मुख्य समाचार

५ लाखको जागिर छाडेर चुनावमा उत्रे यी डाक्टर

कृष्ण अधिकारी

नेपालगञ्ज– मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्लास्टिक सर्जन डा विनोद कर्ण करिब ५ लाखको आकर्षक जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन्। 

एक वर्षयता नेपालगञ्जमा सरसफाइ अभियानमा सक्रिय रहँदै आएका डा कर्ण राजनीतिमा पनि स्वच्छता आवश्यक रहेको ठहर गर्दै यो चुनावमा उम्मेदवार बनेका छन्। आकर्षक जागिर छाडेर विवेकशील साझा पार्टीमा आबद्ध भएका उनी बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेरवार भएका हुन्। 

सन् २००१ देखि २०१२ सम्म राजधानीका विभिन्न अस्पतालमा प्लास्टिक सर्जनका रुपमा काम गरेका डा कर्ण त्यसपछि गृहजिल्लामै केही गर्ने सोचले नेपालगञ्ज फर्किए । करिब ८ वर्ष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा काम गरे।

पछिल्लो साढे एक वर्षदेखि डा कर्ण चिकित्सासँगै सामाजिक अभियानमा जुट्दै साथीहरुसँग मिलेर ‘क्लिन नेपालगञ्ज ग्रीन नेपालगञ्ज’ अभियान अन्तर्गत नगर क्षेत्रमा सरसफाइ र वृक्षरोपणमा सक्रिय रहँदै आएका छन्।

सरसफाइ अभियान ६३ हप्तामा पुगिसक्दा उनले राजनीति नसुध्री केही हुँदैन भन्ने निष्कर्ष निकाल्दै विवेकशील साझा पार्टीमार्फत जनतामाझ आएका हुन्।  

डा कर्णले स्वास्थ्यखबरका कृष्ण अधिकारीसँग डाक्टरी पेशा छाडेर राजनीतिमा प्रवेश गर्नुको कारण खोेले :

मेरो उमेर ५० वर्ष भयो। मैले १८ वर्षसम्म प्लास्टिक सर्जनको रुपमा बिरामीको सेवा गरेँ। करिब २५ हजार त अपरेसन गरेँ। आफ्नो लागि मात्रै कति गर्ने, देश र जनताका लागि पनि केही गरुँ भन्ने सोच आएर मैले नेपालगञ्जमा साथीहरुसँग मिलेर ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगञ्ज’ अभियान सुरु गरेँ। आफैं झाडु बोकेर नगर क्षेत्रको सरसफाइ गरेँ, वृक्षरोपण गरेर हरियाली अभियानमा सक्रिय भएँ। सरसफाइ अभियानमा सक्रिय हुँदा मैले धेरै बुझ्ने र सिक्ने मौका पाएँ।  हाम्रो देशमा प्रशस्त सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग हुन सकेको छैन। प्रस्ट भिजन र प्रतिबद्धता भएका राजनीतिक पार्टी र नेताहरु नहुँदा आम सर्वसाधारण जनताले धेरै कष्ट र हैरानी खेप्नुपरेको छ।

हामी ठूला पार्टी र नेताहरुले गर्न सकेनन्, भ्रष्ट भए भनेर गुनासो मात्रै गरिरहेका छौं। गुनासो गरेर सुध्रिने अवस्था देखिएन । गुनासो गरेर समय खेर फाल्नुभन्दा आफैं राजनीतिमा होमिएर राजनीतिलाई नै सही दिशा ल्याई हाम्रै पालामा सुशासन र समृद्धि ल्याउन सम्भव छ भन्ने निष्कर्षका साथ राजनीतिमा होमिएको हुँ। अब राजनीतिमार्फत समाजको अपरेसनमा केन्द्रित हुनेछु।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live