प्रोफाइल

जो पहिलोपल्ट बिरामी, दोस्रोपल्ट विशेषज्ञ भएर पुगे वीर अस्पताल

img

डिबी खड्का

२० वर्षअघि अशेष ढुंगाना १४ वर्षका थिए । त्यो बेला पहिलोपल्ट उनी वीर अस्पताल पुगेका थिए, बिरामी भएर । गत वर्ष मात्र दोस्रोपल्ट वीर अस्पतालको आँगन टेके, विशेषज्ञ डाक्टर बनेर।

यो संयोग र सपना दुईटै थियो उनका लागि । संयोग यसकारण थियो कि, बिरामी भएर अस्पतालबाट डिस्चार्ज भएपछि दोहोर्‍याएर वीर अस्पताल पुग्ने मौका मिलेन डा ढुंगानालाई । उनको सपना यो अस्पतालमा डाक्टर बनेर काम गर्ने थियो, जुन अघिल्लो वर्ष मात्र पूरा भयो। 

अस्पतालमा नियुक्त भएका दिन उनका आँखाले आफूलाई सानैमा पुर्‍याइएको इमर्जेन्सी चिहाए, खास परिवर्तन पाएनन् । त्यसपछि तीन हप्तासम्म आफूलाई राखेको वार्डमा उक्लिए, त्यहाँको हविगत पनि उस्तै भेटे । बाथ ज्वरोले थलिएपछि उनलाई उपचारका लागि वीरमा भर्ना गरिएको थियो । वीर अस्पताल छिर्नेबित्तिकै उनलाई महसुस भयो, ‘अरु धेरैतिर परिवर्तन भए पनि वीर उस्तै रहेछ।’

नेपालको स्वास्थ्य प्रणालीको अनुहार ठान्छन् उनी वीर अस्पताललाई । वीरको अनुहार नफेरिएकोमा उनी चिन्तत बन्छन् । त्यसैले वीरलाई आफ्नो तर्फबाट सकेको गर्ने प्रण लिएर बसेका छन् उनी । वीर पुगेदेखि नै आफ्नो विशेषज्ञता रहेको क्षेत्रमा बिरामीलाई नयाँ सेवा–सुविधा दिन लागिपरेका छन् डा ढुंगाना । 
भारतको प्रसिद्ध अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट ‘रेस्पिरियोटरी एन्ड स्लिप मेडिसिन’ (श्वासप्रश्वास र निद्रा विकार सम्बन्धी) मा डिएम (पिएचडी सरह) गरेका छन् उनले। यो विषयमा विशेषज्ञता हासिल गरेका जनशक्ति नेपालमा न्यून छन् । वीरजस्तो ठूलो अस्पतालमा समेत उनी आउनुअघि यस क्षेत्रको विशेषज्ञ थिएन ।
विशेषज्ञ नभएकै कारण अस्पतालमा उनी आउनुअघि श्वासप्रश्वास अर्थात् छातीरोग सम्बन्धी उपचार हुने छुट्टै ओपिडी थिएन । मेडिसिन विभागमा अन्य रोगसँगै यसको पनि ओपिडी जाँच हुन्थ्यो, तर थप प्राविधिक जाँच हुँदैनथ्यो। 

देशका विभिन्न ठाउँबाट रिफर भएर वीर पुगेका बिरामीले फेरि अर्काे अस्पताल जान वाध्य हुनुपथ्र्याे । डा ढुंगानाको आगमनपछि त्यो क्रम रोकिएको छ । उनले आफ्नै नेतृत्वमा ‘चेस्ट क्लिनिक’ खोलेर छुट्टै उपचार सेवासँगै केही प्राविधिक जाँच समेत सुरु गराइसकेका छन् । केही महिनादेखि अस्पतालमै ‘ब्रोन्कोस्कोपी’ र ‘पिएफटी’ सेवा बिरामीले पाइरहेका छन्। 

छातीरोग सम्बन्धी सम्पूर्ण जाँच र उपचार हुने ठाउँका रुपमा वीरलाई स्थापित गर्ने उनको लक्ष्य छ । उनलाई लाग्छ, ‘वीरजस्तो रिफरल अस्पतालमा सबै रोगको उपचार हुनुपर्छ ।’ त्यसैले उनी आफूले विशेषज्ञता हासिल गरेको छातीरोग र निद्रा विकार सम्बन्धी सेवाको विस्तारमा दिलोज्यान दिएर खटेका छन् । उनको लगाव देखेर अस्पताल प्रशासनले समेत सघाइरहेको छ। 

अस्पतालमा चाँडै नै ‘इन्डो–ब्रोन्कसिल’, ‘अल्ट्रासाउन्ड’, ‘थोरास्कोस्कोपी’ लगायतका सेवा सुरु हुँदैछन् । जसका लागि अस्पतालले टेन्डर गरेर आवश्यक उपकरण मगाइसकेको छ । यसैगरी, निद्रा सम्बन्धी समस्या जाँच्नका लागि ‘स्लिप ल्याब’ स्थापना गर्ने डा ढुंगानाको योजना छ । यस ल्याबबाट घुर्ने, राति श्वास रोकिने, मोटोपन लगायतका समस्याबारे पत्ता लगाइनेछ । निद्राका समस्याले सुगर, प्रेसर र मुटुको समस्या उत्पन्न हुन सक्ने हुँदा त्यसका लागि यो ल्याब उपयोगी हुने उनी बताउँछन्।

