फिचर

नेपाल अाँखा अस्पतालको साख फर्काउँदै जर्नेल घले

 डिबी खड्का

दमन घले नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । ३७ वर्ष सेनामा बिताएका उनी अवकाशपछि केही वर्ष विश्राम लिन चाहन्थे । गल्फ खेल्ने क्रममा एक दिन उनलाई प्रस्ताव आयो, नेपाल आँखा अस्पतालको नेतृत्व गर्ने । गल्फका सहकर्मी अधिवक्ता ऋषिकान्त मैनालीले उनलाई उक्त प्रस्ताव गरेका थिए । मैनालीले भने, ‘जर्साब रिटायर्ड हुनुभयो । अवकाश लिए पनि अझै युवा र ऊर्जावान हुनुहुन्छ । अबको योजना के छ ? नेपाल आँखा अस्पतालको व्यवस्थपानको जिम्मेवारी लिनुहुन्थ्यो कि ?’

घलेले दुई–चार वर्ष घरपरिवारसँगै बिताउने आफ्नो चाहना रहेको बताए मैनालीलाई । सँगसँगै, वकिलले भाषाशैली मिलाएर गरेको प्रस्तावमा पनि उनको रुची जाग्यो । उनले पछि थाहा पाए, अधिवक्ता मैनाली त अस्पतालको बोर्ड अध्यक्ष रहेछन् । अस्पतालका डाक्टर व्यक्तिगत स्वार्थमा लाग्दा व्यवस्थापन खस्केकाले ८ महिनादेखि एक वर्ष जर्नेल घलेले सम्हालिदिए हुन्थ्यो भन्ने चाहना रहेछ अधिवक्ता मैनालीको । घलेलाई लाग्यो, ‘स्वास्थ्य क्षेत्रमा काम गर्नु भनेको सामाजिक सेवा पनि हो । अवकाश प्राप्त जीवनको अर्काे एजेन्डा सामाजिक सेवा पनि हो ।’

त्यसपछि केही समयका लागि मात्र भए पनि नेपाल आँखा अस्पतालको प्रम्ख कार्यकारी अधिकृत बनेर व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने निर्णयमा पुगे उनी । तर, उनले साढे दुई वर्ष बिताइसकेका छन् । अझै केही समय उनलाई आँखा अस्पतालमै बिताउनु छ । भन्छन्, ‘यस अस्पतालको पुरानो साख फिर्ता गराउने लक्ष्य छ ।’

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर नेपालको सबैभन्दा पुरानो आँखा अस्पताल हो । नेपाल सरकारको आधिकारिक स्वतन्त्र अस्पताल पनि हो यो । स्थापनाको ४३ वर्ष पूरा भइसकेको अस्पताल सुरुमा वीर अस्पतालको आँखा विभाग थियो । ‘आँखा बा’का रुपमा प्रख्यात डा रामप्रसाद पोखरेलले उक्त विभागलाई छुट्याएर यो अस्पताललाई छुट्टै अस्तित्वमा सुरु गरेका थिए । अस्पतालले डा सन्दुक रुइत लगायतका देशका वरिष्ठ आँखा विशेषज्ञ उत्पादन गरेको इतिहास छ । तर, विस्तारै अस्पतालको अवस्था भने खस्कियो। 

यही गर्विलो इतिहासको पुनरावृत्ति गर्ने चाहना छ घलेको । उनी भन्छन्, ‘सुरुका दिनमा दाताहरुको पनि सहयोग थियो । जर्मन, क्यानडा, जापान लगायत देशबाट सहयोग आउँथ्यो । विस्तारै उनीहरुसँगको सम्बन्ध टुट्यो र सहयोग पनि रोकियो ।’

व्यवस्थापकीय कमजोरीले अस्पतालको अवस्था यतिसम्म नाजुक बन्यो कि, एक चरण त यो अस्पताल पहुँचवालाका आफन्तको भर्तीकेन्द्र नै भयो । अस्पताललाई यस्तो दल–दलबाट उकास्न लर्तरो मान्छेले नहुने देखेरै घले जस्ता हक्की स्वभावका व्यक्तिलाई प्रस्ताव राखेका थिए अध्यक्ष मैनालीले । 

व्यवस्थापन सम्हाल्दाका सुरुवाती दिन घलेका लागि पनि सुखद रहेनन् । उनी भन्छन्, ‘कर्मचारीको अस्पतालप्रति अपनत्व थिएन । गुटबन्दी थियो, त्यो पनि आफ्नो स्वार्थमा लक्षित ।’
भित्र आँखा अस्पताल धराशयी थियो भने त्यसैका आडमा खुलेका आँखा क्लिनिक र चश्मा पसल भने मालामाल । अस्पतालका डाक्टरको आकर्षण पनि बाहिरका क्लिनिकमै बढी देखे उनले । 
उनी व्यक्तिगत स्वार्थका लागि आएका थिएनन् । त्यसैले उनले स्वार्थमा केन्द्रित अस्पतालका कर्मचारीको समूहलाई ठीक ठाउँमा ल्याउने कदम चाले । उनी भन्छन्, ‘केहीलाई त फायर नै गर्नुपर्‍यो ।’

