विचार/ब्लग

स्वास्थ्यकर्मीलाई नै सामान्य रोगदेखि एचआइभी संक्रमणसम्म सर्ने खतरा छ

सरिता गौतम, सिअहेब, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

हामी स्वास्थ्यकर्मी हरेक समय बिरामीको सम्र्पक हुनुपर्छ । अहिले सरुवा रोग अस्पतालमा  कार्यरत छु । एक वर्ष भयो । यसअघि म तीनथाना उपस्वास्थ्य चौकीमा काम गर्थें ।
मैले सरकारी स्वास्थ्य सेवामा काम थालेको ८ वर्ष भयो । जागिरको सुरुवाती दिनमा म रुकुमको मग्मा उपस्वास्थ्य चौकीमा इन्चार्ज भएर गएकी थिएँ । त्यहाँ ४ वर्ष काम गरें ।
दुर्गममा काम गर्न गाह्रो नै छ । किनकि गाउँमा सबै काम आफैंले गर्नुपर्छ । सुत्केरी गराउने, टाँका लगाउनेदेखि झाडापखाला लगायतका सबै बिरामीलाई आफैंले हेर्नुपर्ने हुन्छ । यहाँको जस्तो छुट्टाछुट्टै काम हुँदैन। 

ग्रामीण क्षेत्रमा रहेर काम गर्नुपर्दा भने अलि समस्या हुन्छ । किनकि ग्रामीण ठाउँमा भनेजस्तो सुविधा हुँदैन ।

खासगरी गर्भवतीहरु स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन सक्ने अवस्था अझै सहज बनेको छैन । रुकुममा काम गर्दा त्यो बेलामा घरघरमा गएर सुत्केरी गराउनुपर्ने हुन्थ्यो ।
निकै टाढा–टाढा जानुपर्ने र सुत्केरी सामग्री सहज रुपमा नपाउँदा उस्तै समस्या झेल्नुपथ्र्यो । 

दुर्गममा खासगरी निम्न आयस्तरका बिरामी बढी आउँछन् भने यहाँका बिरामी अलेलि पैसा खर्च गर्न सक्ने किसिमकै हुन्छन् । 
हुन त दुर्गममा होस् वा सुगममा अस्पतालमा काम गर्नु भनेको एक प्रकारको जोखिम नै हो । अझ यो सरुवा रोगको अस्पताल भएकाले यहाँ देशभरका विभिन्न प्रकारका सरुवा रोगका बिरामी आउँछन् ।

यस्तो ठाउँमा प्रत्यक्ष बिरामीको सम्र्पकमा हुने भएकाले स्वास्थ्यकर्मी अलि बढी सतर्क हुन जरुरी छ । यहाँ धेरैजसो ‘फ्लु’का बिरामी, विभिन्न जनावरले टोकेर रेबिजको सुइ लगाउन आउने, एचआइभी संक्रमितहरुको उपचार हुन्छ ।

मैले जनावरले टोकेका बिरामीलाई रेबिजको भ्याक्सिन दिने गर्छु । रेविजको भ्याक्सिन लगाउने क्रममा पनि जोखिम छ । 

खासगरी रेबिजको उच्च जोखिम त्यतिखेर हुन्छ, जतिबेला ‘इमिनिग्लोबिन’ सुई लगाउनुपर्ने हुन्छ । यो जनावरले टोकेको घाउको वरिपरि लगाउने सुइ हो । जनावरले टोकेपछि घाउ ठूलो भएमा, घाउले नसा छोएको छ भने, औंलाहरुमा घाउ भएमा, गहिरो घाउ भएमा यो सुइ लगाउनुपर्ने हुन्छ । यो सुई लगाउन नेपालभरि बाट बिरामी यहीँ आउनुपर्छ । 
यो भ्याक्सिन लगाउने संवेदनशील समयमा कुनै कारणवश बिरामीको रगत लागेमा रोगको संक्रमण सर्ने जोखिम हुन्छ । 

नेपालमा अझै पनि जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित रहन वा जोगिन कुनै व्यवस्था छैन । तर पनि हामी काम गर्ने समयमा आफैं जोगिने कोसिस गरिरहेका हुन्छौं । सरुवा रोग अरु मानिसमा चाँडै सरिहाल्ने भएको हुनाले विशेषगरी त्यस्ता बिरामीको सम्पर्कमा रहनुपर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षाको विशेष व्यवस्था हुनुपर्छ । त्यसैगरी, यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याउनुपर्छ जस्तो लाग्छ । किनकि सरुवारोग अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई चाँडै रोग सर्ने जोखिम अत्यधिक हुन्छ ।

८ वर्ष काम गर्दाको अनुभव अनुसार महिलाले कामसँगसँगै घर–परिवार सम्हाल्नुपर्दा निकै हम्मेहम्मे पर्ने रहेछ । ड्युटी र घर सम्हाल्नु निकै चुनौतीपूर्ण काम हो । महिलाले जुन पदमा काम गरे पनि घरपरिवार, छोराछोरीका कारण पुरुषलाई भन्दा धेरै तनाव झेल्नुपर्ने हुन्छ । महिलाले अफिसमा त काम गर्नुपर्छ नै घरमा गएर पनि फेरि अरु जिम्मेवारी निभाउनुपर्छ । 

मेरो पाँच वर्षकी छोरी पनि छिन् । उनको हेरचाहदेखि घरायसी जिम्मेवारी निर्वाह गर्नु पनि अर्को चुनौतिपूर्ण कुरा छ । स्वास्थ्यकर्मी महिलालाई त झन् समस्या छ, किनकि ड्युटी कुन समयमा पर्छ भन्ने नै टुंगो हुँदैन। बिहान, दिउँसो, राति जुनै बेला पनि तयारी अवस्थामा रहनुपर्छ । अहिले चाहिँ टेकु अस्पतालमा नाइट ड्युटी गर्नुपर्दैन, त्यसले धेरै राहत भएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live