केही वर्षमै श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण उपचार र जाँच हुने सेन्टरका रुपमा वीर स्थापित हुने उनको विश्वास छ । अहिले यस सम्बन्धी धेरै जाँचका लागि भारत रिफर गर्नुपर्ने वाध्यता रहेको उनी बताउँछन् । भन्छन्, ‘मैले प्राविधिक र सैद्धान्तिक ज्ञान लिएर त आएको छु, तर उपकरण नहुँदा एक वर्षमा डेढ सयको हाराहारीमा बिरामी भारत रिफर गर्नुपर्‍यो।’

भारतमै पहिलो नम्बरको मेडिकल कलेज र अस्पताल मानिने एम्समा पढेर आएका उनलाई त्यही तहको उपचार सेवा नेपालमै दिन सकिन्छ भन्ने विश्वास छ।

डाक्टर बन्ने रहर उनको बालमस्तिष्किमा एम्सले नै रोपिदिएको थियो । घरपरिवार र आफन्तले त्यसअघि नै उनलाई डाक्टर बन्नुपर्छ भनिरहेका थिए । परिवारका सदस्यहरु बिरामी हुँदा सानोमा उनले पटक–पटक अस्पताल ओहोरदोहोर गर्नुप¥यो । यसले त्यो डाक्टर बन्ने रहरमा मलजल पु¥यायो । धनुषा नगरपालिकाका स्थायी बासिन्दा उनी सानैमा आफन्तको उपचारकै क्रममा पटना, दरभंगा, एम्स पुगिसकेका थिए । उनी सम्झिन्छन्, ‘त्यस्तै ११ वर्षको उमेरमा दाजुको उपचारका लागि एम्स पुगेका थिएँ । त्यतिबेला मलाई कसैले डाक्टरको राम्रो पढाइ हुने अस्पतालका रुपमा एम्सलाई चिनाइदिएको थियो।’

डाक्टर बन्ने लक्ष्यका साथ पढाइमा जोडतोड गरिरहेका उनले त्यो दिन अर्काे सपना देखेका थिए, भविष्यमा यहीँ आएर पढ्ने । चिकित्सा क्षेत्रको अन्तिम डिग्री अर्थात् डिएम त्यहीँ गरेर उनले आफ्नो सपना पूरा गरे। 

३३ वर्षकै उमेरमा चिकित्सा शास्त्रको औपचारिक पढाइ (डिएम) पूरा गरेका उनीसँग आफूलाई परिवर्तनको संवाहक बनाउने जोश–जाँगर छ । त्यस कारण नेपालका निजी अस्पतालले देखाएको सेवा सुविधाको लोभ लत्याएर उनी सरकारी अस्पतालमा जोडिन आइपुगे । डा ढुंगानाले वर्तमानलाई होइन, भविष्यलाई हेरेर यो निर्णय लिएका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एसिस्टेन्ट प्रोफेसर समेत रहेका उनी आफ्ना विशेषज्ञताको क्षेत्रमा यहीँ डिएम गराउने लक्ष्यमा छन् । यसका लागि उनले केही समय पर्खिनुपर्नेछ । किनकि जनशक्तिदेखि अत्याधुनिक उपकरणसम्मको तर्जुमा नभई विशेषज्ञता गराउन सकिँदैन।

पोखरास्थिति मणिपाल मेडिकल कलेजमा एमबिबिएस गरेका उनले भारतकै स्नातकोत्तर चिकित्सा शिक्षा एवं अध्यन संस्थान (पिजिआइै) बाट इन्टरनल मेडिसिनमा एमडी गरेका हुन्।

झन्डै ८ हजार डाक्टरसँग प्रतिस्पर्धा गरेर छात्रवृत्तिमा एमडी गरेका उनले डिएम गर्न झन्डै २५ हजार डाक्टरसँग प्रतिस्पर्धा गर्नुप¥यो । तर, उनले आफूलाई खरो उतारे । प्राथमिक शिक्षा धनुषाको जनकपुरमै गरेका उनले माध्यामिक शिक्षा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा लिए । आइएससी भने सेन्ट जेभिएरबाट पूरा गरे।

घरपरिवारको चाहना अनुसार नै आफूलाई पढाइ बाहेक उनले दायाँबायाँ लगाएनन् । एमबिबिएसपछि केही समय भरतपुरस्थिति बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा दिए उनले । तर, त्यसपछि भने लगातार पढाइमा केन्द्रित भए । चिकित्सकीय पेशामा निरन्तर अध्ययन, नयाँ प्रविधि र प्रणालीसँग अद्यावधिक नगरी खरो उत्रिन नसकिने उनलाई राम्रोसँग थाहा छ । उनी भन्छन्, ‘औपचारिक पढाइ मात्रै सकिएको हो । वास्तविक पढाइ बल्ल सुरु भएको छ ।’
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live