विचार/ब्लग

उधारो औषधि दिएँ, तर उनले श्रीमती बचाउन सकेनन्

नवराज खनाल

आमाबुबा सधैँ बिरामी भइरहने हुनाले मलाई सानैदेखि लाग्थ्यो-  सुई वा औषधि आफैंले दिन पाए कति राम्रो हुने थियो।

जब मैले एसएलसी सकेँ, २०५४  सालमा सिएमएमा भर्ना भएँ। दुई वर्ष फार्मेसीको कोर्स गरेपछि काठमाडौँका विभिन्न फार्मेसीबाट मेरो यात्रा सुरु भयो। पहिले कोमल फर्मेसीमा काम सिक्ने मौका पाएँ। त्यसपछि दुई वर्ष वीर अस्पताल अगाडिको एक फार्मेसीमा काम गरेँ।

यति अनुभव भएपछि मलाई आँट आयो र आफैंले बानेश्वरमा फार्मेसी सुरु गरेँ। दुई वर्ष सञ्चालन गरेपछि वीर अस्पताल अगाडि 'हनुमान फार्मेसी' नाम राखेर व्यवसायलाई विस्तार गरेँ। जहाँ ६ जनाले रोजगारी पाएका छन्। मेरो फार्मेसी चौबीसै घन्टा खुल्ने भएकाले यहाँ कर्मचारी पालैपालो खट्ने गरेका छन्।

000

मैले फार्मेसी सञ्चालन थालेकै १२ वर्ष भइसक्यो। यो अवधिमा केही तीता अनुभव पनि सँगालेको छु।

एक पटक दशैंको बेला सबै फार्मेसी बन्द थिए। डाक्टरहरुले भने, 'बिरामीको चाप छ, तपाईंले चाहिँ खुल्ला राखेर सहयोग गरिदिनुपर्यो।' सेवामूलक व्यवसाय भएकाले मैले स्टाफलाई बिदा दिएँ र आफैं दिनभर फार्मेसीमा बसेँ।

२०६२/०६३ को जनआन्दोलनको बेला दिउँसो कर्फ्यु लाग्थ्यो, बेलुका मात्र केहीबेरका लागि खुल्ला हुन्थ्यो। दिनभर बसेर बेलुका खाना खान जाने सोच बनाएको थिएँ। तर, बेलुका कर्फ्युकै कारण निस्कन पाइएन। स्टाफ पनि आउन सकेका थिएनन्। त्यो रातभर केही नखाई फार्मेसीभित्रै भोकै बस्नुपरेको क्षण अहिले पनि सम्झिन्छु।

बिरामीका लागि सेवा दिने व्यवसाय भएका जस्तोसुकै परिस्थितिमा पनि फार्मेसी खुल्ला राख्नुपर्ने हुन्छ। कतिपय अवस्थामा बिरामीका आफन्तले औषधि लान्छन् र पैसा छैन, पछि दिऊँला भन्छन्। यस्तो अवस्थामा व्यवसायभन्दा पनि मानवीयता नै जोडिएको हुँदो रहेछ।

धादिङबाट श्रीमती लिएर आएका एक जनाले उपचार गर्दागर्दै पैसा सिध्याएछन्। मकहाँ आएर रुँला जस्तै गरे र उधारो औषधि लिएर गए। तर, उनले श्रीमती बचाउन सकेनन्। औषधिको पैसा पछि तिर्छु भनेर घरको ठेगाना दिएका थिए। पछि मैले स्टाफलाई उनको घरमा गएर 'एउटा खसी भए पनि लिएर आउनू' भनेर पठाएको थिएँ, तर उनको आर्थिक अवस्था ज्यादै दयनीय रहेछ। ६ जना छोरी रहेछन्। बिहान-बेलुका खान पनि समस्या रहेछ। मेरा स्टाफले त्यो बिजोग देखेर उल्टै एक हजार दिएर आएछन्। 

अरुकहाँ काम गर्दा बिरामीको परिवार गरिब छ, दु:खी छ भनेर उधारो औषधि दिन सकिन्न थियो। तर आफ्नै भएपछि कहिलेकाहीँ 'सेवा नै धर्म हो' भन्ने भावले पनि धेरैलाई सहयोग गर्छ। फार्मेसी व्यवसायमा दु:खीको सेवा गर्ने मौका मिल्छ। 

कहिलेकाहीँ आवारा ठिटाहरुले धम्की दिने गरेको अनुभव पनि मसँग छ। रातको समयमा उनीहरु झुम्म बनाउने खालको औषधि (नार्कोटिक) मागेर हैरान पार्छन्। 'डाक्टरको प्रेस्क्रिप्सनबिना दिन मिल्दैन' भन्दा उल्टै थर्काउँछन्। 

अस्पतालको नजिक भएकाले हामीले सामान्य सिटामोल, निको, साइनेक्स मात्र आफूखुसी बेच्न मिल्छ अरु औषधि प्रेस्क्रिप्सनबिना मिल्दैन। 

अर्को कुरा, एक-दुई वटा फार्मेसीको गलत कामले गर्दा मिडियाले सबैलाई मुछेर खेदो गरेको जस्तो लाग्छ। यथार्थ बुझेर कुन कम्पनीले गलत गरेको हो त्यही कम्पनीबारे मात्र लेखे राम्रो हुने थियो।

प्रस्तुती : सिर्जना खत्री

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live