण अस्पताल महाराजगन्ज पठाए। आकस्मिक विभागमा गरिएको अल्ट्रासाउन्डमा उनको आन्द्रा भित्र आन्द्रा पसेको "इन्टुसुसेप्सन" भएको देखायो। त्यसपछि उनिलाई "फ्लुरोस्कोपि" मेसिनको मुनि राखेर दिशा गर्ने ठाउबाट पाइप पसाएर प्रत्यक्ष आन्द्रा हेर्दै बिग्रेर बसेको आन्द्रालाई नचिरिकन पहिला जस्तै बनाइयो। दुई दिनपछि बच्चालाई डिस्चार्ज गरियो।

प्रसङ्ग ३:
लामो समय देखि ज्वरो र पेट दुख्ने भैराको १७ बर्षकि राधालाई अल्ट्रासाउन्डमा मृगौला वरिपरि पिप जमेको हुन सक्ने भन्दै बर्दिबासबाट काठमाडौं पठाए। सर्जरी विभागले मृगौला वरिपरि जमेको पिप निकाल्न पाइप हाल्ने योजना बनाएर रेडियोलोजि विभागमा पठाए। राधाको मृगौला वरिपरि नचिरिकन नेफरोस्टिमि पाइप हालियो र पिप निकालियो।

प्रसङ्ग ४:
जलेश्वरका २२ वर्षिय सिताराम लाई विगत एक महिना बाट ज्वरो आउने जाने भैरह्यो। जनकपुर अञ्चल अस्पतालमा गरिएको एक्सरेमा उनको छातिमा पानि भरिएको देखायो। त्यो पानिको जाँच गराउदा उनलाई क्षयरोग भएको देखियो। त्यसपछि नियमित औषधि सेवन पछि उनि निको भए।

प्रसङ्ग ५:
नेपालगञ्जका ३८ वर्षिय मनोज पसलमा बसिरहँदा एक्कासि झट्का आयो। उनलाई भेरी अञ्चल अस्पताल लगियो। त्यहा डाक्टरले उनको टाउकोको सिटि स्क्यान गर्नु पर्ने सुझाए। रेडियोलोजी विभागले उनिलाई "न्युरोसिस्टिसर्कोसिस" नामक किराले दिमागमा अण्डा पारेको रोग लागेको औल्याए। त्यसपछी केहि हप्ताको औषधि पछि उनि निको भए।

प्रसङ्ग ६:
कपनका ६६ वर्षिय दिपकको ३ दिनदेखि मुखबाट अत्यधिक रगत आउन थाल्यो। शिक्षण अस्पताल महाराजगन्जमा उनको जाँच गर्दा फोक्सोबाट रगत आइरहेको ठहर गरियो। त्यसपछि उनलाई रक्तस्राव रोक्न रेडियोलोजि विभागमा पठाइयो। त्यहाँ उनको एन्जियोग्राफिक क्वालिङ गरेर रगत आउने ठाउँलाई कम्प्युटरमा हेरेर बन्द गराइयो। उनको रगत आउन बन्द भयो।

माथि उल्लेख गरिएका प्रसङ्गहरु चिकित्सा विज्ञानको एउटा पृथक पाटोको रुपमा रेडियोलोजिको प्रयोग देखाइएको छ। बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब,  खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ। यस्तै समन्वयकारि चिकित्सा विज्ञानको एउटा संकाय हो: रेडियोलोजि एण्ड इमेजिङ वा सामान्यतया रेडियोलोजि विभाग।

सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकालेर रेडियोलोजिको शुरूवात गरेका थिए। त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो। रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।

एक्सरे

एक्सरे विकिरणको प्रयोग गरेर शरिरका विभिन्न भागको श्यामश्वेत चित्र तयार पारिन्छ। शरिरको हड्डी भाचिएमा वा फोक्सो सम्बन्धि जानकारि लिन एक्सरेको सामान्यतया प्रयोग गरिन्छ। एक्सरे ले छेड्न नसक्ने बेरियम जस्ता कन्ट्रास्टको प्रयोग गरेर आन्द्रा, पेट लगायतका घाउ, क्यान्सर हेर्न सकिन्छ।

फ्लुरोस्कोपी/एन्जियोग्राफि/म्यामोग्राफि

फ्लुरोस्कोपीले  लगातार न्यून एक्सरेको प्रयोग गरि प्रत्यक्ष भिडियो चित्र बनाउँछ। यसबाट शरीरका विभिन्न अङ्गहरु प्रत्यक्ष कम्प्युटरमा हेर्दै सानो मात्र घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ। यसमा बेरियम र आयोडिनको प्रयोग गरेर पाचन नलि र रक्तनली हेर्ने तथा विभिन्न अङ्गको कार्यप्रणालिलाई प्रत्यक्ष हेर्न सकिन्छ।त्यस्तैगरि एन्जियोग्राफिमा शरीरमा एक्सरे ले छेड्न नसक्ने कन्ट्रास्टको प्रयोग गरेर एक्सरेको सहायता द्वारा रक्तनलि र मुटु हेर्ने गरिन्छ। हृदयघातको खतरालाई पूर्वानुमान गर्न यसले मद्दत गर्दछ।म्यामोग्राफिमा पनि न्यून एक्सरे प्रयोग द्वारा स्तनको गाँठाहरु तथा अन्य समस्याको जाँच गरिन्छ।

