डक्टर्स आर्टिकल

छारेरोगका लक्षण, गर्न हुने र नहुने काम

डा दिपेन्द्रकुमार रौशन


छारेरोग एक किसिमको मस्तिष्क रोग हो । यस रोगले मानिसको मस्तिष्कमा असामान्य रुपले विद्युत तरंग उत्पन्न गर्छ । जसले गर्दा बिरामी मुर्छा पर्ने, आखाँ पल्टाउने, मुखबाट फिँज निकाल्ने, हातखुट्टा झट्काउने र एकाएक आफै ब्युँझने गर्छन् । यो रोग अरु रोगजस्तै शरीरभित्रको खराबीका कारणले पैदा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग लाग्छ ।
छारेरोगका कारण
-  जन्मँदा मस्तिष्कमा लागेको चोट,
-   स्तिष्क ज्वरो (इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, आदि),
-   टाउकोमा चोटपटक लाग्नाले,
-   मस्तिष्कमा ट्युमर भएमा, 
-   अत्यधिक रक्सी सेवन गरेमा,
-   अनिद्रा, तनाव आदि भएमा,
-   रगतमा चिनीको मात्रा कम भएमा,
-   महिनावारी समस्या वा हर्मोनको गडबडी हुँदा, 
-   डाक्टरले दिएको छारेरोगको औषधि नियमित सेवन नगरे,
-   चम्किलो बत्ती वा कुनै विशेष प्रकारको संगीत÷आवाजले,
-   कुनै–कुनै औषधि (जस्तै– एन्टी साइकियाट्रिक, एन्टी डिप्रेसन मेडिसिन आदि) का कारण,
-    मस्तिष्कलाई असर पार्ने कुनै पनि कारण (जस्तै– धेरै लामो अवधिको कडा कमलपित्त, कडा खालको मिर्गौला रोग, परजीविका कारण आदि) । 

छारेरोगका लक्षण
छारेरोग धेरै प्रकारका हन्छन् । मस्तिष्कको कुन भागमा असर परेको हो सोही आधारमा विभिन्न लक्षण देखा पर्छन् ।
-   मुर्छा पर्ने,
-   आखाँ पल्टाउने,
-   फिँज निकाल्ने,
-   जिब्रो तथा ओठ टोक्ने,
-  कसैकसैले थाहै नपाई दिशा वा पिसाब गर्ने,
-   शरीर कमजोर हुने,
-   टोलाएर बस्ने,
-    शरीरको गतिविधि अनियमित हुने,
-   शरीर कडा हुने र सन्तुलन बिग्रने,
-    बेहोसीबाट ब्युँझिएपछि केही समय बेसुर हुने, थकाइ महसुस गर्ने र निदाउने,
-   शुरुमा कहिलेकाँही मात्र छोप्ने व्यक्तिलाई उपचार नगरेमा छिटोछिटो छोप्न सक्ने र दिनमा धेरै पटक पनि छोप्ने,
-    अप्ठेरो ठाउँ या आगोको नजिक छोप्दा चोटपटक लागि अंगभंग हुने वा जल्ने मात्र नभई एक्कासी मृत्युसमेत हुने, आदि । 

छारेरोगले छोपेका बेला बिरामीका आफन्तले के गर्ने ?
-    धेरै जस्तो छारेरोगले ५ मिनेटभन्दा छोटो अवधि छोप्ने भएकाले नआत्तिने,
-   चोटपटक लाग्न सक्ने सामानहरु (जस्तै– आगो, पानी, धारिलो हतियार आदि) बिरामीको वरिपरिबाट हटाउने,
-   बिरामीलाई सजिलो ठाउँमा सुताउने,
-   बिरामीको नाक वा मुखबाट केही पदार्थ निस्केको छ भने त्यसलार्ई पुछिदिने र सफा राख्ने, 
-    बिरामीले लगाएका लुगा कस्सिएको छ भने खुकुलो बनाइदिने, यदि चस्मा लगाएको छ भने फुकालिदिने,
-   बिरामीले पूर्णरुपले स्वस्थ महसुस नगरुन्जेल साथमा रहने र डाक्टरको सल्लाह लिने ।

छारेरोगले छोपेका बेलामा बिरामीका आफन्तले के नगर्ने ?
-    बिरामीको मुख खोल्ने प्रयास नगर्ने,
-    बिरामीलाई समात्ने वा रोक्ने प्रयास नगर्ने,
-    बिरामीलाई जुत्ता, प्याज वा अन्य दुर्गन्ध नसुघाँउने । हाम्रो समाजमा दुर्गन्धित मोजा सुँधाउनुपर्छ भन्ने भ्रम छ, त्यसलाई त्यागिदिने,
-    छारेरोगका बिरामीलाई जोखिमपूर्ण गतिविधि (जस्तै– ड्राइभिङ, रुख चड्ने, पौडिने आदि) गर्न नदिने । 

छारेरोग पटक–पटक दोहरिन नदिन के–के गर्ने  ?
-    नियमित औषधि लिने,
-    पर्याप्त मात्रामा निद्रा पु¥याउने,
-    चिन्ताबाट मुक्त रहने,
-    योगा र ध्यान गर्ने, जसले गर्दा मन शान्त रहोस्,
-   मध्यपान र धूमपान सेवन नगर्ने,
-    स्वस्थ खाना खाने । माछा–मासुभन्दा फलफूल र सागसब्जी बढी खाने,
-    पानी प्रसस्त मात्रामा पिउने,
-    डाक्टरको सल्लाहबिना औषधि घटाउने, बढाउने वा बन्द गर्ने काम नगर्ने ।

छारेरोगका लागि के परीक्षण गर्ने ?
-    रगतबाट कलेजो र मिर्गौलाको जाँच,
-    इइजी,
-    टाउकोको सिटी स्क्यान वा एमआरआई,
-    पेट स्क्यान, 
-    आवश्यक परे मस्तिष्कको शल्यक्रिया पनि गर्ने ।
डा रौशन  नेपाल कोरिया मैत्री अस्पतालका कार्यकारी निर्देशक हुन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live