मुख्य समाचार

अवैध काठमाडौं नेशनलमा फाइल मिलाउँदै गर्दा काउन्सिल सदस्य अंकुर साह रङ्गेहात फेला

कारबाहीका लागि काउन्सिल र स्वास्थ्य मन्त्रालयलाई पत्र

दुर्गा दुलाल

काठमाडौं– स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नै नलिई अवैध रुपमा सञ्चालन हुँदै आएको घट्टेकुलोस्थित विवादित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा नेपाल मेडिकल काउन्सिलका सदस्य कागजपत्र मिलाइरहेको अवस्थामा फेला परेका छन्।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगका सदस्यहरुले बिहीबार गरेको निरीक्षणका क्रममा काउन्सिल सदस्य डा अंकुर साह कलेज सञ्चालकको कार्यकक्षमा कागजात मिलाइरहेको अवस्थामा रङ्गेहात फेला परेका हुन्।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘मध्यान्न साढे १२ बजे टोली पुग्दा डा साह कलेज सञ्चालक डा जैनुद्दिन अन्सारीको कार्यकक्षमा कागजपत्र मिलाइरहेको अवस्थामा फेला परेका हुन्।’ 

कार्कीले थपे, ‘विवादित मेडिकल कलेजको निरीक्षणका क्रममा काउन्सिल सदस्यलाई त्यहाँ भेटेपछि आयोग सदस्य डा उपेन्द्र देवकोटाले सोधपुछ गर्दा सञ्चालक अन्सारीले डा अंकुर नजिकै बस्ने भएर मात्र आएको जवाफ दिएका थिए।’

अध्यक्ष कार्कीका अनुसार बिहीबार नेशनलमा फेला परेका डा साहसँग शुक्रबार आयोगको कार्यकक्षमा बोलाएर आवश्यक सोधपुछ गरिएको छ ।

सोधपुछका क्रममा आयोगले डा साहलाई विवादित कलेज सञ्चालकको कार्यकक्षमा किन गएको र जानुपरेको कारण के हो भनी प्रश्न गरेको थियो। 

जवाफमा डा साहले आफ्नो बुबा डा हुकमदेव साह नेशनलका सञ्चालक अन्सारीको साथी रहेको साथै मेडिकल कलेजको फ्याकल्टी समेत रहेको वयान दिएका छन्। उनले आफू पनि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको भिजिटिङ प्रोफेसर रहेको वयान दिएका छन्।

डा साहसँगको वयानपछि आयोगले विवादित प्रस्तावित कलेज र अस्पतालमा डा साहको अनधिकृत उपस्थिति सम्बन्धमा आवश्यक कार्यार्थ नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयलाई लेखिपठाउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live