सिटि स्क्यान

सिटि स्क्यानमा मानिस वरिपरि एउटा गोलाकार मेसिन हुन्छ, जसले लगातार  एक्सरे र कम्प्युटरको सहाराले शरिरको विभिन्न तह तहमा विभिन्न कोणबाट चित्र जोडेर ३ डाइमेन्सल चित्र बनाएर शरिरका भित्री भागहरु अध्ययन गर्दछ। यसले सामान्यतया अरु प्रविधि भन्दा बढि विकिरण प्रयोग गर्दछ। यसको प्रयोग चिकित्सा संकाय बाहेक पुरातत्त्व विज्ञानले पनि विभिन्न अन्वेषणका निमित्त गर्दछ।

एमआरआइ

एमआरआइ मा चुम्बकको प्रयोगले शरीर भित्रको  पानिमा रहने हाइड्रोजनको न्यूक्लियस (प्रोटोन) लाई उत्तेजित पारेर शरीरका भित्री अङ्गहरुको चित्र कोरिन्छ। यसमा शरीरलाई विकिरणको खतरा रहदैन। तर चुम्बकले आकर्षण गर्न सक्ने साधन प्रयोग गरेका हरुमा यसको प्रयोग खतरापूर्ण हुन्छ। रगतमा अक्सिजनको मात्रा हेरेर गरिने एफ-एमआरआइ को प्रयोग द्वारा  विभिन्न उत्तेजना प्रति हाम्रो दिमागले दिने प्रतिक्रियाको अध्ययन गरेर मानसिक स्वास्थ्य सम्बन्धि अध्ययन गर्न मद्दत गर्दछ।

अल्ट्रासाउन्ड

अल्ट्रासाउन्डले हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर शरीरका भित्रि भागहरुको चित्र कोर्ने तथा शरिरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ। विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्त्वपूर्ण हुन्छ। यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ।

इलास्टोग्राफिमा अल्ट्रासाउन्ड वा एमआरआइको प्रयोग गरेर अङ्ग हरुको लचिलोपना मापन गरि विभिन्न रोगको बारेमा अध्ययन गरिन्छ। टेक्टाइल इमेजिङमा स्पर्शलाई चित्रमा परिणत गरेर स्तन, प्रोस्टेट, मांसपेशी लगायतको अध्ययन गरिन्छ।

इन्टरभेन्सनल  रेडियोलोजी

यस अन्तर्गत माथिका विभिन्न प्रविधिको प्रयोग द्वारा सानो मात्र घाउ बनाएर रोग पत्ता लगाउने तथा निदान गर्ने गरिन्छ। शरीरका भित्री अङ्गहरु बाट पिप, पानी वा मासुको टुक्रा निकाल्ने; मुटु, कलेजो, मृगौला लगायत अन्य अङ्गमा पाइप लगाएर बन्द भएको प्रवाहलाई पुन: खोल्ने; रक्तस्राव लाई रक्तनलिमा क्वाइल हालेर रोक्ने; शरीरका रक्तनलीमा अनावश्यक प्रवाह रोक्न फिल्टर लगाउने; क्यानसर ग्रस्त भागलाई काटेर निकाल्ने तथा जाँचको लागि स्याम्पल निकाल्ने; दिमागमा रक्तस्राव भएमा रोकथाम गर्ने, पक्षघातको उपचार गर्ने लगायतका कार्य हरु पर्दछन्।

जोखिम

विकिरणको प्रयोगले बिरामीमा विभिन्न खतरा समेत हुने गर्दछन्। त्यस्तै रेडियोलोजिमा काम गर्ने रेडियोलिजिस्ट तथा रेडियोग्राफरहरु विकिरण लगायतको उच्च जोखिममा हुन्छन्। फ्लुरोस्कोपि लगायतमा काम गर्ने चिकित्सकहरु विकिरणको प्रत्यक्ष सम्पर्कमा बस्नु पर्दछ। लिड बाट बनेको एप्रोनले खतरा न्यूनीकरण गरेतापनि क्यानसर, अन्धोपना, हाडजोर्नी लगायतको जोखिम रहन्छ।

रेडियोलोजिले अन्य चिकित्सा संकायहरु सँगको सहकार्यमा रोग पत्ता लगाउन र उपचार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। बढ्दो रिसर्च र प्रविधिको फड्कोले यो संकायलाई दिनानुदिन हिजो भन्दा बढी उत्कृष्ट बनाउदै लगेको छ। शरीर चिरेर नै गर्न पर्ने कति कार्यहरु आज शरीर नचिरिकनै सम्भव भएका छन्। अन्य विभिन्न संकायहरुको रोग पत्ता लगाउन र उपचार गर्ने रेडियोलोजिले सदैव हातेमालो गर्ने गर्दछ।

न्यून विकिरणको प्रयोग र न्यून जोखिम बहन द्वारा उच्च गुणस्तरको उपचार प्रवाह गर्न सक्नु नै रेडियोलोजिको प्रमुख उद्देश्य र भोलिको चुनौति हो।

(लेखक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अध्ययनरत प्रथम वर्षका आवासिय चिकित्सक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live