टिप्स/जानकारी

राती भन्दा दिउँसो जलेका घाउ छिट्टै निको हुन्छ : अध्ययन

जेम्स ग्यालाघर, बिबिसी 

एउटा अध्ययनले रातिभन्दा दिउँसो भएका घाउ छिट्टै निको हुने देखाएको छ।

अध्ययनले राति जलेर भएका घाउ निको हुन औसत २८ दिन लागेको र दिउँसो भएका यस्तै घाउ (जलेर भएका) भने १७ दिनमा नै निको भएको पत्ता लगाएको थियो।
बेलायतको एमआरसी ल्याबोरेटरी अफ मोलेक्युलर बायोलजीको अध्ययन समूहले १ सय १८ जना यस्ता जलेका बिरामीको घाउबारे गरिएको अध्ययनबाट दिउँसो हुने घाउ चाँडै निको हुने पत्ता लाग्दा आफूहरू चकित परेको बताएको छ।

अध्ययन समूहले बेलायतको नेसनल हेल्थ सर्भिसको जलेका बिरामी युनिटमा भर्ना १ सय १८ जना बिरामीको घाउको उपचारको अध्ययन गरेको थियो।
दिउँसो जलेका घाउ चाँडो निको हुनुलाई मानव शरीरको जैविक घडी वा ‘सर्काडियन रिदम’सँग सम्बन्धित भएको व्याख्या गरिएको छ।

यो अध्ययन साइन्स इन ट्रान्सलेस्नल मेडिसिनमा प्रकाशित छ।

अध्ययनले दिउँसो जलेर भएका घाउ र राति जलेर भएका घाउ ठिक हुने समयमा ११ दिनको फरक रहेको देखाएको छ।

प्रयोगशालामा गरिएको विस्तृत परीक्षणमा फाइब्रोब्लास्ट भनिने छालाका कोषहरूको निको हुने वा परिवर्तन हुने क्षमता सर्काडियन रिदम अनुसार फरक पर्ने पत्ता लागेको थियो।

हाम्रो शरीरको कुनै पनि ठाउँमा घाउ हुँदा सबैभन्दा पहिले घाउको सूचना मस्तिष्कलाई दिने घाउनजिकका कोष वा टिस्युलाई फाइब्रोब्लास्ट भनिन्छ। 

यी फाइब्रोब्लास्ट दिउँसो सर्वाधिक सक्रिय हुन्छन् तर राति भने यिनीहरूको सक्रियता न्यून हुन्छ।
‘दिउँसो फाइब्रोब्लास्टको सक्रियतालाई एउटा धावकसँग तुलना गर्ने हो भने सय मिटरका स्प्रिन्टरको जस्तो हुन्छ, जतिबेला पनि तीव्र गतिमा दौडन तयार,’ अध्ययन समूहमा संलग्न डा. जोन ओ’निल भन्छन्, ‘तर राति भने तिनको गति म्याराथन धावकको जस्तो हुन्छ।’

अध्ययनकर्ताहरूले यो नयाँ जानकारीको उपयोग शल्यक्रियालाई सफल पार्नमा गर्न सकिने बताएका छन् ।
स्टेराइड कोर्टिसोलजस्ता केही औषधिहरूले बिरामीको जैविक घडी (सर्काडियन रिदम) लाई राति पनि ‘रिसेट’ गरी दिउँसोजस्तै सक्रिय बनाउन सकिने अपेक्षा अध्ययनकर्ता समूहको छ।

र, विश्वका हरेक व्यक्तिको जैविक घडीको ‘सञ्चालन ढाँचा’ एक अर्काभन्दा केही फरक वा ‘क्रोनोटाइप’ हुन्छ ।
शल्यक्रिया गर्नुपर्दा यसैले बिरामीको जैविक घडी (सर्काडियन रिदम) अनुसार उपयुक्त समयमा गरे शल्यक्रिया सफल र घाउ चाँडै निको हुने सम्भावना बढी हुने उनीहरूको अपेक्षा छ।

तर यी दुवैबारे परीक्षण हुन भने बाँकी नै छ । 
‘घाउको उपचारमा मात्र एनएचएसको करिब ५ अर्ब बेलायती पाउन्ड खर्च हुन्छ,’ युनिभर्सिटी अफ म्यानचेस्टरका क्लिनिकल साइन्टिस्ट डा जोन ब्लेकली भन्छन्, ‘यति धेरै रकम खर्च हुनुको एउटा कारण घाउ चाँडै निको पार्ने प्रभावकारी उपचार पद्धतिको अभाव पनि हो।’

उनले सर्काडियन रिदम फ्याक्टरलाई ध्यानमा राखी जैविक घडीलाई प्रभावकारी बनाउने नयाँ औषधि विकास गर्न सकिने अपेक्षा व्यक्त गरे । साथै यसो भए स्थापित उपचार पद्धतिको प्रभावकारीता पनि अझै बढ्ने पनि उनले बताए ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live