डक्टर्स आर्टिकल

सरसफाइले पनि कम नहुने हिउँदे झाडापखाला, कसरी जोगाउने बालबालिका?

डा शेरबहादुर पुन

धेरैलाई गर्मी र वर्षातमा 'डाइरिया' अर्थात् झाडापखाला लाग्छ भन्ने थाहा छ। त्यसैले यसबाट बच्ने पूर्व उपायहरु अपनाउन वर्षात लागेसँगै विभिन्न मध्यमबाट व्यापक प्रचार गर्ने गरिन्छ। तर, धेरैलाई जाडो महिनामा पनि झाडापखाला लाग्छ भनेर थाहा भएको पाइँदैन।

जाडो महिनामा खासगरी, 'रोटा भाइरस' नामक शूक्ष्म जीवाणुको कारणले अत्यधिक बालबालिका झाडापखाला लागेर अस्पताल भर्ना हुने गर्छन्। विश्वमा बालबालिकाको मृत्युको कारणमा निमोनिया पछि झाडापखाला दोस्रोमा आउँछ। विश्वमा बालबालिकाको मृत्युको कारणहरु मध्येमा तीन रोग मलेरिया, दादुरा र एड्सको मृत्युको संख्या जोड्दा पनि झाडापखालाबाट हुने मृत्युको संख्या बढी हुने गरेको तथ्यांकले देखाउँछ। 

पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारण रोटा भाइरस हो। यसबाट पनि रोटा भाइरसको चुनौती कति ठूलो छ भनेर अनुमान गर्न सकिन्छ। गर्मी र वर्षातमा देखिने झाडापखाला विकशित देशमा लगभग अन्त्य भइसकेको छ। यसको प्रमुख कारण सरसफाइ र शुद्ध खानेपानी वा खानेकुरा हो।

हामीले पनि वर्षौंदेखि यसैमा जोड दिँदै आइरहेका छौं। तर, रोटा भाइरसको संक्रमण विकशित र अति कम विकशित देशहरुको तथ्यांक हेर्ने हो भने लगभग एकै देखिन्छ। यसले प्रस्ट रुपमा के देखाउँछ भने, रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग होइन। यो सरुवा रोग हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र द्रूत गतिमा सर्ने गर्छ। 

रोटाभाइरस संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ। यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुनेछ। संक्रमित हात, कुनै संक्रमित सामान, बालबालिका भए उनीहरुले खेलाउने खेलौना, संक्रमित पानी र खानेकुरा आदि रोटा भाइरस सर्ने प्रमुख मध्यम हुन्। हाल नेपालमा पनि मन्टेस्वरी (प्रिस्कुल) को चलन बढ्दै गएकाले यस्ता ठाउँमा एकजना बच्चालाई रोटा भाइरस देखिए अरुलाई सर्ने सम्भावना अधिक हुन्छ। विकशित देशमा यस्ता स्थानमा साना बालबालिकाबीच रोटा भाइरस अत्यधिक मात्रामा सर्ने गरेको अनुसन्धानबाट देखिन्छ। 

तारन्तार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन्। बान्ता हुने कारणले घरमै जीवनजल बनाएर स्वास्थ्यलाभ गर्न गाह्रो हुने भएकाले अधिकांश बालबालिका अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुग्छन्। मैले गरेको एक अनुसन्धानको नतिजाले नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामा ३३ प्रतिशत  रोटा भाइरसका कारणले भएको देखिएको थियो। एसियाली मुलुकमा यो झन्डै ५० प्रतिशतसम्म पुग्ने गरेको अनुसन्धानहरुले देखाएका छन्। 

रोटा भाइरस यति महत्पूर्ण हुँदाहुँदै पनि यसको नियमित जाँच भने नेपालमा गर्ने गरिँदैन। अझ भनौं यसबारे धेरै मानिस अनभिज्ञ छन् वा भनौं चासो दिएको देखिँदैन।

यसको विशेष औषधि नहुने र पानीजस्तो तारन्तार पातलो दिसासँगै बान्ता पनि हुने भएकाले कडा जलवियोजन हुने सम्भावना बढी हुन्छ। समयमा स्लाइन पानी दिन नसके बच्चाको मृत्यु समेत हुन सक्छ। हाम्रोजस्तो अति विकट भौगोलिक अवस्था भएको देशमा यो जोखिम अरु बढी देखिन्छ, किनभने बिरामीलाई स्वस्थ्य चौकी वा अस्पतालसम्म पुर्‍याउन गाह्रो हुने र कहिलेकाहीँ आवश्यक पर्दा पुगे पनि पर्याप्त स्लाइन पानीको व्यवस्था नहुँन सक्छ। 

रोटा भाइरसको संक्रमणलाई सरसफाइ र सुरक्षित पानी वा खानाले मात्र पनि रोकथाम गर्न नसकिने यथार्तलाई ध्यानमा राखेर हाल विश्वमा रोटा भाइरस विरुद्धको खोप विकास गरिएको छ। यो खोपको अहिले विकशित देशमा प्रयोग सुरु भइसके पनि नेपालमा भने छैन। यसलाई पनि बालखोप कार्यक्रम अन्तर्गत प्रयोगमा ल्याउन सके नेपालमा लाखौं बालबालिकाले बर्सेनि देखिने रोटा भाइरसको कारणले हुने झाडापखालाबाट अस्पताल भर्ना हुनुपर्ने वाध्यताबाट मुक्ति पाउने थिए। यस्तै, झाडापखालाबाट हुने मृत्युदरलाई पनि उल्लेखनीय संख्यामा कम गर्न सकिने थियो।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका टेकुका संयोजक हुन्)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live