मुख्य समाचार

चितवन मेडिकल कलेजमा मुटुरोगीलाई गंगालाल अस्पतालको सरह शुल्क

विपन्नलाई एक लाखसम्म निःशुल्क 

स्वास्थ्य खबरपत्रिका

चितवन- चितवन मेडिकल कलेजको शिक्षण अस्पतालले मुटुरोगको उपचारमा गंगालाल हृदय केन्द्रकै शुल्कमा सेवा दिन थालेको छ।

विपन्न नागरिकले एक लाख रुपैयाँसम्म निःशुल्क उपचार पाउने र त्यसभन्दा बढी खर्च लागे गंगालालकै सरह शुल्कमा उपचार सेवा पाउने भएका हुन्। विपन्न बाहेकका बिरामीका लागि पनि अस्पतालले गंगालालकै शुल्कमा उपचार दिन थालेको मुटुरोग विभागका प्रमुख डा श्यामराज रेग्मीले जानकारी दिए। 

‘स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार विपन्न नागरिकलाई एक लाखसम्मको उपचार खर्च नि:शुल्क हुनेछ’, उनले भने, ‘पैसा तिर्नेले पनि गंगालाल अस्पतालमा लाग्ने शुल्क मात्र तिरे पुग्छ।’

डा रेग्मीका अनुसार, अस्पतालमा अहिले दैनिक ७० देखि ७५ जना मुटुरोगी आउने गरेका छन्। स्वास्थ्य बिमाका कारण पनि उपचारमा आउनेको संख्या बढेको उनको भनाइ छ।
‘बिमा गरेका बिरामीको हकमा त डेढ लाखसम्मको उपचार निःशुल्क हुन्छ’, डा रेग्मीले भने।

अस्पतालमा तीन जना डाक्टरले चौबिसै घन्टा मुटुको उपचार सेवा दिइरहेको उनले जानकारी दिए । 

हृदयाघात भएकाले नयाँ जीवन पाउँदै

डा रेग्मीका अनुसार, अस्पतालमा क्याथल्याब सेवा सुरु भएपछि हृदयाघात भएका बिरामीले नयाँ जीवन पाइरहेका छन्। 

‘विगतमा चितवन र आसपासका क्षेत्रका मानिसलाई हृदयाघात भयो भने काठमाडौं नै पुर्याभउनु पर्थ्यो। त्यस क्रममा कतिको बाटैमा मृत्यु हुने अवस्था रहे पनि अहिले अवस्था फेरिएको छ',  उनले भने, ‘हृदयाघात भएर यहाँ आएका धेरैले समयमै उपचार पाएर नयाँ जीवन पाइरहेका छन्।'

उनले हृदयाघात भएर आकस्मिक अवस्थामा आएका बिरामीको बन्द भएको मुटुको नली एक घन्टाभित्र खोल्ने गरिएको जानकारी दिए। अस्पतालको मुटु विभागमा हृदयाघात, जन्मजात मुटुरोग, उच्च रक्तचाप लगायतका मुटुका बिरामी उपचारका लागि आउने गरेका छन्। 

अस्पतालमा मुटुको आकस्मिक अवस्थाका सबै उपचार सेवा उपलब्ध रहेको तथा ओपन हार्ट सर्जरी आगामी जनवरीदेखि नियमितरुपमा हुने अस्पतालले जनाएको छ। हालसम्म अस्पतालमा करिब एक दर्जनको ओपन हार्ट सर्जरी भएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live