सेनाको पूर्वजर्नेल व्यवस्थापन प्रमुख भएर आउँदा कतिपय डाक्टरले असहज महसुस गरे । तर कतिपय राम्रा डाक्टरले सोचे, ‘यो मान्छेलाई नपुग्दो के छ र ? आफ्नो फाइदाका लागि भन्दा पनि केही मिसन लिएर आएको होला ।’ उनीहरुले घलेलाई सघाउन थाले । जसको परिणाम स्वार्थ समूहका कारण इतिहासको गर्विलो दृष्टि गुमाउँदै गएको आँखा अस्पतालले आफ्नो दृष्टि फर्काउने क्रम सुरु गरेको छ। 

घलेले यसलाई आफ्नो जीवनको दोस्रो जागिर होइन, एउटा मिसनकै रुपमा लिइरहेका छन् । उनी ‘फुल टाइम’ अस्पतालमा रहने मात्रै होइन, केही रहर समेत मारेर अस्पतालमा खटेका छन् । उनी भन्छन्, ‘हप्तामा तीन दिन गल्फ खेल्न जान्थें । नत्र मलाई एक्सरसाइज नै पुग्दैन । तर, यहाँ आएदेखि एक दिन शनिबार मात्रै जान्छु ।’ 
घलेलाई अस्पतालमा काम गर्दा एकखालको सन्तुष्टि मिलिरहेको छ, किनभने आफ्नो कामको नतिजा पनि सँगसँगै देखिरहेका छन् । उनी भन्छन्, ‘बिरामीको चाप, शल्यक्रिया गराउनेको संख्या र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुँदैछ ।’

बीचमा टुटेको अन्तर्राष्ट्रिय सम्बन्ध उनले विस्तार गरेका हुन् । यसैगरी आन्तरिक रुपमा भौतिक सुधार पनि भइरहेको छ । नेपालका सरकारी अस्पताललाई व्यवस्थापकीय रुपमा चुस्त–दुरुस्त बनाउने हो भने चिकित्सा क्षेत्रका भन्दा फरक व्यक्तिलाई नेतृत्व गर्न दिनुपर्ने उनको बुझाइ छ । स्वास्थ्य क्षेत्रमा नियम–कानुन राम्रा भए पनि पालना हुन नसकेको उनले महसुस गरेका छन् । उनले निर्धक्क भने, ‘संस्थाले नीति नियममा बाँध्न  नसकेका कारण डाक्टर छाडा भइसकेका छन् । स्वार्थका कारण आपसमा डाक्टर मिल्दैनन् तर बाहिरको व्यक्ति आउँदा मिलिहाल्छन् ।’

अस्पतालसँग प्रायः डाक्टरको आ–आफ्नै स्वार्थ जोडिने भएकाले कसैले कसैलाई नियन्त्रणमा राख्न नसक्ने उनको अनुभव छ । डाक्टरहरु निरन्तर बिरामीको उपचारमा केन्द्रित हुनुपर्ने भएकाले पनि उनीहरुकै हातमा व्यवस्थापनको जिम्मेवारी दिँदा अस्पताल कमजोर हुँदै जाने गरेको बताउँछन् उनी । यसकारण उनलाई लाग्छ व्यवस्थापकीय जिम्मा ‘ननमेडिकल’को हातमा दिनु जरुरी छ, जो इमान्दार भएर व्यवस्थापकीय सुधारमा खट्न सकोस्। 

नेपाल आँखा अस्पताल उपचार केन्द्र मात्रै नभएर शैक्षिक संस्था पनि हो । अहिले पनि आँखा विशेषज्ञको इन्टर्नसिपसँगै आँखा स्वास्थ्य सहायकको पढाइ हुन्छ । घले यहीँ आँखा विशेषज्ञको पढाइ हुने वातावरण बनाउन लागिपरेका छन् । उनले यो संस्थालाई ‘रिसर्च सेन्टर’का रुपमा विकास गर्ने लक्ष्य पनि पालेका छन् । उनी भन्छन्, ‘एउटा पूर्ण आँखा सेन्टर बनाउने सपना छ । यति गर्न सकियो भने अस्पतालको पुरानो साख पनि फिर्ता हुनेछ ।’ 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live